पत्रकारिताको १० महिने तालिम अनलाइनबाट

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

व्यावसायिक पत्रकारिता प्रशिक्षणका लागि चर्चित मुलुकको पहिलो संस्था नेपाल प्रेस इन्ष्टिच्यूटले १० महिने पत्रकारिता तालिमको ३६औं समूहको प्रशिक्षण यही असार १७ गतेदेखि सुरु गरेको छ । ‘यस वर्षदेखि हामीले दूर शिक्षा प्रणालीको प्रयोग गर्दै प्रशिक्षण सुरु गरेका छौं, मुलुकको विभिन्न जिल्लाका २१ प्रशिक्षार्थी पत्रकार भर्ना भएर तालिम लिइरहेका छन्’ तालिम संयोजक वरिष्ठ पत्रकार कपिल काफ्लेले जानकारी दिनुभयो ।

यस तालिमको संरचनाअनुसार पहिलो ६ महिना प्रत्यक्ष कक्षागत तालिम हुने र बाँकी चार महिना कार्यक्षेत्रमा प्रयोगात्मक अभ्यास गराइने रहेको छ । प्रत्यक्ष तालिममा ६० प्रतिशत प्रयोगात्मक र ४० प्रतिशत सैद्धान्तिक ज्ञान दिइने पनि संयोजक काफ्लेले जानकारी दिनुभयो ।

जूम क्लाउड र माइक्रोसफ्ट टिम प्रयोग गरेर कक्षा सञ्चालन भइरहेको बताउँदै काफ्लेले तराई–पहाड सबै क्षेत्रबाट सहभागीहरु एकसाथ भर्चुअल कक्षामा भेला भएर पढ्ने अवस्था सिर्जना गरिने भएकाले विद्यार्थीको रुचि बढेको बताउनुभयो ।

लामा–छोटा तालिम गरी करिब पाँच हजार विद्यार्थीलाई प्रशिक्षण दिइसकेको एनपिआईले दूर शिक्षा प्रणालीबाट तालिम दिएपनि अन्तिम परीक्षाका लागि भने सहभागीलाई भौतिक उपस्थिति नै गराउनेछ ।