बढ्दो संक्रमण



काठमाडौं उपत्यकामा अब समुदायस्तरमा नै कोरोना भाइरसको संक्रमण देखापरेको छ । काठमाडौंको रैथाने र कोठाभाडामा बसेकालाई पनि कोरोना भाइसर देखिएका कारण यहाँ समुदायस्तरमा नै त्यसको संक्रमण भएको अनुमान लगाउन सकिन्छ । सम्बन्धित चिकित्सकहरूले पनि काठमाडौं उपत्यकामा समुदायस्तरमा कोरोना भाइरसको संक्रमण भएका कारण स्थिति भयावह हुन सक्ने आँकलन गर्न थालेका छन् ।

काठमाडौं उपत्यकामा हालसालै देखिएका संक्रमितमध्ये केही विदेशबाट आएकाहरूसँग सम्पर्कमा थिएनन् । उनीहरूका परिवारका सदस्यलाई पनि संक्रमण देखिएको थिएन, न त उनीहरू विदेशमा नै गएका थिए ।

उनीहरूमा कसरी कोरोना भाइरसको संक्रमण भयो भनेर सम्बन्धित विज्ञहरूले खोजी गरिरहेका भए पनि स्थिति डरलाग्दो हुन लागेको संकेतका रूपमा यसलाई बुझ्नुपर्छ । बजारको चहलपहल हेर्दा कोरोना भाइरसको कुनै पनि संक्रमणको जोखिम छैन जस्तो लाग्छ ।

सरकारी अड्डाहरूमा भौतिक दूरी कायम भएको पाइँदैन । प्रहरीले हिरासतमा राखिएकाहरूलाई जथाभावी भ्यानमा कोचेर अड्डा अदालतमा म्याद थपलगायतका कार्यमा लगिरहेको देखिन्छ । जम्मा ८÷९ जना अट्ने त्यस्तो भ्यानमा कोचाकोच गरी १७/१८ जना राखिएको पाइन्छ ।

प्रहरी कार्यालयबाट अड्डा अदालतसम्म कोचाकोच गरी लगिएका भ्यानहरू देख्दा बाटोमा हिँड्नेले अचम्म मानेर जिब्रो टोक्ने गरेका छन् । यो दृश्य देख्नेहरूलाई प्रत्यक्ष-अप्रत्यक्षरूपमा केही न केही असर पर्ने नै हुन्छ । उनीहरूलाई भीडभाडमा जाँदा केही पनि हुँदैन कि भन्ने भान पर्नु स्वभाविकै हुन्छ । उपत्यकामा कोरोना भाइरसको संक्रमण विस्तारै बढ्नुमा यस्ता गतिविधि पनि नहोला भन्न सकिँदैन ।

गत बिहीबार मात्र उपत्यकामा ३२ जना संक्रमित देखिएका थिए । काठमाडौंमा १७ महिला र ११ पुरुष संक्रमित भएका सरकारी आँकडाबाट नै थाहा भएको छ । यसै गरी ललितपुर र भक्तपुरमा गरी दुई–दुई जनामा कोरोना भाइरस लागेको पुष्टि भएको छ । सबै गरेर उपत्यकामा मात्र १ सय ५६ जनामा पुष्टि भएको देखिएको छ ।

संक्रमणबाट सुरक्षित मानिँदै आएको काठमाडौं उपत्यकामा यही अनुपातमा संख्या बढ्दै जाने हो भने केही दिनमा नै भयावह स्थिति आउने निश्चित छ । कोरोना भाइरसबाट बच्न सरकारका सम्बन्धित निकायहरूबाट बारम्बार सूचना जारी गर्दा पनि त्यसको पालना गर्न आनाकानी गरिरहेका छौं ।

सूचनामा बताइएअनुसार भीडभाडमा जाँदा अनिवार्य माक्स प्रयोग गर्नैपर्छ । त्यसपछि बेला–बेलामा साबुनपानीले हात धुन पनि उत्तम उपाय मानिएको छ । सबैभन्दा ध्यान दिनुपर्ने विषय भनेको जोरजुलुस गर्दा एक–अर्काको नजिक जानै हुन्न ।

उपत्यकालाई बढी संक्रमण हुनबाट जोगाउन यस्ता सुझावहरू सबैले पालना गर्नै पर्छ । सुरक्षाकर्मीहरूले पनि एक–अर्कामा सामाजिक दूरी कायम गरेको देखिँदैन । उनीहरू पनि सजग हुनै पर्छ । सर्वसाधारण, प्रहरीलगायत समूदायका सम्पूर्ण वर्गले संक्रमण हुन नदिने उपायहरूको अवलम्बन गरी काठमाडौं उपत्यकालाई त सुरक्षित गर्नु छ नै मुलुकका यस्ता घना बस्तीलाई विशेष रूपमा बचाउन पर्ने देखिन्छ । यसो भनेर अन्य क्षेत्रलाई ध्यान नदिए पनि हुन्छ भन्ने अर्थ गर्न खोजिएको भने होइन । सतर्कता देशव्यापी आवश्यकताको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्