मरिण गाउँपालिकामा गाई फर्म स्थापना, अध्यक्षले गरे दुध दोएर उद्घाटन


बुद्ध नेपाली,सिन्धुली ।

सिन्धुलीको मरिण गाउपालिका वडा नं. ७ जयमंगलमा निर्माण भएको गाई फर्मको उद्घाटन गरिएको छ । मंगलवार मरिण गाउपालिका अध्यक्ष पानीराज बम्जनले फर्ममा रहेको गाईको दुध दोएर फर्मको उद्घाटन गर्नुभएको छ ।
मरिण गाउपालिकाको ३० लाख आर्थिक सहयोगमा वडा नं. ७ मा रहेको कपिलाकोट साना किसान कृषि सहकारी संस्थाले गाई फर्म संचालन गरेको हो ।

फर्म संचालनका लागि सहकारीले होल्यान्ड जातको १४ ओटा दुध दिने गाई र २ वटा बाच्छी खरिद गरी ल्याएको मरिण गाउपालिका अध्यक्ष बम्जनले जानकारी दिनुभयो । मरिण गाउपालिकालाई दुधमा आत्मनिर्भर बनाउने उदेश्यले गाई फर्म संचालनका लागि गाउपालिकाको सात ओटा वडालाई आर्थिक बर्ष २०७६।०७७ मा ३० लाखको दरले बजेट बिनियोजन भएको थियो ।

सोही कार्यक्रम अन्र्तगत वडा नं. ७ मा गाई फर्म संचालन भएको गाउपालिका अध्यक्ष बम्जनले बताउनुभयो । तर अरु वडाहरुमा भने यो कार्यक्रम यो आर्थिक बर्षमा सम्पन्न हुन नसकेको उहाँले जानकारी दिनुभयो । कोरोना भाईरस कोभिड १९ को संक्रमण फैलिन नदिन लगाईएको लकडाउनका कारण अरु वडाहरुमा गाई फर्म संचालन गर्ने योजना पुरा हुन नपाएको अध्यक्ष बम्जनको भनाई छ ।

‘मरिण गाउपालिकालाई दुधमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ हामीले गाई फर्म संचालनको योजनामा बजेट छ्ट्याएका थियौं । तर लकडाउनका कारण हामीले सोचे जति काम अगाडी बढाउन सकिएन । काम नहुने भएपछि हामीले फर्म संचालनका लागि छुट्याएको बजेट समेत रकमान्तर गरेउ’ अध्यक्ष बम्जनले भन्नुभयो ।

गाई फर्म संचालनका लागि छु्ट्याईएको २२ लाख ५६ हजार रुपैया बजेट गाउपालिकाको कोभिड १९ कोषमा रकमान्तर गरी काम गरिएको अध्यक्ष बम्जनले बताउनुभयो । गाईफर्ममा उत्पादन भएको दुघको विक्री वितरणका लागि डेरी तथा चिस्यान केन्द्र पनि निर्माण गरी संचालनमा ल्याएइको छ ।

मरिण गाउपालिकाको ९ लाख आर्थिक सहयोगमा कपिलाकोट साना किसान कृषि सहकारी संस्थाले नै केन्द्रको स्थापना गरी संचालन गरेको हो । डेरी तथा चिस्यान केन्दको पनि मंगलवार नै अध्यक्ष बम्जनले उद्घाटन गर्नुभएको छ ।