सुवेदी दम्पती हत्यारा १५ वर्षपछि पक्राउ


काठमाडौं, (नेस)

१४ वर्ष अघि सीतापाईलमा भएको दम्पती हत्याकाण्डका अभियुक्तलाई प्रहरीले भारतबाट पक्राउ गरेर नेपाल ल्याई सार्वजनिक गरेको छ । तत्कालीन सीतापाइला गाविस–४ मा कान्तिपुर सःमिलका सञ्चालक मोरङ डाँगीहाटका नातीकाजी सुवेदी र उनकी श्रीमती सानु सुवेदीलाई सोही मिलमा काम गर्ने जयकिशोर साह र प्रताप रानाले खुकुरी प्रहार गरी फरार रहेका थिए ।

सुवेदी दम्पतीको हत्यापछि फरार रहेका उनलाई भारतबाट पक्राउ गरी नेपाल ल्याइएको बताइएको छ । दम्पती हत्यापछि फरार रहेका साह र राना २ वर्ष भारतको लखनउमा बसेका थिए । दुई वर्षपछि राना त्यहाँबाट बाहिर गएपछि साह भने जय शर्माको नामबाट भारतीय आधार कार्ड लिएर काम गर्दै आएका थिए ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो स्थापना भएदेखि नै उक्त घटनाको बारेमा चासो राख्दै आएको प्रहरीले उक्त घटनामा परी गम्भीर घाइते भएका विलभ सुवेदीसँग निरन्तर सम्पर्कमा रहँदै आएको थियो । सुवेदीसँगको निरन्तर सम्पर्क र सूचनाको आधारमा भारतीय प्रहरीसँगको समन्वयमा सुराकी परिचालन गरी साहलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । अर्का अभियुक्त रानालाई पनि प्रहरीले खोजी तीव्र पारेको जनाएको छ ।