‘प्रहरीको बर्दीमा दाग लाग्न दिन्न’


नेपाल समाचारपत्र, काठमाडौं

प्रहरी महानिरीक्षकमा पदोन्नति हुनुभएका शैलेश थापा क्षत्री दज्र्यानी चिन्हबाट सुशोभित हुनुभएको छ ।
बिहीबार गृह सचिव महेश्वर न्यौपानेले प्रहरी महानिरीक्षक थापालाई दज्र्यानी चिन्ह प्रदान गर्नुभएको थियो ।

गृहसचिव न्यौपानेले प्रहरी महानिरीक्षक थापा क्षत्रीलाई बधाई तथा कार्यकाल सफलताको कामना गर्नुका साथै प्रहरी संगठनको गरिमा एवम् छविलाई अझ उचाइमा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

प्रहरी संगठन प्रमुखको नियुक्ति आमनागरिकको चासो र चर्चाको विषय हुने उल्लेख गर्दै गृहसचिव न्यौपानेले त्यो चासो, चर्चा भइरहँदा प्रहरी संगठनको प्रमुखको नियुक्तिमा मर्यादित, स्वस्थ र सालिन किसिमको व्यवहार सम्भावित उम्मेदवारबाट प्रस्तुत भएकोमा अत्यन्तै सराहनीय रहेको र भोलिका पुस्ताले अनुकरण गर्न योग्य रहेको बताउनुभयो ।

गृह सचिव न्यौपानेले राष्ट्र तथा नागरिकको अपेक्षाअनुरुप शान्तिसुरक्षा अमनचयन कायम राख्ने, अपराध नियन्त्रणमा अझ कुशलता प्रदर्शन गर्ने, प्रविधिमैत्री अनुसन्धान पद्धतिलाई अगाडि बढाउने, नागरिककै साथीका रुपमा प्रहरीलाई अझ क्रियाशील तुल्याउने, प्रहरीको नागरिकप्रतिको सम्मानलाई अझ उच्च बनाउन आग्रह गर्नुभयो ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक थापा क्षत्रीले व्यावसायिक निष्ठाकासाथ राष्ट्रसेवामा पु¥याएको योगदानको उच्च मूल्यांकन गर्दै सरकारले आफूलाई नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा पदोन्नति गरेकोमा प्रधानमन्त्री तथा गृह मन्त्रालयप्रति हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो ।

संविधान, ऐन र नियमले निर्दिष्ट गरेको सीमाभित्र रहेर गृह मन्त्रालयको निर्देशनमा सिंगो प्रहरी संगठनलाई साथ लिएर आफ्नो क्षमता र विवेकले भ्याएसम्म निःस्वार्थरुपमा नेपाल प्रहरी समक्ष रहेको अपेक्षामा खरो उत्रने इमानदार प्रयास गर्ने बताउँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले भन्नुभयो–‘प्रहरी महानिरीक्षक एक्लैले सबै अपेक्षा पूरा गर्न सक्दैन, प्रहरी महानिरीक्षकको सफलता वा असफलता देश, सरकार संगठनको सफलता असफलतासँग गाँसिएको हुन्छ, यसको निम्ति उचित निर्देशन भरपर्दो सहयोगी र स्वस्थ्य आलोचनाको आवश्यकता हुन्छ ।’
‘हामी कानुन कार्यान्वयन गर्ने निकाय हौं, कानुन उल्लंघन गर्ने निकायको रुपमा रुपान्तरण हुन कुनै पनि

हालतमा हुँदैन’, उहाँले भन्नुभयो– ‘कसैले पनि बर्दीमा दाग लगाउने कोसिस गर्छ भने उसमाथि निर्मम रुपमा कारवाही प्रक्रिया अगाडि बढाइनेछ । उहाँले आगामी दिनहरुमा प्रहरी संगठनलाई संस्थागत निर्णयको आधारमा अगाडि बढाइने बताउनुभयो ।

२०२५ साल मंसिर २३ गते भक्तपुर सूर्यविनायक नगरपालिका–५ मा जन्मनुभएका प्रहरी महानिरीक्षक थापा क्षत्री २०४९ वैशाख १९ गते प्रहरी निरीक्षक पदबाट नेपाल प्रहरीमा सेवा प्रवेश गर्नुभएको थियो । उहाँ २०५८ फागुन १० गते प्रहरी नायब उपरीक्षक, २०६७ पुस २० गते प्रहरी उपरीक्षक, २०७४ साउन १९ गते प्रहरी वरिष्ठ उपरीक्षक, २०७५ असोज २८ गते प्रहरी नायब महानिरीक्षक, २०७६ चैत ९ गते प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनुभएको थियो ।