लमजुङमा एक महिलामा डेङ्गको संक्रमण


शिक्षा पन्त,लमजुङ ।

लमजुङको एक महिलामा डेङ्गु रोग देखा परेको छ । स्वास्थ्य कार्यलय लमजुङका अनुसार यस वर्ष पहिलो पटक जिल्लामा डेङ्गु संक्रमित देखा परेको हो । क्व्होलासोँथार गाउँपालिका वडा नं २ मालिङ घर भएर बेसीशहर नगरपालिका वडा नं. ७ घलेगाउँचोक बस्ने २९ वर्षिया महिलामा डेङ्गु रोग देखा परेको स्वास्थ्य कार्यलय लमजुङका प्रमुख अमर दवाडीले बताउनुभयो ।

लामखुट्टेको टोकाइबाट यो रोग एक मानिसबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्ने भएकाले सचेत रहन स्वास्थ्य कार्यलय लमजुङले आग्रह गरेको छ । डेङ्गुबाट बच्नको लागि लामखुट्टेको लार्भा नष्ट गर्न ‘खोज र नष्ट गर’ भन्ने अभियान संचालन गर्नुपर्ने स्वास्थ्य कार्यलयका प्रमुख दवाडीको भनाई छ ।

विरामीको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । विरामीको अवस्था सामान्य रहेकोे अस्पतालले जनाएको छ । विगतका वर्षहरुमा पनि एक दुई जनामा डेङ्गु देखा परेको उहाँले बताउनुभयो । यस वर्ष लमजुङमा मंगलबार एक जनामा डेङ्गु रोग देखा परेको हो ।