दुधौलीमा संचालित चक्लाबन्दी खेतीलाई विभिन्न कृषि औजार तथा उपकरणहरु हस्तान्तरण


बुद्ध नेपाली,सिन्धुली ।

सिन्धुलीको दुधौली नगरपालिकामा संचालित सामुहिक खेती(चक्लाबन्दी) लाई विभिन्न आधुनिक कृषि औजार तथा उपकरणहरु दिईएको छ । नमुना कृषि सहकारी संस्थाद्धारा दुधौली नगरपालिका २ मा संचालित सामुहिक खेतीलाई धान, गहुँ, मकै रोप्ने, झार्नेे, खेत जोत्ने लगाएतका दश प्रकारका कृषि औजार तथा उपकरणहरु दिइएको हो ।

सामुहिक खेतीलाई मिनी कम्बोईन हार्भेस्टर एक थान, लेजर ल्याण्ड लेभलर एक थान, मल्टिक्रप सिड ड्रिप एक थान, पावर विडर एक थान, फार्म ट्याक्टर दुई थान, राईस ट्रान्सप्लाईन्टर एक थान, रोटाभेटर तिन थान, मिनी टिलर दुई थान ,कल्टिभेटर चार थान र पावर स्पेयर एक थान दिईएको कृषि ज्ञानकेन्द्र सिन्धुलीले जनाएको छ ।

बागमती प्रदेश सरकारले ७५ प्रतिशत अनुदानमा वितरण गरेको कृषि औजार तथा उपकरण सिन्धुलीमाढीमा बुधवार आयोजित एक कार्यक्रमका बिच बागमती प्रदेशका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले सहकारीलाई हन्तारन्तरण गर्नुभएको छ ।

कृषि ज्ञान केन्द्र सिन्धुलीको आर्थिक बर्ष २०७६।०७७ को स्वीकृत कार्यक्रम अन्तर्गत सामुहिक खेतीलाई प्रवद्र्धन गर्न कृषि औजार तथा उपकरणहरु अनुदानमा वितरण गरिएको हो । कृषि औजार तथा उपकरणहरु हस्तान्तरण गर्दै बागमती प्रदेशका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ बागमती प्रदेशले दुधौलीमा सामुहिक खेती सुरु गरेको बताउनुभयो ।

दुधौलीमा सामुहिक खेती सुरु गर्न त्यहाँका स्थानिय किसानलाई बुझाउन धेरै मेहनत गर्नुपरेको स्मरण गर्दै किसानको अपेक्षालाई पुरा गरेर छाड्ने बताउनुभयो । कृषिलाई आधुनिकीकरण, यान्त्रीकीकरणमा लैजान, कृषि पेसालाई व्यवसायीक र सम्मानित पेसा बनाउदै स्वादेशमै रोजगारी सिर्जना गर्न र उत्पादनमा आत्मनिर्भर बन्न दुधौलीमा बागमती प्रदेशकै पहिलो सामुहिक खेती सुरु भएको मन्त्री लामाले बताउनुभयो ।

दुधौलीमा संचालित सामुहिक खेतीमा सिँचाई, बाटो, विद्युत, मल, बिउविजन सरकारले उपलब्ध गराउने मन्त्री लामाले बताउनुभयो । उहाँले यान्त्रीकरणको अधिक्तम उपयोग गरेर कृषि खेती गर्नुपर्ने समय आएको बताउनुभयो ।

बागमती प्रदेशसभा सदस्य लेखनाथ दाहाल राजनले दुधौलीमा सामुहिक खेती गर्न प्रदेश सरकारले गरेको सहि सदुपयोग भईरहेको बताउनुभयो ।

कार्यक्रममा दुधौली नगरपालिकाका प्रमुख घनश्याम राउतले सामुहिक खेतीले दुधौलीलाई नमुना नगरपालिका बनाउने बताउनुभयो । कार्यक्रममा सिन्धुलीका प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डे, दुधौली नगरपालिकाका वडा नं. २ का अध्यक्ष रिेतेश राउत, विभिन्न राजनितिक दलका नेताहरु लगाएतको उपस्थिती रहेको थियो ।