काठमाडाैँ ।
हिन्दु धर्मका प्रमुख काव्यअन्तर्गत पर्ने सबैभन्दा प्रचलित काव्य ‘महाभारत’ हाे । महाभारतमा नैतिकता, असल र खराब कामको भिन्नता अनि त्यसको परिणाम जस्ता उदाहरण व्यक्त गरिएको छ।
साथै, महाभारतमा यस्ता केहि महिला पात्रहरू छन्, जसको साहस, चतुरता, सौन्दर्य अनि बुद्धिलाई उदाहरणीय मान्न सकिन्छ। आजको युगमा पनि महिलाहरू कस्तो हुनुपर्छ अनि आफ्नो जीवनलाई कसरी अगाडि बढाउनुपर्छ भनेर यी महिला पात्रहरूबाट सिक्न सकिन्छ।
यी हुन महाभारतका सुन्दर अनि साहसिला ९ महिलाः
द्रौपदीः ‘द्रौपदी’ अथवा ‘पञ्चाली’लाई महाभारतकै सबैभन्दा सुन्दर, बुद्धिमानी अनि साहसी महिला मानिन्छ। उनी ‘पञ्चाल’ राज्यका राजा ‘द्रौपद’की छोरी थिइन्। महाभारत काव्यको दोश्रो खण्डमा द्रौपदीको उल्लेखनीय भूमीका रहेको छ। द्रौपदीको स्वयम्वर.मा उनलाई अर्जुनले जितेका थिए र पाँच पाण्डवको साझा पत्नी बन्न पुगिन्। दुर्योधनले वस्त्रहरण गरेको बेलामा उनलाई श्रीकृष्णले बचाएपछि उनले श्रीकृष्णको प्रशंसा अनि पूजा गर्न थालिन्।
उर्वसीः उर्वसी इन्द्रदेवको दरवारको एक सुन्दर परी थिइन्। अर्जुनको साहस अनि बुद्धिदेखि उर्वसी मोहित भएकी थिइन् र अर्जुनलाई आफ्नो वशमा पार्न खोजेकी थिइन्। तर अर्जुनले उनको प्रस्ताव अस्वीकार गरेपछि क्रोधले अन्धि बन्न पुगेकी उर्वसीले अर्जुनलाई नपुंशक हुने श्राप दिएकी थिइन्।
कुन्तीः महाभारतका सुन्दर महिलाको सूचीमा कुन्ती पनि पर्छिन्। उनको विवाह हुनुभन्दा पहिले नै बालक भैसकेको थियो।वैँशको बेलाको चञ्चलेपनाले गर्दा कुन्तीले सूर्यदेवलाई बोलाइन् र फलतः विवाह हुनुभन्दा पहिले नै उनको छोरा भइसकेको थियो। यस्तो कार्यलाई समाजले कलङ्क ठान्ने डरले उनले आफ्नो छोरालाई टोकरीमा राखेर नदीमा बगाएकी थिइन्।
गंगाः गंगालाई महाभारतकै सबैभन्दा आँटिली महिलाको रूपमा मान्न सकिन्छ। उनी राजा ‘शन्तनु’की पहिली पत्नी थिइन्। उनको जल्दोबल्दो सौन्दर्यले शन्तनुलाई मोहनी लगाएको थियो र उनले गंगालाई आफ्नी पत्नी बन्न प्रस्ताव राखे। ३ वटा सर्तमा गंगा शन्तनुकी पत्नी बनेकी थिइन्। पहिलो- उसको निवासको बारेमा कहिल्यै पनि सोध्न पाउनेछैनन्। दोश्रो- उनले राम्रो-नराम्रो जेसुकै कर्म गरेपनि राजाले केहि भन्न पाउनेछैनन्। र तेश्रो- माथिका २ सर्त तोडेमा उनले तुरुन्तै राजालाई छाड्नेछन्।
उलुपीः उलुपी एक सुन्दर नाग राजकुमारी थिइन्। उनले अर्जुनलाई खुबै मन पराउँथिन् र विवाह गर्न चाहन्थिन्। एकदिन उनले अर्जुनलाई विष पिलाई बेहोस बनाएर अपहरण गरिन् र विहेको प्रस्ताव राखिन्।
सुभद्राः सुभद्रा बलराम र श्रीकृष्णकी बहिनी थिइन्। उनी पनि असाध्यै सुन्दर महिला थिइन्। सुभद्राको सौन्दर्य देखेर अर्जुन मोहित थिए र उनीसँग विवाह गर्न चाहन्थे। तर बलरामले सुभद्रालाई आफ्नो मनपर्ने चेला दूर्योधनसँग लगनगाँठो बाँधिदिन चाहन्थे र कृष्ण यसको विरुद्धमा थिए। त्यसैले कृष्णले अर्जुनलाई सुभद्राको अपहरण गर्ने सुझाव दिएका थिए।
सत्यवतीः राजा शन्तनुकी दोश्रो श्रीमती माझिकी छोरी ‘सत्यवती’ थिइन्। उनको सौन्दर्य र सुगन्धले गर्दा राजा शन्तनु लोभिएका थिए र उसँग बिहे गर्ने प्रस्ताव राखेका थिए। सत्यवतीले पनि उनकै छोरालाई राजगद्दिको हकदार बनाउनुपर्ने सर्तमा राजाको प्रस्ताव स्वीकारेकी थिइन्।
गान्धारीः महाभारतमा गान्धारीलाई आफ्नो कर्तव्य र धर्मप्रति समर्पित महिलाको रूपमा प्रस्तुत गर्न खोजिएको छ। राजा ‘सुबला’की छोरी गान्धारी सानो छँदा महादेवको पूजा-आरधना गर्थिन्। उनको पूजा र समर्पण देखि प्रसन्न भएर महादेवलाई उनलाई सयवटा छोरा होस् भनि वरदान दिएका थिए। पछि उनको विवाह अन्धो राजा धृतराष्ट्रसँग भएपछि उनले पनि आफ्नो जीवनभरी आँखामा कालो पट्टी लगाएकी थिइन्।
चित्रांगदाः चित्रांगदा मनिपुर राज्यका राजा ‘चित्रावाहन’की सुन्दर छोरी थिइन्। अर्जुनले उनलाई पनि असाध्यै मन पराएका थिए र विवाह गर्न तत्पर थिए। उनले राजा चित्रावाहनसँग चित्रांगदाको हात माग्न गए। तर मनिपुर राजाको कुनै पनि छोरा नभएकोले चित्रांगदाको छोरालाई मनिपुरको राजा बनाउने सर्तमा अर्जुनसँग विवाह गरिदिएका थिए।
प्रतिक्रिया