ललितपुर महानगरको ध्यानाकर्षण


न्युज अफ नेपाल,ललितपुर ।

ललितपुर महानगरपालिकाले सेवाग्राहीले पेश गरेको निवेदनको आधारमा कानुन बमोजिम गरिदिएको नाता प्रमाणितको विषयमा महानगरपालिका वडा नं ३ का वडा अध्यक्ष श्री गोपाल महर्जनलाई नेपाल प्रहरी अन्तर्गतको मानव बेचविखन अनुसन्धान व्यूरोले हिरासतमा लिएको प्रति ध्यानाकर्षण भएको जनाएको छ ।

ललितपुर महानगरपालिका नगरकार्यपालिकाको मंगलबार बसेको बोर्ड बैठकको निर्णय अनुसार जारी गरिएको विज्ञप्तिमा उक्त ध्यानाकर्षण उल्लेख छ । विज्ञप्तिमा भनिएको छ,‘ वडावासीको सेवामा इमान्दारीपूवर्क समर्मित जनप्रतिनिधिहरुको प्रत्यक्ष संलग्नता नभई वडा बाहिरका अन्य व्यक्तिहरुले झेली गरेको गलत लिखत र क्रियाकलापमा वडाअध्यक्षलाई समेत मुछी हिरासतमा लिएबाट जनप्रतिनिधिहरु हतोत्साहित भएका छन् । ’

यो घटनाले जनप्रतिनिधिहरुमा काम गर्न त्रासको वातावरण सिर्जना भएको उल्लेख गर्दै यथाशीघ्र सत्यतथ्य छानविन गरी जनप्रतिनिधिहरुलाई जनताको सेवामा समर्पित हुने कार्यबाट वंञ्चित नगराउन विज्ञप्तिमा भनिएको छ ।

यसैगरी अनुसन्धानमा रहेको निजको विषयलाई गलत प्रचार नगर्न र नगराउन समेत महानगरपालिकाले विज्ञप्ति मार्फत अनुरोध गरेको छ । स्थानीय सरकार संचालन ऐन,२०७४ मा सिफारिस तथा प्रमाणित गर्ने कानुनी अधिकार वडा कार्यालयको रहने व्यवस्था छ । यसका साथै वडा प्रमुुखको हैसियतले वडा अध्यक्षबाट त्यस्ता कामहरु प्रमाणित गर्न कानुनी व्यवस्था छ ।