जाजरकोट पहिरोमा परेका ९ को शव फेला


वासुदेव शर्मा, जाजरकोट

अविरल वर्षाका कारण जाजरकोटको बारेकोट गाउँपालिकाका विभिन्न स्थानमा गएको पहिरोमा परी ९ जनाको मृत्यु भएको छ भने छुट्टाछुट्टै स्थानमा ३ जना बेपत्ता भएका छन् । बारेकोट गाउँपालिका–४ जिरीको सार्कीटोलमा बिहीबार राति पहिरोले दुई घर बगाउँदा बेपत्ता भएका १२ जनामध्ये ९ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

पहिरोमा परी ५२ वर्षीय गोपाल सार्की, उनका ११ वर्षीय छोरा अर्जुन सार्की, कलु सार्कीको घरमा पाहुना आएका कुशे–९ चौराटाका २० वर्षीय डिल्ली सार्की र १८ वर्षीय वीरेन्द्र सार्की, ३८ वर्षीय कलु सार्की र उनका ६ वर्षीय छोरा सुभाष सार्की, कलु सार्कीकी १४ वर्षीय छोरी तिर्खा सार्कीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक किशोरकुमार श्रेष्ठले वताउनुभयो । पहिरोमा बेपत्ता भएकाहरुको खोजीकार्य भइरहेको प्रहरी प्रमुख श्रेष्ठले बताउनुभयो ।

गोपाल सार्की र कलु सार्कीको घर पहिरोले बगाउँदा भएको घटनामा पाहुना आएका ३ जना अझै बेपत्ता छन् । उनीहरुको खोजीकार्य जारी रहेको प्रहरी प्रमुख श्रेष्ठले बताउनुभयो । त्यस्तै बारेकोट–६ धुमामा शुक्रबार बिहान आएको बाढीले २० वर्षीय शान्तबहादुर चलाउने र १० वर्षीय प्रचण्ड चलाउने बेपत्ता भएका छन् ।

बाढीमा परेका रामचन्द्र चलाउने र विज्ञान बोहरालाई स्थानीयले उद्धार गरेका छन् भने रामचन्द्र चलाउने गम्भीर घाईते भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दबहादुर सिंहले बताउनुभयो ।

घटनास्थलमा टेलिफोन नलाग्ने र प्रहरीको सञ्चार सेटले समेत काम नगर्दा सूचना संकलनमा समस्या भएको प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले बताउनुभयो । सोही घटनामा बारेकोट–४ का लालबहादुर नेपाली गम्भीर घाइते भएका छन् । उनी पहिरोले घर भत्काएपछि भाग्ने क्रममा घरको भित्ताले च्यापेर घाइते भएका हुन् ।

घाइते नेपालीको उद्धारका लागि हेलिकोप्टर मगाएको गाउँपालिकाका अध्यक्ष महेन्द्र शाहले बताउनुभयो ।
बिहीबार रातिदेखि अविरल वर्षाले बारेकोटका धेरै बस्ती जोखिममा रहेका छन् भने पानी परिरहेकाले उद्धारमा कठिनाइ भएको अध्यक्ष शाहको भनाइ छ । वर्षासँगै आएको बाढीपहिरोले बारेकोट–४ सार्कीटोल, रावत जिरी, तलीगाउँ, गोठगाउँका ८ घर पूर्णरुपमा नष्ट भएको अध्यक्ष शाहले बताउनुभयो ।

पहिरोको जोखिम बढेपछि मैना, ठाकुर जिरी, सार्कीटोल बोहरागाउँ तलीगाउँ गोठगाउँका नागरिकहरुले घर छोडेको अध्यक्ष शाहले बताउनुभयो । उनीहरुलाई हिमालय आधारभूत विद्यालय गोठगाउँ र भगवती आधारभूत विद्यालय जिरीको भवनमा र अन्यलाई सुरक्षित स्थानमा त्रिपाल टाँगेर राखेको अध्यक्ष शाहले वताउनुभयो ।

नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीयबासी र नेपाल प्रहरीको टोलीले बेपत्ताको खोजीकार्य गरिरहेको प्रहरी प्रमुख श्रेष्ठले वताउनुभयो । घटनास्थल जाजरकोट सदरमुकाम खलंगादेखि दुई दिन पैदल दूरीमा २५ कोष उत्तरपूर्वमा पर्दछ । पानी परिरहेकाले पहिरोको जोखिम बढ्दै गएपछि स्थानीयबासी त्रसित भएका छन् ।

यसैबीच घाइते दुई जनालाई शनिबार हेलिकोप्टरले उद्धार गरेर सुर्खेत लगेको छ । शुक्रबार जाजरकोटको बारेकोटमा बाढीपहिरोमा परी गम्भीर घाइते भएका उनीहरुलाई हेलिकोप्टरबाट उद्धार गरिएको छ ।

गम्भीर घाइते ५६ वर्षीय लालबहादुर नेपाली र बारेकोट–६ धुमाखोलामा आएको बाढीले बगाउँदा घाइते भएका ७ वर्षीय रामचन्द्र चलाउनेलाई कर्णाली प्रदेश सरकारले पठाएको नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरेको प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।