जापानस्थित नेपाली राजदूतावासका उप-नियोग प्रमुख अर्यालको विदाई


टोकियो ।
जापानमा नेपाली व्यवसायीहरूको संस्था नेपाली व्यवसायी संघ (एनबिए) जापानले नेपाली राजदूतावासका उप-नियोग प्रमुख कृष्णचन्द्र अर्यालको विदाई कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार टोकियोस्थित गोतान्दाको माया रेष्टुरेण्टमा ४ वर्ष कार्यकाल सकिएर नेपाल फर्कन लाग्नु भएका उप-प्रमुख अर्यालको विदाई गरेको हो ।
रात्रिभोजसहित गरेको विदाई कार्यक्रममा उप-प्रमुख अर्याललाई एनबिए जापानका अध्यक्ष तथा कार्यक्रमका सभापति बिजय थकालीले खादा अर्पण र मायाको चीनो प्रदान गर्नु भएको थियो । उक्त कार्यक्रममा एनबिएका उपाध्यक्ष संजीब पोखरेलले स्वागत मन्तव्यसहित शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा एनबिएका वरिष्ठ उपाध्यक्ष ददीवल खड्का, कोषाध्यक्ष नरबहादुर थापा, नेपाल पत्रकार महासंघ जापानका संस्थापक अध्यक्ष तिलक मल्ल, एनआरएनए आइसीसी पूर्व सदस्य ओम गुरुङ लगाएतले आगामी दिनको शुभकामनासहित विदाई मन्तव्य राख्नु भएको थियो ।
विदाई कार्यक्रममा उप-प्रमुख अर्यालले ४ वर्षसम्म कामको सिलसिलामा साथ.सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको थियो । अर्याल २०१६ जुलाई महिनामा कार्यवाहक राजदूत रूपमा जापान आउनु भएको थियो ।
उक्त विदाई कार्यक्रम संस्थाका सचिव बाबुराम पौडेलले संचालन गर्नु भएको थियो ।