शव स्वदेश ल्याउन नाका खोलिँदै


बैतडी, (नेस)

भारतको झुलाघाटमा मृत अवस्थामा फेला परेका बैतडीका बालकको शव नेपाल ल्याउनका लागि झुलाघाट नाका खोलिने भएको छ । चमेलिया नदीमा बगेर बेपत्ता भएका डिलाशैनी गाउँपालिका–६ चौसेराका ९ वर्षीय बालक रुपेश नाथ बेलुका ७ बजेतिर महाकाली नदीपारि झुुलाघाटमा फेला परेका थिए ।

मृतक बालकको शव ल्याउनका लागि नेपाल–भारत सीमानाका खोलिने बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताउनुभयो । मृतक बालकको शव परीक्षण भारतमै गरिने र त्यसपश्चात नेपाल ल्याइने भएको हो । उहाँले भन्नुभयो– ‘मृतकका २ जना परिवारका सदस्यलाई पारि पठाउन भनेको र सनाखतपश्चात शव ल्याइनेछ ।’

शव नेपाल ल्याउनका लागि झुलाघाट नाका खोल्ने भनेर दुई देशका स्थानीय प्रशासनबीच सहमति भइसकेको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिनुभयो ।