निगमका १४ संक्रमितलाई कहिले ह्याम्स अस्पताल त कहिले सोल्टी होटल

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशिकाविपरीत बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालको आइसोलेसनबाट धुम्बाराहीस्थित ह्याम्स अस्पताल गएका नेपाल वायुसेवा निगमका पाइलटसहित चालक दलका १४ संक्रमितलाई एक ठाउँको आइसोलेसनबाट अर्को ठाउँमा सर्न अनुमति दिएको छ ।

सोल्टी होटलकै क्वारेन्टाइनमा रहेका बेला असार २२ गते संक्रमण पुष्टि भएका उनीहरुलाई सोल्टीकै आइसोलेसनमा पहिलो रात राखेर भोलिपल्ट सशस्त्रको अस्पतालमा सारिएको थियो ।

त्यहाँको सेवा–सुविधा चित्त नबुझाएका उनीहरूलाई मन्त्रालयले असार २४ गते ह्याम्स अस्पतालमा सर्न अनुमति दिएको थियो । तर ह्याम्समा महँगो भएको गुनासो गरेपछि आइतबार पुनः सोल्टीमै सर्न अनुमति दिइएको हो ।

निगमकी प्रवक्ता अर्चना खड्काले अस्पतालको बसाइ महँगो भएकाले स्वास्थ्य मन्त्रालयकै स्वीकृतिमा होटलको आइसोलसनमा कर्मचारीलाई सारिएको बताइन् । ‘त्यही होटलमै कर्मचारी क्वारेन्टाइनमा बसेका थिए । मेडिकल टिम पनि राखेका छौँ । ३ जना निको भएर पनि गइसके । अरूको स्वाबको रिपोर्ट कुरिरहेका छौँ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने छुट्टै ब्लकमा होटलमा राख्न मिल्ने बताउदै भने– ‘उनीहरू लक्षणविहीन संक्रमित हुन् । होटलमा आइसोलेसन बनाएर बस्न मिल्छ । मान्छेले पैसा तिर्न सक्छ, आफैं व्यवस्था गर्न सक्छ भने छुट्टै ठाउँमा बस्न मिल्छ । निगमले अनुरोध गरेपछि हामीले स्वीकृति दिएका हौं । ह्याम्स राख्न पनि निगमकै अनुरोध आएको हो । कहीँ न कहीँ त राख्नै पर्‍यो ।’