तनहुँ पहिरोमा ६ को मृत्यु, ६ बेपत्ता


मिला दरै, तनहुँ

आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण आएको पहिरोमा परी तनहुँमा ६ जनाको ज्यान गएको छ भने ६ जना बेपत्ता भएका छन् ।

व्यास नगरपालिकाका ६ जना, ऋषिङ गाउँपालिकाका ५ जना र म्याग्दे गाउँपालिकाको १ गरी १२ जना पहिरोमा परेका हुन् । व्यास नगरपालिका–९ माझफाँटका केशरबहादुर थापाको घर भत्किँदा उहाँकी श्रीमती ४० वर्षीया कमला थापा, छोरा २४ वर्षीय मनोज थापा र छोरी २१ वर्षीया अञ्जना थापाको निधन भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो ।

सोही ठाउँकी ७० वर्षीया मैतीकुमारी घर्ती, ऋषिङ गाउँपालिकाका आनबहादुर थापाका जेठा छोरा ३० वर्षीय भेषबहादुर थापा र म्याग्दे गाउँपालिका–६ का १७ वर्षीया लक्ष्मी विकको पहिरोमा परी निधन भएको बरालले बताउनुभयो ।

पहिरोमा परी घाइते भएका व्यास–९ का ५० वर्षीय केशरबहादुर थापाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र ऋषिङ–८ पल्ट्याङ भैंसीकिलीका आनबहादुरका श्रीमती ६० वर्षीया ज्योति थापाको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको उहाँले बताउनुभयो ।

त्यस्तै व्यास–९ का २० वर्षीय राजेश थापा, व्यास–११ का ५२ वर्षीय पदमबहादुर भुजेल, ऋषिङ गाउँपालिका–८ पल्ट्याङ भंैसीकिलीका जेठी बुहारी नानुमाया थापा, कान्छा छोरा २२ वर्षीय महावीर थापा, कान्छी बुहारी १९ वर्षीया मनिसरा थापा र नातिनी ५ वर्षीया अमिसा थापा हराइरहेको बरालले बताउनुभयो । उनीहरुको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले उद्दारको काम गरिरहेको उहाँले बताउनुभयो ।

आनबहादुर र उहाँकी श्रीमती पुरानो घरमा सुतेको अवस्थामा पहिरो आएपछि परिवार नै पहिरोमा पुरिएका हुन् । उहाँको छोराहरु, बुहारीहरु र नातिनी भने भर्खरै मात्र बनाइएको नयाँ घरमा सुतेका थिए । पुरानो घरमा पहिरोले कम क्षति पु¥याएको छ भने नयाँ पूर्ण रुपमा पहिरोले पुर्दा परिवार नै पहिरोमा हराइरहेको आनबहादुर बताउनुहुुन्छ ।

ऋषिङ–८ पल्ट्याङ भैंसीकिलीका आनबहादुर थापाको घर पहिरोेले पुरिँदा धनजनको क्षति पुगेपछि गाउँपालिकाले सोमबार राहत उपलब्ध गराएको छ । आनबहादुरका परिवारको खोजी कार्य भइरहेको स्थानमा नै पुगी गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ र उपाध्यक्ष गिनुमाया थापा, गाउँपालिकाका जनप्रतिनिधिले १ लाख रुपियाँ हस्तान्तरण गर्नुभएको छ ।

गाउँपालिकाले आनबहादुरलगायत पहिरोले असर पुगेका घरपरिवारलाई समेत स्थानान्तरण गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । खोजी कार्यलाई तीव्र पारिएको उहाँले बताउनुभयो ।