क्वारेन्टाइनमा बसेका सबैको पीसीआर


नेपाल समाचारपत्र, बैतडी ।

भारत तथा तेस्रो मुलकबाट फर्केर क्वारेन्टाइनमा बसिरहेका सबै नागरिकको अनिवार्यरूपमा कोरोना परीक्षण गरिने भएको छ ।

प्रदेशका विभिन्न क्वारेन्टाइनमा बसिरहेकाको पीसीआर परीक्षण गरिने सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ । स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीका अनुसार भारत तथा तेस्रो मुलकबाट आई क्वारेन्टाइनमा बसेका सबैको पीसीआर परीक्षणका लागि स्वाबको नमुना पठाउन प्रदेशका सबै स्वास्थ्य कार्यालयलाई पत्राचार गरिएको छ ।

क्वारेन्टाइनमा बसिरहेका तथा अवधि पुगेका सबैको स्वाब संकलन गरी धनगढी र डडेल्धुरा प्रयोगशालामा पठाउन निर्देशन दिएको डा. अवस्थीले जानकारी दिनुभयो ।

प्रदेशका क्वारेन्टाइनमा बसिरहेका व्यक्तिहरूको संख्या दिन प्रतिदिन घट्दै गइरहेको भन्दै सरकारको कोरोना परीक्षण गाइडलाइनअनुसार नमुना पठाउन अनुरोध गरिएको छ । स्वास्थ्य निर्देशनालयले संक्रमित क्षेत्रबाट फर्केका तथा संक्रमितको सम्पर्कमा आएका ५ देखि १० दिनभित्र पीसीआर जाँचका लागि उपयुक्त हुने भन्दै तुरुन्त सम्पूर्णको नमुना पठाउन आग्रह गरेको हो । हाल सुदूरपश्चिमका क्वारेन्टाइनमा ५ हजार ५ सय ८९ जना बसिरहेका छन् ।

यसअघि क्वारेन्टाइनमा बसेको १४ दिनपछि आरडीटी गर्ने र पोजेटिभ आएपछि मात्रै पीसीआर गर्ने गरिएको थियो ।
सुदूरपश्चिममा अहिलेसम्म ३ हजार ९ सय जनामा कोरोना पुष्टि भएको छ ।