दार्चुलामा ३ हजार ३ सय ६३ क्वीण्टल आयोडिन युक्त नुन बिक्री


न्युज अफ नेपाल,दार्चुला ।

सुदुपश्चिम प्रदेशको हिमाली जिल्ला दार्चुलामा एक वर्षको अवधीमा ३ हजार ३ सय ६३ क्वीण्टल २७ किलोग्राम आयोडिन युक्त नुन बिक्री भएको छ । गत आर्थिक वर्ष २०७५/०७६ को ४ सय ९३ क्वीण्टल १५ किलोग्राम मौज्दात तथा चालु आर्थिक वर्ष २०७६/०७७ मा साल्ट ट्रेडिङ्ग कर्पोरेशन अञ्चल कार्यालय धनगढीबाट जिल्लामा ढुवानी भएको ३२ सय क्वीण्टल आयोडिन युक्त नुन मध्ये सो मात्रामा खपत भएको हो ।

गत आर्थिक वर्षको मौज्दात र चालु आर्थिक वर्षको ३ हजार ६ सय ९३ क्वीण्टल नुन मध्ये ३ हजार ३ सय ६३ क्वीण्टल २७ किलोग्राम विक्री अर्थात खपत भएको साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड, नुन बिक्री डिपो दार्चुलाका डिपो प्रमुख प्रेम सिंह कुवरले जानकारी दिनुभयो । विगतका वर्षहरु आयोडिन नुनको माग निकै कम मात्रामा हुने गरेकोमा केहि वर्षयता आयोडिन युक्त नुनको माग निकै बढेको उहाले बताउनुभयो ।

विगतमा बजार क्षेत्रका नागरिकले मात्रै आयोडिन नुन खाने गरेकोमा पछिल्लो समय ग्रामिण क्षेत्रका नागरिकहरुले समेत आयोडिन युक्त नुनको प्रयोग गर्न थालेका छन् । जिल्लाको ग्रामिण बस्तीहरुमा विगतमा ढिके नुनको प्रयोग गरिदै आएकोमा अहिले आयोडिन युक्त नुनको प्रयोग हुँदै आएको डिपो प्रमुख कुवरले जानकारी दिनुभयो ।

‘विगतका वर्षहरुको तुलना अहिले आयोडिन युक्त नुनको माग निकै बढेको छ, एक दिनमा २० क्वीण्टल सम्म बिक्री हुन्छ डिपो प्रमुख कुवरले भन्नुभयो ।’ निकै कम बिक्री भएको दिन समेत आठ, दश क्वीण्टल सम्म बिक्री हुने गरेको उहाको भनाई छ । चालु आर्थिक वर्षको हाल सम्ममा ३ हजार ३ सय ६३ क्वीण्टल २७ किलोग्राम नुन बिक्री भएको छ ।

चालु आर्थिक वर्षको साउनमा २ सय ७१ क्वीण्टल १५ किलोग्राम, भदौमा १ सय ७३ क्वीण्टल ३० किलोग्राम, असोजमा २ सय ९ क्वीण्टल ६१ किलोग्राम, कार्तिकमा २ सय ७७ क्वीण्टल ८५ किलोग्राम, मंसिरमा ३ सय ४५ क्वीण्टल ७८ किलोग्राम बिक्री भएको छ ।

यस्तै पौषमा ३ सय १० क्वीण्टल ७० किलोग्राम, माघमा ३ सय ३० क्वीण्टल ९१ किलोग्राम, फागुनमा ३ सय ६ क्वीण्टल ४४ किलोग्राम, चैत्रमा २ सय ९१ क्वीण्टल ४५ किलोग्राम, वैशाखमा ३ सय ७ क्वीण्टल ३४ किलोग्राम, जेठमा २ सय ७४ क्वीण्टल ४ किलोग्राम र असार महिनामा २ सय ४४ क्वीण्टल ७० किलोग्राम बिक्री भएको उहाले जानकारी दिनुभयो ।

साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड, नुन बिक्री डिपो दार्चुलाबाट एक जनालाई १० किलोग्रामका दरले नुन बिक्री गरिदै आएको उहाले बताउनुभयो । डिपोबाट ग्राहकले आयोडिन युक्त नुन प्रतिकेजी ९ रुपैयाका दरले प्राप्त गर्दै आइरहेका छन् ।

तस्वीर : किरन धामी