भारतबाट आएका मालवहाक सवारीसाधन चेकजाँचबिना नै नेपाल भित्रिए

0
Shares

न्युज अफ नेपाल, भद्रपुर ।

धमाधम सामान बोकेका गाडी झापाको भद्रपुर नाकाबाट क्वारेन्टाइन चेकजाँच र चालकको स्वास्थ्यपरीक्षण नै नगरी भारतबाट नेपालतर्फ धमाधम सामान बोकेका गाडी पठाइन थालिएको छ । स्वास्थ्य चेकजाँचसहित भारतबाट आउने सवारीसाधनलाई स्यानिटाइज गर्ने उपकरण जडान नगर्दा यस नाकाबाट कोरोना भाइरसको संक्रमण फैलिने र भित्रिने जोखिम बढेको छ ।

सीमा नाकाबाट आवतजावतमा रोक लगाएपनि सरकारले भन्सार आयातनिर्यात खुलाएसँगै भद्रपुर भन्सार कार्यालयमा दिनहुँ भारतीय नम्बर प्लेटको गाडीमा सरसामान धमाधम भित्रिरहेको छ । तर, भारतको संक्रमित क्षेत्रबाट आउने सवारीसाधन र सरसामानलाई स्यानिटाइज र चालकसहित गाडीमा आउने मजदुरको पनि स्वास्थ्य परीक्षण नगर्नेजस्ता लापरबाही भद्रपुर नाकामा देखिएको छ ।

नेपालतर्फका प्रहरी, प्रशासन र भन्सार कर्मचारीले समेत भारतकै भर परेकाकारण थप समस्या भएको हो । भारतको पश्चिम बङ्गालस्थित सिलगुडी र विहारबाट अहिले सरसामान आइरहेको छ । ती दुवै राज्यमा कोरोना संक्रमण समुदायमा फैलिसकेको छ । भारतको विहारस्थित गलगलिया नाकामा त्यहाँका स्वास्थ्यकर्मीले चेक जाँच गरेकै आधारमा सीमा खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीले भारतीय सवारीसाधन सरासर नेपाल प्रवेश गर्न दिइरहेका छन् ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि तीनै तहका सरकारले बजेट नै छुट्याइएपनि सीमा नाकामा प्रहरीलाई खटाउनु बाहेक अरू कुनै स्वास्थ्य सुरक्षाको उपाय सम्बन्धित निकायले अपनाएको छैन ।

भद्रपुर भन्सार कार्यालयका प्रमुख फणीन्द्र खतिवडाले भारतबाट सरसामान भन्सारमा आइरहेको बताउँनुभयो । सीमा नाकामा भन्सार कार्यालयले सरसामानसहित आउने गाडीको स्यानिटाइज नगरेको उहाँको भनाइ छ । भारतको गलगलियामै स्यानिटाइज गरेकै भरमा सरसामानसहित गाडी आइरहेको छ उहाँले बताउँनुभयो ।

भारतबाट आउने गाडी सोजै भन्सारमा पठाउने गरेको र सामान अन लोड गरी तुरुन्त फिर्ता पठाउने गरेको भन्सारमा सुरक्षार्थ सशस्त्र प्रहरी बल २ नम्बर गणका इन्सपेक्टर विभु दाहालले बताउँनुभयो । गाडी, सामान र चालकको नेपालतर्फ कुनै स्वास्थ्य चेक जाँच नभएको उहाँको भनाइ छ ।

ठुलो सङ्ख्यामा भित्रिने लत्ताकपडाको पोकाहरू भन्सार कर्मचारीले जाँचबुझ गर्दा कर्मचारी र कारोबारी कसैले सामाजिक दुरी कायम गर्ने गरेका छैनन्। उनीहरूले मास्क समेत लगाएका हुँदैनन्। एउटै ठाउँमा सामानको पोका छरपस्ट पार्ने र भीडभाड गरेर कर्मचारीहरूले सरसामान हतारमा जाँचबुझ गर्दै आइरहेका छन्।

काँकडभिट्टा नाकाबाट नेपाल प्रवेश गरेका सवारीसाधनलाई पश्चिम बङ्गाल सरकारले पुनः त्यही नाकाबाट जान नदिएपछि केही व्यापारीले सेटिङ मिलाएर भद्रपुर नाकाबाट पठाउन थालेका छन्। काँकडभिट्टा नाकाबाट भित्रिएका गाडी यसअघि विराटनगर–जोगबनी नाकाबाट भारत गइरहेका थिए। व्यापारीलाई ढुवानी खर्च बढी लाग्ने भएपछि सेटिङ मिलाएर केहीदिन देखि भद्रपुरबाट पठाउन थालेको व्यापारी स्रोतको दाबी छ ।