सिलिचोङ पहिरोमा अझै ११ बेपत्ता


इन्द्र गिरी, संखुवासभा

संखुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा गएको पहिरोमा परी ११ जना अझै बेपत्ता रहेका छन् । उनीहरुको खोजीमा प्रहरी, सशस्त्र, सेनालगायत स्थानीयवासीले खोजी गरिरहे पनि फेला पार्न नसकेको प्रहरीले जनाएको छ ।

अविरल वर्षा भइरहेको र खोजीकार्यमा कठिनाइ भएको बताइएको छ । बेपत्ताहरुको खोजीकार्यमा सदरमुकाम खाँदबारीबाट गएको प्रहरी १५, सशस्त्र प्रहरी १५, नेपाली सेना ३० जना र स्थानीयद्वारा खोजीकार्य भइरहेको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले बताउनुभयो ।

पहिरोमा परी बेपत्ता हुनेमा सिलिचोङ–१ बेसिन्दा गाउँका ६० वर्षीय राममान राई, उनकी श्रीमती ६५ वर्षीया हस्तकुमारी राई, छोरीहरु २१ वर्षीया एन्जिला राई र ११ वर्षीया नम्रता राई रहेका छन् ।

त्यसै गरी ६५ वर्षीया गोरीमाया राई, उनकी छोरी २२ वर्षीया प्रकृति राई, ५२ वर्षीय जुद्धबहादुर राई (माने) र उनकी श्रीमती ४५ वर्षीया उत्तरकुमारी राई, ८४ वर्षीय हर्कराज राई र उनकी श्रीमती ८२ वर्षीया आइतमाया राई र ७० वर्षीया नजमाया राई रहेका प्रहरी नायब उपरीक्षक नवराज मल्लले बताउनुभयो ।

पहिरोबाट स्थानीयद्वारा उद्धार गरिएका ७९ वर्षीय गोवासिंह राई गम्भीर घाइते भएका छन् भने उनकी श्रीमती ६० वर्षीया फूलमाया र १४ वर्षीया छोरी भीमसरी राई तथा भीमबहादुर राई सामान्य घाइते भएका छन् । अहिले पनि घटनास्थलमा पानी परिरहेकाले उद्धारमा कठिनाइ भएको र बेपत्ताको स्थानीय, प्रहरीले खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

पीडितहरुका लागि टेन्ट, खाद्यान्न, औषधिलगायतका सामग्री लिएर विराटनगरबाट गएको हेलिकोप्टर बाक्लो कुहिरोको कारण अवतरण हुन नसकेपछि सदरमुकाम खाँदबारी फर्किएको छ । सिलिचोङमा शनिबार राति गएको पहिराबाट ७३ घरपरिवारका ३ सय २८ जना विस्थापित भएका छन् ।

विस्थापित भएकालाई पहिरो गएको ठाउँभन्दा केहीमाथि चित्रे भने ठाउँमा सारिएको छ । चित्रेमा केही घर मात्र रहेकाले घरबार गुमाएर त्यहाँ गएकाहरुलाई राख्न समस्या भएको छ । राहत सामग्रीसमेत नपुग्दा उनीहरुको बिचल्ली भएको छ ।

पहिरो बेसिन्दा गाउँको करिब ३ सय मिटर माथिबाट झरेको थियो । पहिरोले गोवासिंह राई, राममान राई, जुद्धबहादुर राई (गैरी), जुद्धबहादुर राई (माने), नजमाया राई, हर्कराज राई, भीमबहादुर राई, सन्दीप राई र सुभधन राईकोलगायत ९ को घर बगाएको प्रहरीले जनाएको छ । पहिरोमा उद्धार गरिरहेका दमका रोगी मदन राईको भने हृदयाघातका कारण मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यसै गरी मंगलबार विहान अविरल बर्षाका कारण जिल्लाका विभिन्न स्थानमा बाढी र पहिरोले लगाएको अन्नबालीमा समेत लाखौंको क्षति पु¥याएको बताइएको छ ।