इन्स्पेक्टर रायविरुद्ध भ्रष्टाचार मुद्दा


हेटौंडा, (नेस)

मकवानपुरको भैंसेमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) रामबालक रायविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

घूस लिएको आरोपमा इन्स्पेक्टर रायविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । रायलाई निलम्बन गरी थप अनुसन्धान गरिएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

इन्स्पेक्टर राय इलाका प्रहरी कार्यालय भीमफेदीमा कार्यरत थिए । निर्माण सामग्री ढुवानी गर्ने सवारीसाधनका सञ्चालकबाट रायले १२ हजार रुपियाँ घूस लिएको अख्तियारको आरोप छ । रायले निर्माण सामग्री ढुवानी गर्ने सवारीसाधन रोकेर बारम्बार रकम असुली गर्ने गरेको पाइएको आयोगको आरोपपत्रमा उल्लेख छ ।

उनलाई भीमफेदी–६ मा रहेको सगरमाथा होटलबाट एक ठेकेदारसँग घूस लिँदै गर्दा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको टोलीले घूससहित असार ६ गते नियन्त्रणमा लिएको थियोे । प्रदेश प्रहरी कार्यालयमा उनीविरुद्ध उजुरी परेपछि छड्के गर्दा पक्राउमा परेका थिए ।