रहेनन् अभिधम्मका व्याख्याता

भिक्षु ज्ञाणपूर्णिकको ८१ वर्षमा निधन

42
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेपालका संघनायक (ज्येष्ठ) भिक्षु ज्ञाणपूर्णिक महास्थविरको निधन भएको छ ।

भिक्षुको ८१ वर्षको उमेरमा शुक्रबार ४ः ३५ बजे ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा निधन भएको उहाँका शिष्य भिक्षु निग्रोधले जानकारी दिनुभयो । भिक्षु निग्रोधका अनुसार एक वर्षअघि दुवै मृगौला बिग्रिएर नियमित डायलासिस गराउँदै आउनुभएका भिक्षुको पछिल्लो पटक प्रोस्टेट क्यान्सरको समेत उपचार गराउँने क्रममा निधन भएको हो ।

भिक्षुलाई गत बैशाख १८ गते सुमेरुमा भर्ना गरिएको थियो । सुमेरु अस्पतालका मृगौला विशेषज्ञ डा. ऋषिकुमार काफ्लेका अनुसार अस्पतालमा भर्ना भएदेखि उहाँलाई साताको तीन पटक डायलासिस गर्नुपरेको थियो। भिक्षुले २८ वर्षअघिदेखि उच्च रक्तचाप र मधुमेहको औषधी नियमित खाँदै आउनुभएको थियो । भिक्षुमा नशा र मुटुको पनि समस्या रहेको बुझिएको छ ।

भिक्षुको पार्थिव शरीरलाई हाल बानेश्वरस्थित विश्व शान्ति विहारमा राखिएको छ ।  उहाँलाई श्रद्धाञ्जली दिन विभिन्न बौद्ध संघसंस्थाका बौद्ध भिक्षु, भिक्षुणी, प्रतिनिधि, उपासक उपासिका, संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि विहारमा आउने क्रम चलिरहेको छ ।

उहाँको निर्वाण कामना गर्दै पाठ गर्ने कार्य विहारमा भइरहेको छ । अन्तिम श्रद्धाञ्जलीका उहाँको पार्थिव शरीरलाई शुक्रबार र शनिबार विहारमै राखेर आईतबार गुरुपूर्णिमाको दिन शंखमुलस्थित घाटमा दाहसंस्कार गरिने छ । यस विषयमा अखिल नेपाल भिक्षु महासंघको ठोस निर्णय आउन बाँकी रहेको छ ।भिक्षु महासंघको बैठक विहारमा बसिरहेको महासचिव भिक्षु कौण्डन्यले जानकारी दिनुभयो ।

स्वर्गीय भिक्षुलाई बुद्धधर्मको क्षेत्रमा निकै गम्भीर मानिएको चित सम्बन्धी विषय अभिधम्मको अध्येयता र कुशल व्याख्याताका रुपमा चिनिन्छ । बर्मा (म्यान्मार) मा धेरै पढिने बुद्धधर्म सम्बन्धी करिब ५० वटा ग्रन्थको नेपाल, नेपाली र अंग्रेजी भाषामा अनुवाद गरिसक्नुभएका भिक्षुको कृति, व्यक्तित्व अन्तर्राष्ट्रिय क्षेत्रमा निकै परिचित रहेको छ ।

वि.सं. १९९६ मंसिर ६ गते का दिन लुम्बिनी अञ्चल, पाल्पा सदरमुकाम तानसेनमा बुबा सूर्यलाल शाक्य र आमा चन्द्रमाया शाक्यको कान्छो छोराको रुपमा जन्मिनुभएको हो । भिक्षु हुनु भन्दा अघि उहाँको नाम हिरालाल शाक्य थियो ।

नेपालमा थेरवाद बुद्धधर्मको पुनर्जागरण पश्चात् पहिलो थेरवादी भिक्षु महाप्रज्ञा, प्रथम संघमहानायक भिक्षु प्रज्ञानन्द, आचार्य भिक्षु अमृतानन्दजस्ता वरिष्ठ भिक्षुहरुको प्रेरणा एवं आशिर्वाद उहाँलाई प्राप्त भयो । श्रद्धेय भिक्षु बुद्धघोष महास्थविरको अथक प्रयासले १६ वर्षकै उमेरमा बुद्धधर्मको उच्चशिक्षा त्रिपिटक अध्ययनका लागि उहाँ भारत हुँदै बर्मा वा म्यानमार पुग्नुभएको थियो ।

सन् १९५६ अगष्ट १५ का दिन बर्माका सुप्रसिद्ध अग्गमहापण्डित श्रद्धेय भिक्षु विशुद्धाभिवंस महास्थविरबाट श्रामणेर दिक्षा लिनुभई हिरालाल शाक्य श्रामणेर ज्ञानपूर्णिकको नामबाट बुद्धशासनमा प्रवेश गर्नुभएको उहाँका अर्का शिष्य भिक्षु बोधिज्ञान महास्थविरले जानकारी दिनुभयो ।