नवलपरासी र चितवनमा गरी एकै दिन भेटिए १९ जना काेराेना संक्रमित 


घनश्याम बगाले, नवलपरासी पूर्व ।

पूर्वी नवलपरासीमा बुधबार ११ जनामा कोभिड-१९ संक्रमण देखिएको छ । भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा असार ३० गते गरिएको ३ सय ८ जनाको नमूना स्वाव परीक्षणमा १९ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

जस मध्ये ११ जना पूर्वी नवलपरासीका र ८ जना चितवनको माडी क्षेत्रका रहेको कोभिड-१९ परीक्षण प्रयोगशाला भरतपुर प्रमुख डा. नितु अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख रहेको छ ।

नवलपरासी पूर्वमा कोरोना संक्रमण देखिनेमा कावासोती नगरपालिका ५ र ८ का दुई पुरुष र बुलिङटार गाउपालिकाको ३ र ४ नम्वर वडाका १ महिला सहित ९ जना रहेका छन् ।

स्वास्थ्य कार्यालय पूर्वी नवलपरासीको असार ३०को कोभिड-१९ अध्यावधिक विवरण अनुसार जिल्लामा कोरोना संक्रमितको संख्या २ सय ६६ पुगेको र निको भएर फर्कनेको संख्या १ सय ५९ उल्लेख रहेको छ ।
बुधबार थपिएका ११ सहित जिल्लामा २ सय ७७ जनामा कोभिड १९ संक्रमण देखिएको हो ।