गाईजात्रासँगै सधैँ आउँछ उनको सम्झना



  • प्रज्वल घिमिरे

कामना मासिकले २०७७ सालको गाईजात्रा विशेषांक निकाल्ने तयारीका साथ प्रचार–प्रसार र व्यङ्ग्य लेख तथा चित्रहरु आह्वान गर्न थालेपछि म उनलाई सम्झन्छु । उनी अर्थात् पुष्करलाल श्रेष्ठ । नेपाली कलाको क्षेत्रमा योगदान दिने उद्देश्यले कामना पत्रिका प्रकाशित गर्ने र जस्तोसुकै असहज परिस्थितिमा पनि त्यसलाई निरन्तरता दिने व्यक्ति, जसका कारण आज पनि हास्य–व्यङ्ग्यका सिर्जनाकारहरु आज पनि सम्मानित महसुस गरिरहेका छन् ।

हामी केटाकेटी छँदाखेरि नेपालमा नेपाली चलचित्रहरु धेरै कम बन्थे ।वर्षको एउटा चलचित्र बन्न पनि मुस्किल थियो त्यतिखेर । त्यस्तो स्थितिमा नेपाली चलचित्रसँग सम्बन्धित पत्रपत्रिकाहरु प्रकाशित हुन नसक्नुलाई स्वाभाविकै मान्नुपर्छ । तर त्यस्तो परिस्थितिमा पनि एउटा नेपाली चलचित्रसँग सम्बन्धित पत्रिका नियमित प्रकाशित हुन्थ्यो मासिकरुपमा । त्यतिखेर नेपाली चलचित्रका कलाकार, प्राविधिक र सम्पूर्ण चलचित्रसँग सम्बन्धित व्यक्तिहरुको हरेक गतिविधिलाई उक्त पत्रिकाले समेट्थ्यो । त्यो पत्रिकाको नाम हो कामना ।

नेपाली चलचित्रलाई विशेष महत्व दिएर समाचारहरु सम्प्रेषित गरे पनि कामनाले साहित्य र संस्कृतिलाई पनि महत्वपूर्ण ढंगले स्थान दिने गरेको थियो । स्कुल, कलेज, सरकारी कार्यालय तथा हरेक क्षेत्रका मान्छेहरुमाझ अत्यन्त लोकप्रिय बनेको कामना मासिक पत्रिका नेपाली समाजमा एउटा विशिष्ट स्थान ओगट्न सफल भैसकेको थियो त्यतिखेर । बेलाबेलामा साहित्यकारहरुको आवाजलाई पनि कामनाले जनसमक्ष पु¥याउने गथ्र्यो भन्ने कुरा एकपटक लोकप्रिय कवि भूपि शेरचनको अन्तरवार्ता कामनाले प्रकाशित गरेबाट प्रमाणित हुन्छ । जुन अन्तरवार्ताले नेपाली समाजमा हलचल नै मच्चाइदिएको थियो त्यति बेला ।

राजनीतिज्ञ, कलाकार, कर्मचारी र समाजका हरेक विशिष्ट स्थान ओगटेर बसेका व्यक्तित्वहरूका कमजोरी र गल्ती औंल्याएर दिशाहीन समाजलाई दिशानिर्देश गर्ने महत्वपूर्ण काम गरेको छ कामना गाईजात्रा विशेषांकले । जसको प्रकाशन कार्य यसका संस्थापक पुष्करलाल श्रेष्ठको अनुपस्थितिमा पनि आजसम्म जारी छ ।

त्यतिखेर एउटा यस्तो पत्रिका थियो कामना, जसले मनोरञ्जनको दुनियाँमा तहल्का नै पिटेको थियो । हरेक व्यक्तिको हात–हातमा त्यतिखेर कामना देख्न पाइन्थ्यो । त्यति बेला कामनामा नेपालका चलचित्रकर्मीहरु अन्तरवार्ता दिन मरिहत्ते गर्थे । अहिलेका स्थापित चलचित्रका कलाकारहरु र प्राविधिकहरु त्यही पत्रिकाका कारण चर्चित थिए । त्यही पत्रिकाले उनीहरुको भावनालाई सम्प्रेषित पनि गरिदिन्थ्यो ।

त्यति बेला एक–दुर्ईवटा नेपाली चलचित्रसँग सम्बन्धित अरु पत्रिकाहरु प्रकाशित हुने गरेको भए पनि कामनाजस्तो नियमितरुपमा प्रकाशित हुने पत्रिका कुनै पनि थिएन । तर आज नेपाली चलचित्रको इतिहास निर्माणमा कोसेढुंगा साबित भएको कामना मासिक पत्रिकाको प्रकाशक तथा प्रधान सम्पादक पुष्करलाल श्रेष्ठ हामीमाझ हुनुहुन्न तर नेपाली चलचित्र पत्रकारितामा उहाँले पु¥याएको योगदान सधैँ हाम्रो साथमा रहनेछ ।

बलेको आगो सबैले ताप्छन् तर निःस्वार्थरुपले निभेको आगोलाई बालेर सबैलाई न्यानो गराउने कार्य प्रायः कमैले गर्छन् । नेपाली चलचित्र वर्षमा एउटा मात्र बन्ने स्थितिमा डटेर पुष्करलाल दाइले चलचित्र पत्रकारिता गर्नुले माथिको पंक्तिलाई राम्रोसँग पुष्टि गर्छ । त्यस्तो स्थितिमा चलचित्रसम्बन्धी पत्रिका प्रकाशन र सम्पादन गर्नु आफैंमा एउटा ठूलो चुनौती थियो उहाँलाई, आर्थिक र राजनीतिक कारणले । आर्थिक यस मानेमा कि त्यतिखेर चलचित्र एकदमै थोरै मात्र बन्ने भएकाले विज्ञापनले पत्रिका प्रकाशनको खर्च धान्न धेरै कठिन थियो ।

राजनीतिक यस मानेमा कि त्यति बेला नेपालमा पञ्चायत व्यवस्था भएकोले हरेक अंग सेन्सर गर्नुपर्ने बाध्यात्मक परिस्थिति थियो । यस्तो अवस्थामा कामना मासिकका प्रकाशक तथा सम्पादक पुष्करलाल दाइले नियमितरुपमा कामनाको प्रकाशन तथा सम्पादन गरी नेपाली चलचित्र पत्रकारिता क्षेत्रमा अतुलनीय योगदान दिनुभयो ।

त्यस्तै अर्को एउटा बिर्सनै नसक्ने उहाँको योगदानको चर्चा पनि यहाँ गर्नै पर्ने हुन्छ । त्यो के भने, पञ्चायत कालदेखि नै निडर भई गाईजात्राको उपलक्ष्यमा हरेक वर्ष कामनाको गाईजात्रा विशेषांक प्रकाशन तथा सम्पादन गर्ने कार्य उहाँले गर्नुभयो, जुन आफैंमा चुनौतीपूर्ण काम थियो । वर्षदिनभरि राजनीतिज्ञ, कलाकार, कर्मचारी र समाजका हरेक विशिष्ट स्थान ओगटेर बसेका व्यक्तित्वहरुका कमजोरी र गल्ती औंल्याएर दिशाहीन समाजलाई दिशानिर्देश गर्ने महत्वपूर्ण काम गरेको छ कामना गाईजात्रा विशेषांकले ।

जसको प्रकाशन कार्य यसका संस्थापक पुष्करलालश्रेष्ठको अनुपस्थितिमा पनि आजसम्म जारी छ ।गाईजात्राको उपलक्ष्यमा प्रकाशित हुने कामनाको गाईजात्रा विशेषांक नेपाली समाजमा विशिष्ट स्थान ओगटेर लोकप्रियताका साथ प्रकाशित हुँदै आएको छ ।

अन्तिममा एउटा एकदम दुःखको कुरा, धेरै चाहना हुँदाहुँदै यस्तो नेपाली पत्रकारिता जगत्को एउटा स्थापित व्यक्तित्व वरिष्ठ पत्रकार स्वर्गीय पुष्करलाल दाइसँग कामनाको गाईजात्रा विशेषांकहरुमा विगत केही वर्षदेखि हास्यव्यङ्ग्य लेख–रचनाहरु लेख्दै आएको यो पंक्तिकारले एकचोटि पनि भेट्ने अवसर पाएन । अनि फेरि अर्को एउटा झन् दुःखको कुरा, सरकारले नै आफैं जिम्मेवारी बहन गरी उपचारमा चासो लिनुपर्ने व्यक्तित्व पुष्करलाल श्रेष्ठको निधन चिकित्सहरुको लापरबाहीका कारण हुँदा पनि लापरबाही गर्ने चिकित्सकहरुको विरुद्ध आजसम्म राज्यले कुनै कदम चालेको छैन ।

प्रतिक्रिया दिनुहोस्