पहिरोले पार्वतीको गाँस, बास, कपास सबै खोस्यो


दार्चुला, (नेस)

महाकाली नगरपालिका‐१ श्रीबगरस्थित सडककिनारमा पसल थापेर बसेकी पार्वती बमको घरमा पहिरो खस्दा उनको सर्वस्व नै गुमेको छ । सम्पत्तिको नाममा एउटा घरमात्रै रहेको पार्वतीको घरमाथि पहिरो खसेपछि अहिले उनीसहित परिवारको विचल्ली भएको छ ।

घरमै पसल थापेर दैनिक गुजरा चलाइरहेकी पार्वतीको घरमा पहिरो खस्दा उनको विचल्ली मात्रै भएको छैन, गाँस, बास र कपाससमेत खोसिएको छ । पहिरोले सबै खोसिदिएपछि के खाने र के लगाउने भन्ने पीरले पार्वती बेला‐बेला झस्किएर बेहोस् हुँदै थिइन् । ४ जहानको परिवार रहेको पार्वतीको गुजरा चलाउने ठाउँ नै पहिरोले लगेपछि अहिले उनी सबैसँग हारगुहार गरिरहेकी छन् ।

३ जना बालबच्चाको पालनपोषण गर्दै पसलसमेत सञ्चालन गरेकी पार्वतीका श्रीमान् विगत १ वर्षदेखि भारतको दिल्लीमा बस्दै आएका छन् । रोजगारीको सिलसिलामा भारत गएका उनका श्रीमान् कोरोना भाइरसका कारण लकडाउन भएपछि घर आउन नपाई उतै अड्किएका छन् । घरमाथि खसेको पहिरोले पार्वतीको दुईतले पक्की घर र पसल पूर्णरूपमा क्षति गरेको छ ।

ठूल्ठूला ढुंगासहित खसेको पहिरो पार्वतीको घरमाथि परेपछि पसलभित्र रहेको उनको सबै सरसमान, घरभित्र भएको सम्पत्ति, खाद्यान्न, लुगाकपडा सबै नष्ट भएको प्रहरीले मुचुल्का तयार पारेको छ । बुधबार बिहान करिब ८ बजेतिर खसेको पहिरोले क्षणभरमै पार्वतीका सबै सपना चक्नाचुर बनाइदिएको हो ।

पार्वतीको तत्कालको समस्या टार्न महाकाली नगरपालिकाअन्तर्गतको विपद् व्यवस्थापन शाखाले राहतस्वरूप खाद्यान्न र टेन्ट उपलब्ध गराएको नगरपालिकाले जनाएको छ ।

सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीले घरमाथिको अलि–अलि पहिरो हटाई क्षति नभएको सरसमान निकालेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वाटर दार्चुलाका गुल्मपति डम्बरबहादुर विष्टले जानकारी दिनुभयो ।