नक्कली भारतीय नोटसहित तीन समातिए


झापा, (नेस)

नक्कली भारतीय रुपियाँ १ लाख ४४ हजारसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कन्काई नगरपालिका–४ का खुर्सैद आलम, सोही नगरपालिका–३ का मौसम श्रेष्ठ र झापा गाउँपालिका–५ का एराजुल हक रहेका छन् ।

खुर्सैद आलम र श्रेष्ठ मिलेर भारतीय नक्कली नोट कारोबार गर्न लागेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले मौसम श्रेष्ठलाई उनको घरमै फेला पारी तलासी गर्दा ५ सय दरका २ सय ८८ थानमा रहेका उक्त नोट फेला पारी पक्राउ गरेको हो ।

साथै उक्त कारोबारमा खुर्सैद आलम र एराजुल हकसमेत संलग्न रहेको अनुसन्धानबाट खुल्न आएपछि आलम र हकलाई समेत सुरुङ्गा बजारबाट प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट २० हजार ५ सय नेपाली रुपियाँसमेत प्रहरीले बरामद गरेको छ ।