बाह्रबीसे जम्बुको बाढीमा दर्जनौं हताहत


नानीराम नेपाल, सिन्धुपाल्चोक

बुधबार मध्यरातमा बाह्रबीसे नगरपालिका–५ स्थित याल्मो खोलामा बाढी आउँदा दर्जन बढी घर संरचना ध्वस्त भएका छन् भने घटनामा परी दर्जनौं मानिसहरु हताहत भएका छन् ।

बिहीबार अबेरसम्म दुई जनाको शव फेला परेको छ । अन्य २० जना बेपत्ताको खोजीकार्य भइरहेको छ । मौसम प्रतिकूल भइरहेपछि बेपत्ताको खोजी तथा उद्धार गर्न कठिनाइ भएको छ । बिहीबार अबेरसम्ममा बाह्रबीसे नगरपालिका–५ जम्बुका २० वर्षीय निकेश बस्नेत र उनकी ३ वर्षीया छोरी नियोना बस्नेतको मात्र शव फेला परेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिनुभयो ।

बाढीमा परी बेपत्ता भएकाहरुको पहिचान भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बाह्रबीसे नगरपालिकाका १६ जना र भोटेकोसी गाउँपालिकाका ४ जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेहरुमा बाह्रबिसे—५ का भीमबहादुर वाइबा, चिनीमाया वाइबा, लीलामाया वाइबा, पासाङडोल्मा वाइबा, निमाडोल्मा वाइबा, लक्ष्मण वाइबा, सुनमाला वाइबा, जनकबहादुर वाइबा, सविना तामाङ, आकाश तामाङ, तोकबहादुर तामाङ, युक्तकुमार तामाङ, सुवेश तामाङ, सलिना तामाङ रहेका छन् ।

त्यसै गरी बेपत्ता हुनेमा मध्यभोटेकोसी जलविद्युत् आयोजनामा कार्यरत सुरक्षागार्ड हिमेश शर्मा, जाइकामा कार्यरत इन्जिनियर दाङ घोराही उपमहानगरपालिकाका आकाश केसी रहेका छन् ।

‘खाना खाएर सुत्ने तयारीमा थियौं, भीषण वर्षा हुन थालेपछि सुत्न सकेका थिएनौं’, जम्बुमा बसोबास गर्दै आएका जाइका परियोजनामा कार्यरत कपिल अर्यालले भन्नुभयो– ‘बाहिर निस्केर हेर्दा दुवैतिरबाट बाढी पसेर घरभित्र छिरिसकेछ ।’ आफूसहित दर्जनौं मानिसले हतारहतार जम्बुबाट पारिपट्टि मानेस्वाँरा पुगेर ज्यान बचाएको अर्यालले बताउनुभयो ।

अविरल वर्षाका कारण जम्बुस्थित ठाडोखोला (याल्मो) ले लेदो, ढुंगामाटो ल्याई जम्बु बजारमा पसेको थियो । स्थानीयका अनुसार जम्बु माथिका विभिन्न स्थानका ठाडाखोला अत्यधिक बढेर भोटेकोसीको बहाव बढ्न गयो। याल्मो, झ्याललगायत बाह्रबीसे उँभोका आधा दर्जन ठाडोखोलासँगै भोटेकोसी उर्लिएर आउँदा अरनिको मार्गका विभिन्न खण्ड कटान भएको छ ।

बिहीबार अबेरसम्म पनि बाढीको यकिन क्षति विवरण आउन सकेको छैन । प्राप्त विवरणअनुसार बाह्रबीसे नगरपालिका–५ जम्बुमा १३ घर क्षतिग्रस्त भएका छन् भने जम्बुमा नै रहेको निर्माणाधीन मध्यभोटेकोसी जलविद्युत् आयोजनाको स्टोर घर पुरिएको छ । बाह्रबीसेको खागदल बजारका केही घर क्षतिग्रस्त छन् ।

भोटेकोसी गाउँपालिकाको बुलकोट झ्यालेमा दुई घर बगाएका छन् । स्थानीय सरकारले ठाडो खोलाले माथिल्लो ग्रामीण भेगमा भने के कति क्षति भएको विस्तृत विवरण संकलन गरिरहेका छन् ।

बाढीपीडितको अवस्था बुझ्न सभामुख अग्निप्रसाद सापकोटा बिहीबार घटनास्थलमा आइपुग्नुभएको थियो । हेलिकोप्टरमा आउनुभएका सभामुखले हराइरहेकाहरुको खोजीकार्य र उद्धारमा खट्न सुरक्षा निकायलाई निर्देशन समेत दिनुभयो । सभामुख सापकोटाले उद्धार र खोजीकार्यमा आवश्यक पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

जम्बु बाढीले भोटेकोसी उर्लिँदा सुनकोसीको तल्लो तटीय क्षेत्रमा त्रास बढिरहेको छ । नदीको बहाव बढेपछि बाह्रबीसेभन्दा तल्लो तटीय क्षेत्रको जुरे, ड्यामसाइड, लामोसाँघु, खाडीचौर, बलेफी, सुकुटेलगायतका बजारबासी बुधबार रातभर जाग्राम रहे ।

बाढीपहिरोबाट विस्थापित बनेकाहरुलाई मध्यभोटेकोसी जलविद्युत् आयोजनाको आवास गृहमा राखिएको बाह्रबीसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाले बताउनुभएको छ । शेर्पाले भन्नुभयो– ‘विस्थापितलाई आयोजनाको आवास गृहमा राखिएको छ भने अन्य केहीलाई सुरक्षित स्थानमा टेन्टमा राखिएको छ । भोलि नै विस्थापितहरुलाई थप सुरक्षित स्थानमा सारिने उहाँको भनाइ छ ।

यसैबीच बाह्रबीसे नगरपालिकाले मृतकका परिवारलाई तत्काल किरिया खर्चबापत १ लाख रुपियाँ दिने निर्णय गरेको छ । नगरपालिकाले घाइतेहरुको सम्पूर्ण उपचारको व्यवस्था गर्ने निर्णय गरेको उपप्रमुख सुशीला पाख्रिनले बताउनुभयो ।