२८औं प्रहरी महानिरीक्षकमा थापा

को हुन् महानिरीक्षक थापा ?


मधुसूदन रायमाझी, काठमाडौं

नेपाल प्रहरीको २८औं प्रहरी महानिरीक्षकमा शैलेश थापा क्षत्री नियुक्त हुनुभएको छ । सरकारले एआईजी थापालाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको हो ।

थापा २०७६ साल फागुन १५ गते एआईजीमा बढुवा हुनुभएको थियो । गृह मन्त्रालयले जेष्ठता, कार्यक्षमता, र कार्यसम्पादन समेतको मूल्यांकनका आधारमा आईजीपीको बढुवा गर्न मन्त्रिपरिषद्मा सिफारिस गरेअनुसार मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई आईजीपीमा नियुक्त गरेको हो ।

२२ महिना प्रहरी संगठनको नेतृत्व सम्हाल्नुहुने थापा २०४९ वैशाख १९ गते प्रहरी निरीक्षकबाट नेपाल प्रहरीमा सेवा प्रवेश गर्नुभएको थियो । नेपाल प्रहरीमा चार वर्षयता भएका आईजीपी सिधै डीआईजीबाट नियुक्त भएकोमा यसपटक भने २८औं महानिरीक्षक एआईजीबाट नै नियुक्त भएका छन् । थापाले २०७९ वैशाख १८ गतेसम्म प्रहरी संगठनको नेतृत्व सम्हाल्नुहुने भएको छ । नेपाल प्रहरीका एआईजी थापा हाल मानवस्रोत एवं प्रशासन विभागको जिम्मेवारीमा रहनुभएको थियो ।

व्यावसायिक छवि बनाउन सफल हुनुभएका थापाको लामो समय राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज र प्रहरी महानिरीक्षकको सचिवालयमा विताउनुभएको अनुभव रहेको छ । इन्सपेक्टर, डीएसपी, एसपी, एसएसपी र डीआईजी हुँदासम्म एकेडेमी र सचिवालयमा काम गरेको लामो अनुभव छ । प्रहरी निरीक्षक हुँदा सल्यान र सिन्धुपाल्चोकमा काम गर्नुभएका थापाले डीएसपी हुँदा धादिङको प्रमुख, एसपी हुँदा कास्की र झापाको प्रमुख रहेर काम गर्नुभएको थियो ।

डीआईजी हुँदा महानगरीय प्रहरी कार्यालय रानीपोखरीको प्रमुख रहेर काम गर्नुभएका उहाँले नेपाल प्रहरीको दुईपटक प्रवक्ताको जिम्मेवारीसमेत सम्हाल्नुभएको थियो । सेवा प्रवेश गरेपछि दुईपटक बाहेक सधैं पहिलो नम्बरमा बढुवा हुन सफल हुनुभएका थापा संगठनभित्र व्यावसायिक र निष्कलंक छविका रुपमा चिनिँदै आउनुभएको छ ।

को हुन् महानिरीक्षक थापा ?
२०२५ साल मंसिर २३ गते भक्तपुर सूर्यविनायक नगरपालिका–५ साविक कटुन्जे गाविस–९ मा जन्मिनुभएका थापाले २०४९ वैशाख १९ गते प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गर्नुभएको थियो । थापाका बुबा पनि पूर्वडीआईजीबाट अवकाश हुनुभएको थियो ।

बुबाकै प्रेरणाबाट प्रहरी सेवामा प्रवेश गरेको बताउनुहुने महानिरीक्षक थापाले भक्तपुरको शारदा माध्यमिक विद्यालय व्यासीबाट २०४० सालमा एसएलसी उत्तीर्ण गर्नुभएको थियो । नेपाल कमर्स क्याम्पस मीनभवनबाट स्नातक गर्नुभएका थापाले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा एमए गर्नुभएको छ ।

थापाले नेपाली प्रहरी एकेडेमी, अमेरिकाको फेडेरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबीआई) र आर्मी स्टाप कलेजबाट ग्रेजुएसन गर्नुभएको छ । थापा बोस्निया, पूर्वी टिमोर र सुडान मिसनमा खटिनुभएको थियो । संगठनको कामको सिलसिलामा थापाले २२ भन्दा बढी देशमा सहभागी हुनुभएको थियो ।

थापाले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘प्रहरी सेवामा निवेदन दिँदा पहिलो नम्बरमा नाम निकाल्न सफल भएको थिएँ, दुईपटक बाहेक संगठनमा सधैं पहिलो नै भएँ ।’ पुस्तक अध्ययन गर्न रुचि राख्ने थापाले फुर्सदको समय आदर्श व्यक्तिहरुको संघर्ष र सफलताको कथा पढ्ने गरेको बताउनुहुन्छ । ‘पुस्तक पढ्दा अप्ठ्यारो परिस्थितिमा निर्णय लिन सजिलो हुन्छ, भाषामाथिको पकड बढछ’, उहाँले भन्नुभयो– ‘आदर्श व्यक्तिको जीवनी पढ्दा अप्ठ्यारोमा बाटो पहिल्याउन सजिलो हुन्छ ।

प्रहरी संगठनलाई निष्पक्ष र जिम्मेवार बनाउँछु

नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले आफ्नो कार्यकालमा प्रहरी संगठनलाई व्यावसायिक निष्पक्ष र जिम्मेवार बनाउने बताउनुभएको छ । उहाँले संगठनको मनोबल थप उच्च बनाउन भूमिका खेल्ने बताउँदै संगठनलाई प्रभावकारी ढंगबाट सञ्चालन गरिने बताउनुभएको हो ।

नेपाल समाचारपत्रसँग कुराकानी गर्दै महानिरीक्षक थापाले विगतमा प्रहरी संगठनको प्रमुख हुँदाको अवस्था सृजना नभएकोमा खुसी व्यक्ति गर्दै संगठनमा सबैको साथ र सहयोग लिएर मात्र अगाडि बढ्ने बताउनुभयो ।
‘विगतमा प्रहरी संगठनको प्रमुख हुने क्रममा देखिएको बेमेलका कारण संगठनलाई सकारात्मक प्रभाव पार्ने यसपटक त्यस्तो नकारात्मक असर पर्ने कुनै पनि काम भएन’ –उहाँले भन्नुभयो ।

प्रहरी संगठन भनेको इमरर्जेन्सी सेवा पनि भएकाले तत्काल निर्णय लिनका लागि आफू नहिच्किचाउने बताउँदै थापाले संगठनको नीतिगत रुपमा लिनुपर्ने निर्णय अधिकृतहरुसहितको समझदारीमा मात्र लिने बताउनुभयो ।
उहाँले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि प्रहरी संगठनले खेल्नुपर्ने भूमिकालाई थप प्रभावकारी बताउनेतर्फ ध्यान दिने बताउँदै प्रहरी संगठन संघीयतामा रुपान्तरण हुने क्रममा रहेकाले प्रभावकारी व्यवस्थापनमा ध्यान दिने बताउनुभयो ।

‘मेरो मुख्य ध्यान दिनरात खटिने संगठनका तल्ला तहका कर्मचारीहरुको मनोबल माथि उठाउनु हुनेछ, संगठनका कर्मचारीहरुको सेवा सुविधा बनाउन पनि भूमिका निर्वाह गर्छु’, थापाले भन्नुभयो– ‘संगठनलाई थप व्यवसायी, निष्पक्ष र जिम्मेवार बनाउने काममा अहोरात्र लाग्नेछु ।’