नेपाल प्रहरी र भारतीय तस्कर समूहबीच गोली हानाहान

0
Shares

न्युज अफ नेपाल, सुनसरी ।

बिहीबार राति सुनसरीको सीमावर्ती क्षेत्रमा नेपाल प्रहरी र भारतीय तस्कर समूहबीच गोली हानाहान हुँदा दुई जना तस्कर घाइते भएका छन् भने अन्य तीन जना फरार भएका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

देवानगन्ज–२ का राजेश यादव र ३ का पिन्टु यादव घाइते भएका छन् । घाइते भएका दुवै जनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहको सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले बताए ।

भारतीय क्षेत्रबाट बिआर ३८ भि ३५२८ नम्बरको मोटरसाइकल र वनटेष्ट होण्डा साइन १२५ सिसिको मोटरसाइकलमा भारतीय क्षेत्रबाट आएका तस्करलाई गोप्य सूचनाको अधारमा जेकजाँच गर्ने क्रममा सुनसरीको सीमावर्ती क्षेत्र देवानगन्ज गाउँपालिका–३ स्थित पानी ट्याङ्की नजिक गोली हानाहान भएको सुनसरीका प्रहरी उपरीक्षक थापाले बताए ।

हतियार लिएर आइरहेकाबाट प्रहरीले हतियार खोस्न थालेपछि प्रहरीमाथि भारतीय समूहले गोली चलाएको प्रहरी उपरीक्षक थापाले बताए । सोही क्रममा प्रहरी र भारतीय तस्कर समूहबीच झडप भएको प्रहरीले जनाएको छ ।

तस्करका साथबाट प्रहरीले एउटा पेस्तोल, छ राउण्ड गोली र दुई वटा म्याग्जिन बरामद गरेको छ । तीन जना भारततर्फ फरार भएको र खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

घाइते भएका र फरार भएका तस्करी, लागुऔषधको कारोवार, हतियारको तस्करी, चोरीलगायत कार्य गर्दै आएको प्रहरीले जनाएको छ ।