थप दुईको शव फेला


वासुदेव शर्मा, जाजरकोट

बारेकोट गाउँपालिका–४ सार्कीटोलमा बिहीवार राति गएको पहिरोमा परी बेपत्ता थप दुई जनाको शव फेला परेको छ । पहिरोमा बेपत्ता भएकी मृतक गोपाल सार्कीकी १३ वर्षीया छोरी लक्ष्मी सार्कीको शव भेटिएसँगै मृतकको संख्या ११ पुगेको छ ।

पहिरोले दुई घर वगाउँदा १२ जना बेपत्ता भएका थिए । पहिरोमा परी बेपत्ता ११ वर्षीया कमला सार्कीको शव आइतबार उद्धार टोलीले भेटाएको हो । कमला सार्की घटनामा परी मृत्यु भएकी कले सार्कीकी छोरी हुन् ।

पहिरोमा परेर कलु सार्की उनकी छोरी तिर्सा सार्की र छोरा सुभाष सार्कीको मृत्यु भएको थियो । पाहुना आएका कुशे–९ चौराटाका गौरी सार्की, कविता सार्की, डिल्ली सार्की र वीरेन्द्र सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख किशोरकुमार श्रेष्ठले जानकारी दिनुभयो । उनीहरू दिदीको घरमा पाहुना आएका थिए ।

पहिरोमा परेर गोपाल सार्कीका छोरा अर्जुन सार्कीको पनि मृत्यु भएको छ । गोपाल सार्कीकी श्रीमती पुष्पा सार्की बेपत्ता छिन् । बारेकोट ६ धुमाका शान्तबहादुर चलाउने र प्रचण्ड चलाउनेलाई धुमाखोलाले बगाउँदा बेपत्ता छन् । जुनीचाँदे–११ का डिल्लीबहादुर चनारा भीरबाट लडेर सानाखोलामा बेपत्ता छन् ।

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सांसद सत्या पहाडी, सांसद भैरवसुन्दर श्रेष्ठ, मायाप्रसाद शर्मा त्रिपाल खाद्यन्नलगायत राहत सामग्री लिएर हेलिकोप्टरबाट पहिरो प्रभावित क्षेत्र पुग्नुभएको थियो ।