थाइराइड वृद्धि : भ्रम र यथार्थ

0
Shares

लक्ष्मण अधिकारी

आजकल कुनै रोग तुरुन्तै निको भएन वा पटक–पटक दोहोरिन थाल्यो भने थाइराइड भयो होला भनेर जँचाउने सल्लाह दिने गरिन्छ । चिकित्सकहरु मात्र होइन, शुभचिन्तकहरु पनि सजिलैसँग ‘थाइराइड भयो होला’ भनेर अनुभव सुनाउन थालिहाल्छन् । अहिले नेपालका विशेष गरी शहरी क्षेत्रमा थाइराइड रोगलाई व्यापकरुपमा फैलिएको आमरोगका रुपमा लिन थालिएको छ । वास्तवमा हाल थाइराइड वृद्धि भएकै हो कि मानिसहरु हावाको पछि लागिरहेका छन् त ?

काठमाडौं डायबिटिक एन्ड थाइराइड सेन्टरका कन्सल्टेन्ट इन्डोक्रोनोलोजिस्ट डा. अंशुमाली जोशी भन्नुहुन्छ, ‘हामीले पाँचवटा जिल्लामा गरेको अध्ययनका आधारमा भन्नुपर्दा नेपालमा थाइराइड वृद्धिदर विश्वमा भएजस्तै ४.५ प्रतिशत छ । तर नेपालमा १०–१५ वर्षअघिसम्म ब्लड टेस्ट गर्ने ल्याबहरु सीमित भएका कारण रोगको निदानमा नै कठिनाइ थियो । यति धेरै ब्लड टेस्ट पनि हुँदैनथ्यो । ब्लड नमुना कलेक्सन गरेर हप्ता–पन्ध्र दिनमा एकचोटि टेस्ट गरिन्थ्यो । रिपोर्ट पाउन पनि महिना दिनसम्म लाग्थ्यो । तर अहिले ल्याबहरु व्यापकरुपमा खुलेका छन् । ब्लड टेस्टको रिपोर्ट एकैदिनमा आउँछ । थाइराइड जाँच्न सजिलो भएपछि धेरैले यसको जाँच गराउँछन्, जसले गर्दा रोग स्वाभाविकरुपमा धेरै देखिएको छ ।’

डा. जोशीका अनुसार नेपालमा थाइराइड बढ्नुको एउटा महत्वपूर्ण कारण हामीले दैनिक खाने नूनमा आयोडिनको मात्रा चाहिनेभन्दा बढी हुनु पनि हो । पहिला आयोडिनको कमीले गलगाँडको समस्या धेरै देखिएकाले नूनमा आयोडिन मिसाउन थालियो । हाल गलगाँडको समस्या घटेको पाइए पनि आयोडिनको मात्रा बढी भएकोले यसका कारण हुने हर्मोनसम्बन्धी रोगचाहिँ बढेको देखिएको छ ।

डा. अंशुमाली जोशी

डा. जोशी भन्नुहुन्छ, ‘थाइराइड बढ्नुको एउटा कारण इन्भाइरोमेन्टल टक्सिन अर्थात् इन्डोक्राइन डिसरप्टिङ केमिकल्स (Endocrine disrupting chemicals) को व्यापकता पनि हो । सेन्थेटिक एवं प्लास्टिकमा प्रयोग भएका रसायनहरुले हर्मोनसम्बन्धी रोग निम्त्याउँछ । त्यसकारणले प्लास्टिकको भाँडोमा चिया आदि तातो वस्तु राखेर खानुहुँदैन, प्लास्टिकका सामान छोएपछि राम्ररी हात धोएर खाने गर्नुपर्छ भनिएको हो । साथै रासायनिक मल र विषादीमा प्रयोग भएका केमिकलहरु पनि थाइराइड रोग वृद्धिका कारण हुन् । यसले थाइराइड मात्र नभई अरु हर्मोनसम्बन्धी रोगहरु पनि बढाएको पाइएको छ ।

डा. जोशीको भनाइअनुसार सबै थाइराइड इलाज गर्नुपर्ने खालको हुँदैन । बेला–बेलामा रुघा लागेर आफैँ ठीक भएजस्तै हुन्छ । तर टेस्ट गरेमा देखिन्छ । पहिला टेस्ट नै गरिँदैनथ्यो । त्यसैले कम देखिन्थ्यो । अहिले जुनसुकै किसिमको थाइराइडको पनि टेस्ट हुन थालेपछि निश्चय नै अलि बढी देखिएको हो ।

नेपालमा थाइराइड परीक्षण गर्ने ल्याबहरुको व्यापक विस्तार भए पनि यो रोगको निदानचाहिँ तुरुन्तै भइरहेको पाइँदैन । थाइराइडको कारण उत्पन्न समस्याले बिरामी विभिन्न डाक्टर र अस्पतालमा भौँतारिएर उपचार गराइरहेको हुन्छ तर रोग निको भइरहेको हुँदैन । निकै लामो उपचारपछि मात्र उसलाई थाइराइडको परीक्षणका लागि पठाइन्छ । किन चिकित्सकहरुले उसलाई शुरुमै थाइराइडको परीक्षण गरेर उपचारका लागि पठाउँदैनन् त ?

इन्डोक्रोनोलोजिस्ट डा. अंशुमाली जोशी भन्नुहुन्छ, ‘थाइराइड नामक ग्रन्थिले निकाल्ने थाइराइड हर्मोन टाउकोको कपालदेखि खुट्टाको नङसम्म शरीरका सबै अंगलाई चाहिने हर्मोन हो । यो हर्मोनमा गडबडी भयो भने यसको असर पनि त्यसै गरी कपालदेखि खुट्टाको नङ जहाँ पनि पर्न सक्छ । थाइराइडकै समस्या भए पनि पहिले नै थाहा हुँदैन । जस्तो– छालाको समस्या भयो भने, कपाल झर्न थाल्यो भने पहिले बिरामी छालाको डाक्टरकहाँ जान्छ । पेटको समस्या भयो भने मानिसहरु पहिले पेटको डाक्टरकहाँ जान्छन् । पेटको समस्या पनि कहिलेकाहीँ थाइराइडको कारणले हुन्छ । यस्तै मुटुको समस्या कहिलेकाहीँ थाइराइडको कारणले हुन्छ । तर मुटुको समस्या हुँदा मानिस पहिले मुटुको डाक्टरकहाँ जान्छन् । मुटुको मात्र उपचार गरेर निको भएन भने अरु टेस्टहरु गर्न थालिन्छ । यसमा थाइराइडको परीक्षण पनि गरिन्छ ।

त्यसपछि थाहा हुन्छ, थाइराइड भन्ने । त्यो भन्दा अघि निकै लामो समयसम्म मानिस अरु नै रोगको डाक्टरकहाँ अल्मलिइरहेका हुन्छन् । परीक्षण नगरी थाहा हुँदैन । जुन लक्षण देखिएको हो, पहिले त्यसैको आधारमा उपचार गरिने भएकाले थाइराइड पत्ता लाग्न गाह्रो भएको हो । तर परीक्षण गरेपछि सजिलै पत्ता लाग्छ ।’

काठमाडौं डायबिटिक एन्ड थाइराइड सेन्टरमा थाइराइडको उपचार गर्न आएकी काठमाडौंकै एकजना महिला बिरामीले मुटुको ढुकढुकी बढेका कारण मुटुको डाक्टरकहाँ एक महिना उपचार गराएको तर निको नभएपछि मुटुकै डाक्टरको सल्लाहमा यस सेन्टरमा थाइराइडको उपचार गर्न आएको बताइन् ।

त्यस्तै अर्को एक पुरुष बिरामीले चाहिँ बराबर डाइरियाले दुःख दिएको तर पेटसम्बन्धी चिकित्सकको उपचार प्रभावकारी नदेखिएपछि उनकै सल्लाहमा पहिलोचोटि थाइराइड परीक्षणका लागि आएको बताए ।

थाइराइड रोग विशेषज्ञ डा. अंशुमाली जोशीका अनुसार थाइराइड आफैंमा ठूलो रोगचाहिँ होइन, पत्ता नलागेसम्म दुःख दिने खालको मात्र रोग हो । पत्ता लागेपछि इलाज गर्दा खासै ठूलो होइन । यसको औषधि पनि भिटामिन खाएजस्तै हो । साइडइफेक्ट केही हुँदैन ।

थाइराइड भएको कसरी चिन्ने ?
डा. जोशीका अनुसार थाइराइड हर्मोन गडबडी भएर टाउकोदेखि खुट्टासम्मका अंगमा जे पनि हुन सक्ने भएकाले यो रोग भएको बिरामीले सहजै थाहा पाउँदैनन् तर पनि केही लक्षणका आधारमा अनुमान गर्न भने सकिन्छ । जस्तो– थाइराइड हर्मोन कम भयो भने थकाइ बढी लाग्ने, निद्रा बढी लाग्ने, आलस्य हुने हुन्छ । काम गर्न जाँगर नलाग्ने, मोटाउने, सुन्निएको जस्तो हुने हुन्छ । जाडो बढी लाग्ने, कब्जियत बढी हुने, खाना बढी रुच्ने, महिलाहरुमा महिनावारी गडबड हुने, छाला–नङ खस्रो हुने आदि लक्षण देखिन्छन् ।

हर्मोन बढी हुँदाचाहिँ तौल घट्ने, मुटु ढुकढुक हुने, हात काम्ने, झाडा लाग्ने, निद्रा नलाग्ने, पसिना बढी आउने, गर्मी बढी लाग्ने आदि लक्षण देखिन्छन् । घाँटीमा डल्लो आयो भने त बिरामी आफैंले छामेर पनि थाहा पाउँछन् । डल्लो आएको थाहा पाइने तर त्यसका अरु लक्षण नदेखिने पनि हुन सक्छ ।

थाइराइड भएका महिला गर्भवती हुँदैनन्, गर्भवती भए पनि बच्चा राम्रो हुँदैन भन्ने भ्रम रहेको पाइएको छ । तरथाइराइड भएकी महिलालाई उपचार गरेपछि न त गर्भ रहनमा कुनै बाधा पुग्छ, न पछि जन्मिने बच्चालाई नै असर पर्छ -डा. अंशुमाली

नेपालमा पुरुषलाई बढी

थाइराइड रोग संसारभर नै महिलाहरुलाई बढी हुन्छ भन्ने मान्यता छ । डा. जोशीका अनुसार विश्वमा प्रायः देशमा थाइराइडका बिरामीमध्ये ९० प्रतिशत महिलालाई यो रोग हुन्छ भने १० प्रतिशत पुरुषलाई भएको पाइएको छ । नेपालमा डा. जोशीको समूहले गरेको अध्ययनमा ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुषलाई भएको पाइएको छ । नेपालमा पुरुषहरुको लागि यो रोग बढी देखिएको छ । नेपालमा आयोडिनको मात्रा बढी खाएकाले यस्तो भएको हुन सक्ने दाबी डा. जोशीको छ ।

स्वास्थ्य मन्त्रालयले २०१६ मा ‘नेपाल नेसनल माइक्रोन्युट्रियन्ट स्टाटस सर्वे’ गर्दा नेपालीहरुले प्रयोग गरिरहेको नूनमा आयोडिनको मात्रा कति छ भनेर पनि अध्ययन गरेको थियो । यस क्रममा क्रिस्टल (crystal) रिफाइन्ड (refined) र क्रस्ड (crushed) गरी तीन किसिमका नूनको नमुना लिएको थियो । यस अध्ययनअनुसार सर्वेक्षणका लागि लिइएका सबै खालका नूनका नमुनाहरुमध्ये ६८ प्रतिशत नूनमा आयोडिनको मात्रा चाहिनेभन्दा बढी रहेको पाइएको थियो । ६८ प्रतिशन नमुनामा आयोडिनको लेवल ४० पीपीएम (ppm) भन्दा बढी पाइएको थियो । सोही सर्वेक्षण प्रतिवेदनमा दिइएको जानकारीअनुसार आयोडिनको मात्रा १५ देखि ४० पीपीएम भएमा ठीक मानिन्छ ।

सर्वेक्षणमा नमुनाका लागि लिइएको नूनमध्ये २३ प्रतिशत नूनमा मात्र आयोडिनको मात्रा १५ देखि ४० पीपीएम रहेको थियो । यसबाहेक करिब ९ प्रतिशत नूनमा आयोडिनको मात्रा १५ पीपीएमभन्दा पनि कम अर्थात् आयोडिनको मात्रा अपर्याप्त रहेको पाइएको थियो ।

तीन किसिमका नूनका नमुनाहरुमा पनि रिफाइन्ड नूनका ७६ प्रतिशत नमुनामा आवश्यकताभन्दा बढी लेवलमा आयोडिनको मात्रा पाइएको थियो । क्रस्ड नूनको नमुनामध्ये ५२ प्रतिशतमा र क्रिस्टिल नूनको ८ प्रतिशत नमुनामा आयोडिनको मात्रा मानिसलाई आवश्यकता पर्नेभन्दा बढी पाइएको थियो ।यस्तै गरी सो सर्वेक्षणमा आयोडिनमिश्रित नून खाने नेपालीहरुको पिसाबमा आयोडिनको मात्रा कति आइरहेको छ भनेर पनि परीक्षण गरिएको थियो । सो सर्वेक्षणमा ६ देखि ९ वर्षका बालबालिका, १४ देखि ४९ वर्षसम्मका महिला र १४ देखि ४९ वर्षसम्मका गर्भवती महिलाको पिसाबमा आयोडिनको मात्रा कति छ भनेर अध्ययन गरिएको थियो ।

यसरी सर्वेक्षण गर्दा ६ देखि ९ वर्षका सर्वेक्षणमा सहभागी बालबालिकाको पिसाबमा औसत प्रतिलिटर ३१४.१ माइक्रोग्राम आयोडिन पाइएको थियो ।

निकै लामो उपचारपछि मात्र उसलाई थाइराइडको परीक्षणका लागि पठाइन्छ । किन चिकित्सकहरुले उसलाई शुरुमै थाइराइडको परीक्षण गरेर उपचारका लागि पठाउँदैनन् ? – डा. गुरुवाचार्य 

यस्तै गरी १४ देखि ४९ वर्षसम्मका महिलाहरुको पिसाबमा प्रतिलिटर औसत २८६.२ माइक्रोग्राम आयोडिन पाइएको थियो । गर्भवती रहेका १४ देखि ४९ वर्षसम्मका महिलाहरुको प्रतिलिटर पिसाबमा २४१.३ माइक्रोग्राम आयोडिन पाइएको थियो । वरिष्ठ प्याथोलोजिस्ट डा. विजयलाल गुरुवाचार्यका अनुसार सो सर्वेक्षण गर्दा पिसाबमा पाइएका तीनै समूहको आयोडिनको मात्रा बढी छ । उहाँका अनुसार ६ देखि ९ वर्षका बालबालिकाको प्रतिलिटर पिसाबमा १०० देखि १९९ माइक्रोग्राम मात्र आयोडिनको मात्रा हुनुपर्छ ।

यस्तै गरी १४ देखि ४९ वर्षका महिलाको प्रतिलिटर पिसाबमा १५० देखि २४९ माइक्रोग्राम आयोडिन हुनुपर्छ । त्यस्तै १४ देखि ४९ वर्षसम्मका गर्भवती महिलामध्ये पहिलो त्रैमासिकमा प्रतिलिटर पिसाबमा १५० माइक्रोग्राम, दोस्रो त्रैमासिकमा १७६ माइक्रोग्राम र तेस्रो त्रैमासिकमा १७५ माइक्रोग्राम आयोडिन प्रतिलिटर पिसाबमा हुनुपर्छ । तर माइक्रोन्युट्रेन्ट सर्वेक्षणमा दिइएको तथ्यांकअनुसार पिसाबमा आयोडिनको मात्रा बढी पाइएको छ ।

डा. गुरुवाचार्यका अनुसार यदि आयोडिनको मात्रा बढी उपभोग भयो भने थाइराइड हर्मोनको कार्यक्षमतामा गडबडी आउँछ र थाइराइडसम्बन्धी रोग उत्पन्न हुन्छ ।

भ्रमका कारण बिहे गर्न नमान्ने

थाइराइड सम्बन्धमा विभिन्न भ्रम तथा अफवाह फैलिएका कारणले गर्दा केटाहरुले बिहे गर्ने बेलामा केटीलाई थाइराइड छ कि छैन भनेर समेत सोध्ने गरेको र थाइराइड रोग भएको जावाफ आएमा त्यस्तो केटीसँग बिहे नै नगर्ने चलन पनि आउन थालेको पाइएको छ । डा. जोशी यस किसिमको कुरा आपूmले पनि सुनेको तर यो पूर्णत भ्रमपूर्ण भएको बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, ‘थाइराइड भएकी महिला गर्भवती हुँदैनन्, गर्भवती भए पनि बच्चा राम्रो हुँदैन भन्ने भ्रम रहेको पाइएको छ । तर थाइराइड भएकी महिलालाई उपचार गरेपछि न त गर्भ रहनमा कुनै बाधा पुग्छ, न पछि जन्मिने बच्चालाई नै असर पर्छ । बरु थाइराइडको उपचार गरेन भनेचाहिँ बाँझोपन हुन सक्छ ।’

उहाँका अनुसार थाइराइड भएकाहरुले काउली, बन्दा, दूध, भटमास, माछा, मासु बार्नुपर्छ भन्ने पनि ठूलो भ्रम छ । तर यसमा कुनै खाना बार्नुपर्दैन । थाइराइड दुई किसिमको हुन्छ । एक किसिमको थाइराइड आफैं पनि ठीक हुन्छ । देखिनेबित्तिकै औषधि खानुपर्छ भन्ने छैन । अर्कोचाहिँ जीवनभर औषधि खानुपर्ने किसिमको हुन्छ । तर कतिपयले चाहिँ औषधि खानु नपर्नेमा पनि औषधि खाइरहेको पाइएको छ । डा. जोशीका अनुसार थाइराइड एउटा त हर्मोनसम्बन्धी गडबड हुँदा हुन्छ । अर्कोचाहिँ थाइराइडमा मासु पलाउने हुन्छ । जस्तो– गलगाँड आउने, क्यान्सर हुने हुन्छ । अध्ययन गर्दा थाइराइडको क्यान्सर पनि धेरै वृद्धि भएको पाइएको छ । यसको कारण मोटोपन, विकिरण पनि हो ।

थाइराइड : रोग साधारण हल्ला बढी

चिकित्सकहरुका अनुसार थाइराइड साधारण रोग हो । सही उपचार भएन भने यसले दुःख दिन्छ । हर्मोन कम भएको छ, उपचारबाट आपूर्ति गरिएको छैन भने यसकै कारण मृत्यु हुन सक्छ । थाइराइड निको हुने र नहुने दुई किसिमको हुन्छ । औषधि जीवनभर खानुपर्ने पनि हुन सक्छ, खानु नपर्ने पनि हुन सक्छ । यो परीक्षणबाट छुटिन्छ ।

केही वर्षअघिसम्म थाइराइडको उपचारमा प्रयोग हुने रेडियो एक्टिभ आयोडिन लगायतका केही उपचार नेपालमा थिएन, विदेश जानुपथ्र्यो । तर अहिले रेडियो एक्टिभ आयोडिनदेखि, थाइराइड क्यान्सरको उपचार नेपालमै हुन्छ । थाइराइडको कुनै पनि उपचारका लागि विदेश जानु नपर्ने डा. जोशी बताउनुहुन्छ । उहाँका अनुसार नेपालमा थाइराइडको उपचार भारतमा भन्दा निकै सस्तोमा हुन्छ । नेपालमा डायबिटिक सम्बन्धमा धेरै भ्रम र हल्ला भए पनि काउन्सिलिङ राम्रो हुने नगरेकाले अहिले मानिसहरुले यसलाई ठूलो रोगका रुपमा लिने गरेको हुँदा काठमाडौं डायबिटिक एन्ड थाइराइड सेन्टरले काउन्सिलिङमा जोड दिएको डा. जोशी बताउनुहुन्छ ।

थाइराइड सम्बन्धमा विभिन्न भ्रम तथा अफवाह फैलिएका कारणले गर्दा केटाहरुले बिहे गर्ने बेलामा केटीलाई थाइराइड छ कि छैन भनेर समेत सोध्ने गरेको र थाइराइड रोग भएको जावाफ आएमा त्यस्तो केटीसँग बिहे नै नगर्ने चलन पनि आउन थालेको पाइएको छ ।

(साधना मासिकबाट साभार)

https://sadhana.newsofnepal.com/