सहमति जुटाउन ओली–प्रचण्डको दौडधुप


नेपाल समाचारपत्र, काठमाडौं

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आइतबार भएको वार्तामा सहमति जुट्न सकेन । अध्यक्षद्वय ओली र प्रचण्डको आ–आफ्नै अडानका कारण सहमति जुट्न नसकेको हो ।

पार्टी विभाजन हुन नसक्ने अध्यक्ष ओलीको अभिव्यक्तिपछि नेकपाभित्र तरङ्ग पैदा गरेको छ । शीर्ष नेताबीच दौडधुप चलिरहेको बेला आइतबार दुई अध्यक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता भएको हो ।

आफ्ना पक्षमा दुईदुई जना नेता पनि सँगै राखेर प्रधानमन्त्री निवास बालुवाटारमा उहाँहरुले आइतबार झन्डै डेढ घन्टा छलफल गर्नुभएको थियो । छलफलमा प्रधानमन्त्री ओलीका तर्फबाट उहाँ निकट महासचिव विष्णु पौडेल र प्रदेश नम्बर ५ का मुख्यमन्त्रीसमेत रहनुभएका स्थायी समिति सदस्य शंकर पोखरेल सहभागी थिए ।

त्यसैगरी प्रचण्डसँगै ऊर्जा मन्त्रीसमेत रहेका स्थायी समिति सदस्य वर्षमान पुन र जनार्दन शर्मा छलफलमा सहभागी भएका थिए । छलफलबाट ओली र प्रचण्ड उठे पनि दुवै पक्षका चार नेता भने बालुवाटारमा लामो छलफल गरेका थिए ।

राष्ट्रपति–शीर्ष नेता भेट
आफूलाई हटाउने र राष्ट्रपतिलाई समेत महाभियोग लगाउने तयारी भएको प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिपछि नेकपाका शीर्ष तीन नेताले राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गर्नुभएको छ ।

आइतबार तीन शीर्ष नेता कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल शीतल निवास पुगेर वास्तविकता प्रस्ट पारेका हुन् ।

त्यसक्रममा तीनै नेताले आफूहरुले राष्ट्रपतिलाई विवादमा तान्ने कुनै प्रयास नगरेको र त्यो सोच्न पनि नसक्ने विषयमा छलफल गर्नुभएको हो ।

नेताहरुले यस्तो भ्रम बालुवाटार निकटका केही व्यक्तिहरुले फैलाएको हुन सक्ने भन्दै प्रोपोगान्डाका पछि लाग्न नहुने राष्ट्रपतिलाई विश्वस्त पार्नुभएको थियो । नेताहरुको धारणा सुनेपछि राष्ट्रपति भण्डारीले आफूले पनि त्यस्तो सोच्दै नसोचेको जवाफ दिनुभएको थियो ।