जागिरबाट हटाउने उदेश्यसहित सञ्चारकर्मीको सरुवाप्रति महासंघको आपत्ति


न्युज अफ नेपाल,काठमाडौं ।

 अन्नपूर्ण पोष्ट दैनिकमा कार्यरत फोटो पत्रकार र पत्रकारहरुलाई एक्कासी सरुवा गरिएपछि हलचल मच्चिएको छ । ‘लकडाउन’ का बेला कतिपय ठूला मिडिया हाउसले फोर्स लिभमा राख्ने तथा निकाल्ने काम गरिरहेका बेला भएको सरुवालाई जागिरबाट हटाउने चलखेलका रुपमा सञ्चारकर्मीले लिएका छन् ।

यो परिस्थितिमा अचानक सरुवा गरिएपछि सञ्चारकर्मी आफैले जागिर छाड्ने वा नछाडे सरुवा भएको ठाउँमा नगएको बहानामा जागिरबाट हटाउन सकिने योजना अनुरुप सुरुवा गरिएको सञ्चारकर्मीको आरोप छ ।

यसैबीच,  नेपाल न्यूज नेटवर्क इन्टरनेशनल प्रालिले सञ्चारकर्मीलाई अचानक सरुवा गरिएको प्रति नेपाल पत्रकार महासंघले समेत विज्ञप्ति निकालेर गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघका महासचिव रमेश विष्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘श्रमजीवी पत्रकारहरुलाई जागिरबाट हटाउने उदेश्यसहित गरिएको कथित सरुवाप्रति महासंघ गम्भीर असहमति राख्छ । महासंघ यो पूर्वाग्रही र श्रमजीवी पत्रकार विरोधी कदम तीन दिनभित्र बदर गरी ससम्मान काममा फर्काउन विनम्र अनुरोध गर्दछ ।’

अन्नपूर्ण पोष्टले पत्रकारहरु क्रमशः विकास कार्की धनगढी (कैलाली), विश्वराज खनाल इलाम, शुशिल पोखरेल दार्चुला, डिल्लीराज उपाध्याय हुम्ला, दीपक घिमिरे रोल्पा र गोविन्द देवकोटालाई मनाङ सरुवा गरेको छ ।

महासंघले गत असार ३ गते पत्रकारहरुलाई पुरा तलब दिन, बेतलबी बिदामा बस्न बाध्य नपार्न, राजीनामा दिन बाध्य नपार्न गरिएको आग्रहलाई बेवास्ता गरिएको भन्दै आपत्ति प्रकट गरेको छ ।

महासंघले चेतावनी दिँदै विज्ञप्तिमा भनेको छ, ‘यो आग्रहलाई कमजोरी ठाने सम्पादकीय नेतृत्वको बर्खास्तीसहित श्रम जीवी पत्रकार ऐनको कार्यान्वयनका माग राखि महासंघ कठोर आन्दोलनमा उत्रन बाध्य हुनेछ ।’

महासंघले सञ्चारकर्मीका जायज मागहरुको सम्वोधन नभए आगामी आइतबार श्रम जीवी पत्रकारहरुको बृहत उपस्थितिसहित अन्नपूर्ण पोष्ट घेराउ गर्दै कठोर आन्दोलनको घोष्णा गर्ने चेतावनी दिएको छ ।

बिज्ञप्ति हेर्नुहोस्…