चेकजाँचबिनै भारतबाट भित्रन्छन् मालवाहक सवारी

0
Shares

उत्तम नेपाल, भद्रपुर

झापाको भद्रपुर नाकाबाट क्वारेन्टाइन चेकजाँच र चालकको स्वास्थ्य परीक्षण नै नगरी भारतबाट नेपालतर्फ सामान बोकेका गाडी भित्रन थालेका छन् । स्वास्थ्य चेकजाँचसहित भारतबाट आउने सवारीसाधनलाई स्यानिटाइज गर्ने उपकरण जडान नगर्दा यस नाकाबाट कोरोना भाइरसको संक्रमण फैलिने र भित्रिने जोखिम बढेको छ ।

सीमानाकाबाट आवत–जावतमा रोक लगाए पनि सरकारले भन्सार आयात–निर्यात खुलाएसँगै भद्रपुर भन्सार कार्यालयमा दिनहुँ भारतीय नम्बर प्लेटको गाडीबाट सरसामान भित्रिरहेको छ । तर, भारतको संक्रमित क्षेत्रबाट आउने सवारीसाधन र सरसामानलाई स्यानिटाइज नगर्ने तथा चालकसहित गाडीमा आउने मजदुरको पनि स्वास्थ्य परीक्षण नगर्ने जस्ता लापरबाही भद्रपुर नाकामा देखिएको छ ।

नेपालतर्फका प्रहरी, प्रशासन र भन्सार कर्मचारीसमेत भारतकै भर परेका कारण थप समस्या भएको हो । भारतको पश्चिम बङ्गालस्थित सिलगुडी र विहारबाट अहिले सरसामान आइरहेको छ । ती दुवै राज्यमा कोरोना संक्रमण समुदायमा फैलिसकेको छ । भारतको विहारस्थित गलगलिया नाकामा त्यहाँका स्वास्थ्यकर्मीले चेक जाँच गरेकै आधारमा सीमा खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीले भारतीय सवारीसाधन सरासर नेपाल प्रवेश गर्न दिइरहेका छन् ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि तीनै तहका सरकारले बजेट छुट्याइए पनि सीमानाकामा प्रहरीलाई खटाउनुबाहेक अरू कुनै स्वास्थ्य सुरक्षाको उपाय सम्बन्धित निकायले अपनाएको छैन । भारतको गलगलियामै स्यानिटाइज गरेकै भरमा सरसामानसहित गाडी आइरहेको भद्रपुर भन्सार कार्यालयका प्रमुख फणीन्द्र खतिवडा बताउनुहुन्छ ।

भारतबाट आउने गाडी सोजै भन्सारमा पठाउने गरेको र सामान अनलोड गरी तुरुन्त फिर्ता पठाउने गरेको भन्सारमा सुरक्षार्थ सशस्त्र प्रहरी बल २ नम्बर गणका इन्स्पेक्टर विभु दाहालले बताउनुभयो । गाडी, सामान र चालकको नेपालतर्फ कुनै स्वास्थ्य चेकजाँच नभएको उहाँको भनाइ छ ।

ठूलो संख्यामा भित्रिने लत्ताकपडाको पोका भन्सार कर्मचारीले जाँचबुझ गर्दा कर्मचारी र कारोबारी कसैले सामाजिक दूरी कायम गर्ने गरेका छैनन् । उनीहरूले माक्ससमेत लगाएका हुँदैनन् भने एकैठाउँमा सामानको पोका छरपस्ट पार्ने र भीडभाड गरेर कर्मचारीले सरसामान हतारमा जाँचबुझ गर्दै आइरहेको व्यापारी बताउँछन् ।