डा. एन्टोनियालाई अन्तर्राष्ट्रिय शान्ति पुरस्कार


काठमाडौं, (नेस)

रिड नेपालका संस्थापक डा. एन्टोनिया न्युबावरलाई अन्तर्राष्ट्रिय शान्ति पुरस्कार र राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनलाई राष्ट्रिय शान्ति पुरस्कार प्रदान गरिएको छ ।

नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत डा. डिल्लीरमण रेग्मी मेमोरियल पुस्तकालय विकास समिति, डिल्लीरमण रेग्मी प्रतिष्ठानद्वारा प्रदान गरिने उक्त पुरस्कार उनलाई एक समारोहका बीच प्रदान गरिएको हो ।

कोरोना भाइरसका कारण सामाजिक दूरी कायम गर्ने नियमलाई पालना गर्दै जुममार्फत एक समारोह आयोजना गरी उक्त पुरस्कार प्रदान गरिएको हो । कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोख्रेल प्रमुख अथितिका रूपमा रहनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले रिड नेपालले नेपालमा समुदायिक पुस्तकालयको विकासमा ठूलो योगदान गरेको र नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय निरन्तर साथमा रहेको बताउनुभयो ।

विगतमा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार नेलसन मण्डेला, माहात्मा गान्धी जस्ता प्रभावशाली व्यक्तिहरूले पनि प्राप्त गरेका थिए । समारोहमा डा. एन्टोनियाले अस्पताल र विद्यालय स्थापना गर्दा बिरामी र केही विद्यार्थीले सेवा पाउने तर सामुदायिक पुस्तकालय स्थापना गर्दा समुदायका सबै लाभान्वित हुने भएकाले आफूलाई यस्तो अभियानमा लाग्न प्रेरित भएको कुरा उल्लेख गर्नुभयो ।

यस्तै राष्ट्रिय शान्ति पुरस्कार विजेता महावीर पुनले देशको समृद्घिका लागि विज्ञान तथा आविष्कारमा देश अगाडि बढ्नुपर्ने बताउनुभयो । भर्चुअल कार्यक्रममा रिड, पुस्तकालयका प्रतिनिधि, कर्मचारी, डा. डिल्लीरमण रेग्मी मेमोरियल पुस्तकालय तथा नेपाल सरकारका कर्मचारीको सहभागिता रहेको थियो ।

डा. एन्टोनियाको सक्रियतामा स्थापना भएको रिडले हालसम्म रिड नेपाल, रिड इन्डिया र रिड भुटानद्वारा १ सय १२ वटा समुदायिक पुस्तकालय स्थापना गरी करिब २४ लाखभन्दा बढी समुदायका व्यक्तिलाई सेवा पु¥याउँदै आएको छ । समुदायलाई सेवा पु¥याउन पुस्तकालयभित्र पुस्तकालय कक्ष, बाल कक्ष, महिला कक्ष, युवा कक्ष, सूचना सञ्चार तथा प्रविधि कक्ष, श्रव्य–दृश्य कक्ष तथा तालिमहल रहेको छ । हालसम्म नेपालका ४२ वटा जिल्लामा रिड नेपालले ६८ वटा पुस्तकालय स्थापना गरी सेवा पु¥याउँदै आएको छ ।