बन्दाबन्दीका बेला ५८ प्रतिशत हिंसा घरभित्रै


नेपाल समाचारपत्र, काठमाडौं,

अभिलेखीकरण भएका हिंसाका घटनामध्ये सबैभन्दा बढी ५८ प्रतिशत अर्थात् ४ सय ९० वटा घटना घरभित्रकै सदस्यको संलग्नतामा भएको पाइएको छ । कोरोना संक्रमणका कारण भएको बन्दाबन्दीको समयमा ओरेक नेपालले गरेको पछिल्लो ३ महिनाको अनुसन्धानमा ८ सय ४३ जना महिला तथा बालिकामाथि भएका हिंसाका घटना अभिलेखीकरण गरेको छ ।

हिंसा प्रभावितमध्ये सबैभन्दा बढी १७ देखि २५ वर्ष उमेर समूहका २ सय ५९ जना, २६ देखि ३५ वर्ष उमेर समूहका २ सय ३९ जना, १६ वर्षभन्दा कम उमेर समूहका १ सय ४३ जना, ३६ देखि ४५ वर्ष उमेर समूहका १ सय ६ जना र बाँकी अन्य उमेर समूहका रहेका छन् । यस्तै गरी हिंसाका आरोपित व्यक्तिमध्ये २ सय ८४ जना २६ देखि ३५ वर्ष उमेर समूहका, १ सय ९७ जना ३६ देखि ४५ वर्ष उमेर समूहका, १ सय ८० जना १७ देखि २५ वर्ष उमेर समूहका, १ सय १२ जना ४६ वर्षभन्दा माथिका, ७ जना १६ वर्षभन्दा कम उमेरका र ८९ जना उमेर समूह थाहा नभएका रहेका छन् ।

घरेलु हिंसा प्रभावितले नै घर छोड्नुपर्ने, समयमा न्यायीक कारबाही नहुने, पीडकले पटक–पटक धम्की दिने, सामाजिकरूपमा लाल्छना खप्नुपर्ने, पारिवारिक र सामाजिक सहयोगको कमी हुने, बालबालिकाको पालनपोषणका लागि चुनौती खप्नुपर्ने जस्ता कारणले गर्दा अझ धेरै घटना बाहिर आउन नसकेको ओरेक नेपालले जनाएको छ ।

यसका लागि सरकारले घरेलु हिंसामा संलग्न व्यक्तिलाई कानुनी कारबाही र आवश्यकताअनुसार सुधार गृहमा राख्ने र प्रभावितलाई घरमा नै सुरक्षितरूपमा रहने वातावरण निर्माण गरी प्रभावितको शिक्षा, स्वास्थ्य तथा जीविकोपार्जनका लागि सहयोग गर्नुपर्ने आवश्यकता रहेको छ ।