प्रिमियरको अभिभावकसँग ४ बुँदे यस्ताे आग्रह


नेपाल समाचारपत्र, ललितपुर

खुमलटारस्थित प्रिमियर स्कुलले मनोमानी रुपमा तोकिएको शुल्क तिर्न इन्कार गरेपछि अभिभावकसमक्ष रोदन गरेको छ । तर, अभिभावकले विद्यालय प्रशासनले आधिकारिक पत्र नपठाएसम्म मासिकबाहेक कुनै पनि शुल्क नतिर्ने अडान दोहो¥याएका छन् ।

प्रिमियर स्कुलको ज्यादतीको विषयमा नेपाल समाचारपत्रले लगातार समाचार प्रकाशित गरेपछि विद्यालयले अभिभावकसँग केही छुट दिएको भन्दै ४ बुँदे आग्रह गरेको छ ।

विद्यालयले लेटरप्याड प्रयोग नगरी खाली पेपरमा आग्रह गरेपछि अभिभावकले पत्रको आधिकारिकतामाथि प्रश्न उठाएका छन् । उनीहरुले आफूहरु वार्ताबाट समाधान गर्न चाहेको तर स्कुलका निर्देशक पवित्रा लिम्बुले इन्कार गरेको आरोप लगाएका छन् ।

‘हाम्रो नियत शुल्क नतिर्ने होइन, वार्ता गरेर समस्या समाधान गर्न चाहन्छौं, तर मनोमानी रुपमा दबाब दिएर मनपरी शुल्क नतिर्ने अडान राखेका हांै’ –नाम नलेख्ने सर्तमा केही अभिभावकले भने ।

विद्यालय प्रशासनले अभिभावक प्रतिनिधिमार्फत पटकपटक मानसिक तनाब दिन खोजेको अभिभावको आरोप छ । स्कुलले जारी गरेको पत्रमा शैक्षिक सत्र २०७६ सालकै मासिक शुल्क यथावत् राखी २०७७ सालको मासिक शुल्कमा १५ प्रतिशत शुल्क छुट कायम गर्नेे, भौतिक रुपमा विद्यालय नखुलेसम्म यातायात र खानाखाजा शुल्क नलिने उल्लेख छ ।

विद्यालय सञ्चालन नै नभएको समयमा खाना र खाजाको त कुरै हुँदैन, वार्षिक, पुस्तकालय, आईबी÷आईसीटी र स्टेसनरी रकम किन तिर्ने भनी अधिकांश अभिभावकले प्रश्न गरेका छन् ।

‘विद्यालयले जारी गरेको पत्र कुनै पनि अभिभावकको हातमा परेको छैन । यही २६ गते जारी पत्र कसले जारी गरेको हो भन्ने प्रस्ट छैन । विद्यालयले जारी गरेको भए लेटर प्याडमा प्रिन्सिपलको हस्ताक्षरसहित जारी गर्नुपथ्र्यो केही पनि छैन’ –ती अभिभावकले भने ।

पत्रको बँुदा नम्बर ४ मा कोभिड–१९ का कारण आर्थिक रुपमा असामान्य असर परी आफ्नो नानीबाबुको विद्यालयलाई तिनुपर्ने शुल्क कठिनाइ भएका अभिभावकलाई व्यक्तिगत रुपमा विद्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

विद्यालयको पत्रमा उक्त कुरामा भ्रम सिर्जना भई असुविधा हुन पुगेकोमा क्षमा भनिएको छ । पत्रमा केही समस्या र गुनासो भएमा विद्यालयका एक्जुकेटिभ सेक्रेटरी अर्पणा शर्मालाई सम्पर्क गर्न आग्रह गरिएको छ ।

लकडाउनको अवधिमा झन्डै १ लाख ५० हजारसम्म शुल्क असुल्न ताकेता गरेपछि अभिभावकले शुल्क तिर्न इन्कार गरिसकेका छन् । शुल्क नउठेपछि आत्तिएको स्कुलले अझै पनि अभिभावकप्रति सहानुभूति नदेखाएको आरोप छ ।