१ हजार ८ सय ८१ को मात्रै पीसीआर


बैतडी, (नेस)

विदेशबाट फर्किएका सबैको परीक्षण गर्ने भनिएको भए पनि बैतडीमा १ हजार ८ सय ८१ जनाको मात्रै पीसीआर परीक्षण गरिएको छ । बैतडीमा भारत तथा तेस्रो मुलुकबाट १२ हजार ५ सय ९५ जना फर्केका छन् ।
कोरोना भाइरसको महामारी फैलिएसँगै गएको फागुन १० देखि असार मसान्तसम्म सो संख्यामा नेपाली बैतडी भित्रिएका हुन् ।

पछिल्लो समयमा भारतबाट फर्केका नागरिकमध्ये आरडीटी पोजेटिभ आएकाको मात्रै स्वाब संकलन गरेर पीसीआर परीक्षण गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो । क्वारेन्टाइनमा बसेको १४ दिनपछि आरडीटी परीक्षण गरेर पोजेटिभ आएकाहरूको मात्रै स्वाब संकलन गरेर पीसीआर परीक्षण गरिएको उहाँले बताउनुभयो ।

नेपालका अन्य जिल्लाबाट बैतडीमा १२ हजारको हाराहारीमा भित्रिएका भए पनि उनीहरूको कुनै प्रकारको परीक्षण भएको छैन । देशका विभिन्न भागबाट फर्केकाहरू सीधै घर पुगेका छन् । भारतबाट फर्केकाहरूमा समेत कुनै लक्षण नदेखिएकाले सबैको परीक्षण नगरिएको स्वास्थ्य कार्यालयका प्रमुख भट्टले बताउनुभयो ।

भारतबाट फर्केका सबै नागरिकको कोरोना परीक्षण नहुँदा गाउँघरमा कोरोना जोखिम बढ्दै गएको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् । नेपालमा संक्रमितहरूसमेत लक्षणबिनाका भएकाले भारतबाट फर्केका नागरिकको पीसीआर परीक्षण नहुँदा कोरोनाको जोखिम बढ्दै गएको सुर्नया–६ का लवदेव अवस्थीले बताउनुभयो ।

जिल्लामा भित्रिएका ११ हजार ६ सय २३ जनाको भने आरडीटी परीक्षण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताउनुभयो । उनीहरूमध्ये १ हजार ९२ जनाको मात्रै पोजेटिभ रिपोट आएको छ । जिल्लामा अहिलेसम्म २ सय ९७ जनामा कोरोना पुष्टि भएको छ । कोरोना पुष्टि भएका धेरैजसो घर फर्किसकेका छन् ।

संक्रमितहरूमा कुनै लक्षण नदेखिएपछि स्वास्थ्य मन्त्रालयको निर्देशिका अनुसार १४ दिनपछि संक्रमितहरूलाई घर पठाइएको स्वास्थ्य कार्यालयका कोभिड–१९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले बताउनुभयो ।