लमजुङमा पहिरोले घर पुरिँदा ३ को मृत्यु, ३ घाइते


न्युज अफ नेपाल, लम्जुङ ।

लमजुङको बेसीसहर नगरपालिका–७, सातबिसेमा दीपक तामाङको घर पहिरोले पुरिंदा एकै घरका तीन जनाको ज्यान गएको छ ।

घरधनि दीपक तामाङ, उहाँकी श्रीमती बिमाया तामाङ र छोरा सेवाङ तामाङको मृत्यु भएको लमजुङका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले जानकारी दिनुभयो । प्रहरीका अनुसार अरु तीन जना सामान्य घाइते भएका छन् ।

राति खाना खाएर सुतेको बेला ११ बजे माथिबाट आएको पहिरोले घर पुर्दा उनीहरु तीनै जनाको मृत्यु भएको डिएसपी थापाले बताउनुभयो ।

राति १२ बजे घटनास्थलमा पुगेको प्रहरी टोलीले पहिरोबाट तीनैजनालाई निकालेर जिल्ला अस्पताल पुर्‍याएको थियो। ‘अस्पताल पुर्‍याउनासाथ डाक्टरले तीनै जनालाई मृत घोषणा गरेका डिएसपी थापाले जानकारी दिनुभयो।

पहिरोले वरपरिका अन्य घरमा भने कुनै क्षति नगरेको प्रहरीले जनाएको छ। लमजुङमा बिहीबार साँझदेखि सुरु भएको वर्षा अझै थामिएको छैन।