वडा अध्यक्ष नै अध्यक्ष रहेको सहकारीको मलमा कालोबजारी


सञ्जय कार्की, रौतहट

मध्यखेतीको बेला भइरहँदा रासायनिक मलको अभावमा किसान मर्कामा परेका छन् । तर नेपाल सरकारबाट अनुदानमा प्राप्त हुने रासायनिक मल रौतहटका तीन सहकारी संस्थाले एजेन्टमार्फत कालोबजारी गरेको पाइएको छ ।

रौतहटको चन्द्रपुर नगरपालिका–१ बाग्मतीस्थित सृजनशील कृषि सहकारी संस्था लिमिटेड, बाग्मती वचत तथा ऋण सहकारी संस्था लिमिटेड र उन्नतिशील महिला कृषि सहकारी संस्था लिमिटेडको नाममा खरिद गरिएको रासायनिक मल कालोबजारी गरेको पाइएको छ ।

खरिद गरिएको रासायनिक मल आफ्ना शेयर सदस्य किसानलाई सहज ढंगले बिक्रीवितरण गर्नुको बदला सर्लाहीको बाग्मती नगरपालिका–१२ कर्मैया घर भई चन्द्रपुर नगरपालिका–१ स्थित बाग्मती बजारमा राहुल खाद्य उद्योग सञ्चालन गरी बसेका सत्यलाल साहमार्फत कालोबजारी गरेको पाइएको हो ।

मल कालोबजारीको आरोपमा साहलाई असार १५ गते प्रहरीले पक्राउ गरेपछि यसको रहस्य खुलेको हो । यस विषयमा अध्यक्ष रखालले आफूले किसानलाई वितरण गर्नका लागि भनेको तर कहाँ कसलाई वितरण गरेको गरेको बारे थाहा नभएको बताउृनुभयो ।

साहले सृजनशील कृषि सहकारी संस्था लिमिटेडको नामबाट युरिया १ हजार ६ सय ५२ बोरा, डीएपी ६ सय ५ बोरा, पोटास १ सय ३५ बोरा, यस्तै बाग्मती वचत तथा ऋण सहकारी संस्था लिमिटेडको नामबाट युरिया १ हजार २ सय १२ बोरा, डीएपी ५ सय ७५ बोरा, पोटास १ सय १५ बोरा र उन्नतिशील महिला कृषि सहकारी संस्था लिमिटेडको नामबाट युरिया २ हजार १ सय २४ बोरा, डीएपी ६ सय ८१ बोरा, पोटास १ सय ३० बोरा खरिद गरी मकवानपुर र सर्लाहीमा बढी मूल्यमा बिक्री गरेको आरोप लागेको छ ।

सृजनशील कृषि सहकारी संस्था लिमिटेडको अध्यक्ष स्वयम् चन्द्रपुर नगरपालिका–१ का अध्यक्ष बिरु रखाल हुन् भने उनको सहकारीको गत वर्ष हुनुपर्ने साधारणसभासमेत भएको छैन । तीनवटै सहकारी संस्थालाई अनुदानको मल दिन उनै वडाध्यक्ष बिरु रखालले कृषि सामग्री कम्पनी लिमिटेड चन्द्रनिगाहपुरलाई सिफारिस गरेको पाइएको छ ।

नेपाल सरकारको अनुदानित मल कृषि सामग्री कम्पनी लिमिटेडबाट सहकारी संस्थाले खरिद गरेको मलखाद्य किसानलाई बिक्रीवितरण गरेपछि कृषकसँग बिक्रीवितरण प्रतिवेदन बनाउनुपर्नेमा ती सहकारीले नबनाएको पाइएको छ । कालोबजारीमा संलग्न साह पक्राउ परे पनि उनीसँगको संलग्नतामा रहेकाको समेत खोजी हुनुपर्ने माग स्थानीयको रहेको छ ।

पक्राउ परेका साहलाई कालोबजारी ऐनअन्तर्गत म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताउनुभयो । सहकारीको नाममा अनुदानको मलखाद खरिद गरेर बाहिरी जिल्लाका किसानलाई चर्को मूल्यमा बिक्री गरेको गुनासोको आधारमा पक्राउ गरी साहमाथि अनुसन्धान गरिएको उहाँले बताउनुभयो ।