बेहुलासहित ५ जना पक्राउ


तनहुँ, (नेस)

विवाह भइरहेको अवस्थामा बेहुलासहित ५ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । प्रहरीले व्यास नगरपालिका–११ स्थित बालविवाह गर्ने/गराउने ५ जना पक्राउ गरेकोे हो ।

सो ठाउँकी १४ वर्षीया बालिकासँग गोरखाको सहिद लखन गाउँपालिका–२ का २३ वर्षीय सन्तोष अर्याललाई मण्डपबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

तिमिल्सिनाले उनीहरुको विधिवत् रुपमा बालविवाह हुँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको बताउनुभयो । ‘बालिका बेहुलीको पोसाकमा सजिएर घुम्टो ओडी, सिउँदोमा सिन्दुर समेत हाली सकेको र विवाह सम्पन्न भई अन्माउने अवस्थामा पक्राउ गरिएको हो’, उहाँले भन्नुभयो– ‘बेहुला, बेहुलाको बाबु, बेहुलीको बाबु, आमा र विवाह गराउने पण्डितसमेत ५ जनालाई नियन्त्रणमा लिइएको छ ।’

उनीहरुलाई कानुनबमोजिम बिहीबार तनहुँ जिल्ला अदालतबाट म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । नयाँ मुलुक संहिता २०७४ अनुसार विवाह गर्नका लागि केटाकेटी दुवैले २० वर्ष पूरा गरेको हुनुपर्ने नियम रहेको छ । २० वर्षमुनि विवाह भएमा बदर हुने संहितामा उल्लेख गरिएको छ ।