इन्द्रावती नदीले बगाएर काभ्रेको मण्डनदेउपूरका ३ जना बेपत्ता

0
Shares

ज्ञानमणि नेपाल कालोटोपी
मण्डनदेउपूर , काभ्रे ।

काभ्रे र सिन्धुपाल्चोकको सिमाना इन्द्रावती नदीले बगाएर ३ जना बेपत्ता भएका छन् । शुक्रबार एक बालक बेपत्ता थिए भने शनिबार २ जना बगेर बेपत्ता भएका छन्।

आज बेपत्ता हुनेमा चण्डेनी मण्डन, हल्देटारका वर्ष ३७ का चन्द्र लामा र माझी गाउँका ३३ वर्षका सम्फे माझी रहेका छन् । नदी तर्ने क्रममा उनीहरु बेपत्ता भएका वडाध्यक्ष विष्णुमणि नेपालले जानकारी दिए । बेपत्ता ३ जना नै मण्डनदेउपूर १० का स्थानियहरु भए पनि सम्फे माझीको भने सिन्धुपाल्चोकको र्यालेमा पनि घर रहेको थियो । काभ्रेमा रहेको खेतमा रोपाईं गर्न आएको र नदी तर्ने क्रममा उनीहरुलाई इन्द्रावतीले बेपत्ता बनाएको हो ।

उनीहरुको खोजीकार्य भइरहे पनि नदीमा पानीको बहाव उच्च रहेकाले फेला पार्न नसकिएको वडाध्यक्ष नेपालले बताए ।यस्तै इन्द्रावती नदीले बगाएर शुक्रबार एक बालक बेपत्ता भएका थिए । काभ्रेको मण्डनदेउपूर नगरपालिका वडा नम्बर १० का दिपक नेपालीका १३ बर्षिय छोरा अभिशेक नेपाली इन्द्रावती नदीमा बेपत्ता भएका हुन् ।

पौडी खेल्ने क्रममा बेपत्ता भएको र उनको शुक्रबारदेखि नै खोजी कार्यको लागि सशस्त्र प्रहरीको गोताखोर टोली घटनास्थलमा परिचालन गरिएको भए पनि हाल सम्म फेला पार्न सकिएको छैन ।

अभिशेक साथिहरु सँग पौडी खेल्न शुक्रवार इन्द्रावती नदीमा गएका थिए । इन्द्रावती नदीमा वर्षेनी यस्ता घटनाहरु हुँदै आएका छन् भने बगरमा रहेको सयौं रोपनी धान खेत पनि बगाउने गरेको छ ।