४ करोड ८५ लाख ठगी गर्ने योजनाकार पक्राउ


काठमाडौं, (नेस)

अनधिकृत रुपमा विभिन्न व्यक्तिको खातामा रहेको रकम रकमान्तर गर्ने कार्यमा संलग्न रहेका धादिङका सौजन तामाङलाई प्रहरीले पक्राउ गरेको छ । उनले कृषि विकास बंैक मुख्य कार्यालय तथा शाखा कार्यालय न्युरोडबाट संगठित रुपमा बैंकको वित्तीय प्रणालीमा रकमान्तर गरेका थिए ।

तामाङले कृषि बिकास बैंक शाखा कार्यालय न्युरोडबाट सुनिता श्रेष्ठको खाताबाट ४९ लाख ५० हजार रकमान्तर गरी ९ लाख ५० हजार भुक्तानी लिएका थिए । त्यसै गरी तामाङले श्रवणकुमार श्रेष्ठको खातामा २० लाख रकमान्तर गरी चेक पेस गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।

विभिन्न व्यक्तिले आफ्नो खाताबाट रकम हराएको उजुरी प्रहरीमा दिएपछि प्रहरीले अनुसन्धान थालेको थियो । यसै क्रममा तामाङलाई शंकाको आधारमा पक्राउ गरी सोधपुछ गर्दा उक्त कार्यमा आफ्नो संलग्नता रहेको बताएका थिए । तामाङसहित सुनिता श्रेष्ठ, श्रवणकुमार श्रेष्ठलगायतले ४ करोड ८४ लाख ६० हजार रुपियाँ भुक्तानी लिएको प्रहरीले जनाएको छ ।

सो घटनामा संलग्न रहेका २१ जनालाई प्रहरीले यसअघि नै पक्राउ गरी कारबाही गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले तामाङले एक्लै ४९ लाख ५० हजार रकम निकाल्न सफल भएको जानकारी दिनुभयो ।