पहिरोले घर–परिवार सबै लग्यो, हेर्न जान सकेका छैनन् अमर र विकास


दुर्गाप्रसाद शर्मा, पर्वत

असाध्यै मिलेको परिवार थियो तुलबहादुर थापा र कमला विकको । तुलबहादुर ढकालबारीमा पहिरोको जोखिम भएकाले काउलेमा जमिन किनेर घर बनाउन आइपुगेका थिए भने कमला विकले पनि विदेशमा भएका श्रीमान्को कमाइले एउटा घर त्यही ठाउँमा बनाएकी थिइन् । आफूले बनाएका सुन्दर घरमा परिवारलाई ओत लगाएका दुई परिवारको खुसीको संसार जेठ ३१ मा आएको पहिरोले उजाड बनाइदियो ।

पर्वतको कुस्मा नगरपालिका–३ दुर्लुङ्गको काउले ढकालबारीमा गएको पहिरोमा तुलबहादुर थापा, लकडाउनमा माइतीमा आएकी थापाकी छोरी दिर्पा र कमला विकको परिवारका ९ जनाको मृत्यु भयो ।

घरमा बसेका सबैको मृत्यु भए पनि घरभन्दा ५ सय मिटर पर भाडाको घरमा पसल गर्दै आएका तुलबहादुरका छोरा अमर र श्रीमती तथा बैदेसिक रोजगारीमा रहेका कमल विक ज्युँदै छन् । पहिरोमा घर–परिवार गुमाएको झन्डै एक महिना भयो ।

तर, खुसीको संसार उजाड बनाउने पहिरोमा पुगेर राम्ररी हेर्न पनि सकेका छैनन् अमर र विकासले । ‘हिम्मत जुटाएर पहिरोसम्म त पुगे तर, देख्नेवित्तिकै रिंगटा लागेर ढल्न पुगे’ श्रीमती, छोरा र छोरी गुमाएपछि एक्लो बनेका विकासले भन्नुभयो– ‘मैले विदेशमा पसिना बगाएर बसाएको संसार उजाडिएको छ ।’

घर–परिवारको सुन्दर भविष्यको सपना बोकेर साउदी अरब फर्किएको मात्र ८ महिना पुगेको थियो कमलाको । परिवारको खुसीका लागि साउदी अरबमा दिनभर ड्युटी सकी १४ वर्षीय छोरा जेनिश विकलाई फोन गरेर डाटा खोल्न भनेका थिए, भिडियोमा कुराकानी गर्न । मोबाइलमा पैसा नभएको बताएर आमासँग बोल्ने योजना छोराले सुनाए तर त्यो कहिल्यै पूरा हुन सकेन । ‘मेलापातबाट फर्केकी श्रीमतीसँग खानपिनपछि बोल्नका लागि कल गरें तर कहिल्यै नउठ्ने गरी बन्द भएको रहेछ फोन पनि ।’ – विकासले बताउनुभयो ।

पहिरोमा विकासका कमला विकसँगै छोरा जेनिश र छोरी प्रमिशाको मृत्यु भयो । तुलबहादुर थापा, श्रीमती मीना, नाति सम्राट र विनिशाको ज्यान गयो । माइत आएकी तुलबहादुरकै छोरी दिर्पा र मामाघरमा पुगेका नाति विवेक पनि पहिरोमा परेर नफर्कने गरी गएका छन् ।

पहिरोमा आमाबाबु र आफैंले जन्माएका छोराछोरी तथा बहिनी र भाञ्जा गुमाएका मृतक तुलबहादुर थापाका छोरा अमरबहादुर पनि रोएरै दिन बिताउनुहुन्छ । ‘न पालनपोषण गर्ने आमाबाबु रहे न जन्माएका छोराछोरी नै जीवनमा यस्तो बज्रपात कसैलाई नपरोस् ।’ – थापाका भन्नुहुन्छ ।

अमरकी श्रीमती दिनभर सासूससुरासँगै बारीमा कोदो रोपेर पसल चलाएको घरमा आउनुभएको थियो । छोरा सम्राट र छोरी विविशा हजुरबा–आमासँगै बसेका थिए । आफू र श्रीमती घरभन्दा २ सय मिटर टाढा रहेको पसलमा रहेकाले बाँच्न सफल भएको उहाँले बताउनुभयो । ‘एक घण्टा अघिसम्म सबै सँगै थिए, एक घण्टापछि ६ जना नै नफर्कने गरी गए’, उहाँले भन्नुभयो– ‘यस्तो विपत्ति कसैलाई पनि नपरोस् ।’