अनुमती बिना यात्रु ओसार पसार, प्रहरीलाई घुसको लोभ


बुद्ध नेपाली, सिन्धुली ।

सिन्धुलीमा मंगलवार प्रहरीलाई घुसको लोभ देखाएको अभियोगमा एक बस चालक पक्राउ परेका छन् । कमलामाई नगरपालिका ९ भिमान चेकपोष्टमा चेकजाँचमा बसेका प्रहरीलाई घुसको लोभ देखापछि ना.७.ख ३२३९ नम्बरको.बस चालक काठमाडौं महानगरपालिका १६ बस्ने अन्दाजी ४७ बर्षीया सुदर्शन थापालाई प्रहरीले पक्राउ गरेको हो ।

सरकारले एक जिल्लाबाट अर्को जिल्लामा अनुमति बिना सार्वजनिक सवारी साधन संचालनमा रोक लगाएका बेला चेकजाँचमा बसेका प्रहरीलाई घुस रकमको लोभ देखाएर बस लैजान खोजेपछि ईलाका प्रहरी कार्यालय भिमानले बस चालकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरिक्षक श्याम बहादुर खत्रीले जानकारी दिनुभयो ।

प्रवक्ता खत्रीका अनुसार बिपी राजमार्ग हुदै पुर्बबाट काठमाडौं तर्फ जांदै गरेको बसमा चालक, बस स्टाफ ४ जना र यात्रु १० जना गरी जम्मा १४ जना मानिसहरू रहेका थिए । ‘बिश्वभर फैलिरहेको कोरोना भाईरस (कोभिड–१९) नियन्त्रण र न्युनिकरणको लागि सरकारले एक जिल्लाबाट अर्को जिल्लामा अनुमती बेगर सार्बजनिक सवारी साधनमा यात्रु ओसार पसार नगर्न भनेको छ ।

सम्बन्धित जिल्लामा पनि सिट क्षमताको ५० प्रतिशत मात्र यात्रु ओसार प्रसार गर्न अनुमति लिनु पर्छ । अर्को जिल्लाबाट अनुमति समेत नलिई बसमा यात्रुहरु राखि आएको थियो । यात्रुहरुको कोरोना भाईरस सम्बन्धि स्वास्थ्य जांच समेत चेकजांच गरेको नपाईएकोले बस चालकलाई नियन्त्रणमा लिएका हौं’ प्रवक्ता खत्रीले भन्नुभयो ।

बस चालक अहिले जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा रहेका छन् । उक्त बसमा सवार यात्रुहरु सोहि बसमा अन्य चालक खोजि फिर्ता पठाईएको प्रवक्ता खत्रीको भनाइृ छ ।