क्वारेन्टाइनमा मृत्यु भएका युवामा कोरोना पुष्टि


सिर्जना पन्त, बाग्लुङ

क्वारेन्टाइनमा मृत्यु भएका बाग्लुङको निसीखोलाका युवामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । निसीखोला गाउँपालिका–२ का २९ वर्षीय सुनील विश्वकर्माको ढोरपाटन नगरपालिका–४ खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टाइनमा आइतबार बिहान मृत्यु भएको थियो ।

विश्वकर्मा चार वर्ष पहिलेबाट क्षयरोगको बिरामी रहेको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख मिलन मल्लले जानकारी दिनुभयो । असार २ गते भारतबाट फर्किएका विश्वकर्मा ढोरपाटन नगरपालिकास्थित ससुरालीमा होम क्वारेन्टाइनमा बस्नुभएको थियो । श्रीमती र छोराछोरीसहित असार १२ गते स्वाब संकलनका लागि ढोरपाटन नगरपालिका–४ खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टाइनमा पुगेका विश्वकर्माको परिवारलाई सोही दिनबाट क्वारेन्टाइनमा राखिएको वडा अध्यक्ष तीलक पुनले बताउनुभयो ।

श्रीमती, २ छोरी र १ छोराको समेत स्वाब संकलन गरी पठाइएकोमा मृतक विश्वकर्मा र एक छोरीको मात्र रिपोर्ट आउन बाँकी थियो । १ छोरी, छोरा र श्रीमतीको कोरोना रिपोर्ट यसअघि नै नेगेटिभ आएको भए पनि विश्वकर्माको स्वास्थ्य अवस्था नाजुक भएका कारणले सपरिवार क्वारेन्टाइनको एउटै कोठामा बसिरहेको वडा सचिव देवेन्द्र बस्यालले जानकारी दिनुभयो । ‘स्वाब संकलन गरेर पठाएको ९ दिनमा मृत्यु भएपछि मात्र विश्वकर्माको पोजेटिभ रिपोर्ट आएको छ ।’ –बस्यालले भन्नुभयो ।

विश्वकर्माको शव ढोरपाटन नगरपालिका–४ स्थित लुकुरवाङ खोलामा नेपाली सेना र नेपाल प्रहरीको टोलीले व्यवस्थापन गर्ने तयारी गरिरहेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिनुभयो ।