ज्यान मुद्दामा जेलमा रहेका शिक्षकलाई तलब


विनोद सिंह विष्ट, बैतडी

बैतडीमा कर्तव्य ज्यान मुद्दामा दोषी ठहरिएका दुई जना प्रधानाध्यापकलाई तलब दिएको खुलेको छ । जिल्लाको बटैराज प्राथमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक रतनसिंह भण्डारी कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भए पनि निजलाई कारबाही गर्नुको साटो तलब भत्ता दिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

आयोगले प्रकाशित गरेको विज्ञप्तिमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकसिंह भण्डारीको सहमतिमा प्रधानाध्यापक रतनसिंह भण्डारीले ८३ हजार १ सय रुपियाँ लिएको खुलेको छ । सरकारी रकमको दुरुपयोग गरेकाले अख्यितारले सो रकम असुलउपर गरी पाउन भन्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को परिच्छेद २ को दफा १७ बमोजिम कसुर गरेकाले तत्कालीन प्रधानाध्यापक भण्डारी र अध्यक्ष टेकसिंह भण्डारीबाट बिगो असुलउपर गर्न अख्तियारले माग गरेको छ । यस्तै जिल्लाको जसलिंग प्राविका तत्कालीन शिक्षक महानन्द कपाडीलाई पनि नियम विपरीत तलब खुवाएको अख्यितारले जनाएको छ ।

अख्तियारले गरेको छानविनमा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका कपाडीलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराज कपाडी र स्रोत व्यक्ति हरि नाथको सहमतिमा ८१ हजार ९ सय तलब खुवाएको अख्तियारले गरेको छानविनबाट पुष्टि भएको छ ।

सरकारी रकमको दुरुपयोग गरेको भन्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराज कपडी, स्रोतव्यक्ति हरि नाथ र विद्यालयका तत्कालीन शिक्षक महानन्द कपाडीबाट सो रकम असुलउपर गर्न विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनीहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को परिच्छेद २ को दफा १७ बमोजिम कसुर गरेकाले सो रकम असुलउपर गर्न विशेष अदालतमा आरोप–पत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

बैतडीको दोगडाकेदार गाउँपालिका–३ श्रीकोट घर भएका महानन्द कपाडी र दोगडाकेदार–४ का रतनसिंह भण्डारी कर्तव्य ज्यान मुद्दामा २०७४ असार १५ मा जेल परेका थिए । २ वर्ष कैद सजाय र ८२ हजार जरिवानासहित जेल परेका दुवै जना २०७५ साल जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा जेलमुक्त भएका थिए ।

उनीहरु ६४ प्रतिशत कैद भुक्तान गरेपछि २०७५ सालमा गणतन्त्र दिवसको अवसरमा छुटेका थिए । उनीहरु दुवै जनाले दोगडाकेदार गाउँपालिका–३ श्रीकोटकै अर्जुनसिंह विष्टको हत्या गरेका हुन् ।