पीसीआर परीक्षणलाई व्यापक बनाउन आग्रह


नेपाल समाचारपत्र, काठमाडौं

नेपालमा कोरोना संक्रमणले समुदायमा भयावह स्थिति ल्याउन सक्ने चेतावनी नेपाल जनस्वास्थ्य संघले दिएको छ ।

संघले जारी गरेको विज्ञप्तिमा परीक्षण, ‘केस’ र कन्ट्रयाक ट्रेसिङ व्यापक नबनाए अवस्था भयावह हुन सक्छ भनिएको छ । कोरोना संक्रमण र मृत्यु सरकारको कमजोरीका कारण बढ्दै गएको भन्दै संघले सरकारले अहिले गरिरहेको प्रयास पर्याप्त नभएको आरोप लगाएको छ ।

संघले पत्रकार सम्मेलन आयोजना गरेर सरकारलाई १३ बुँदे सुझावसमेत दिएको छ । संघका अध्यक्ष श्रीकृष्ण भट्टले कोरोना समुदाय स्तरमा फैलिइसकेको दाबी गर्नुभएको छ । तीन तहको सरकार भएकाले एकअर्कोमा समन्वय नभएकै कारण कोरोना संक्रमण नियन्त्रणमा थप समस्या आएको अध्यक्ष भट्टले जानकारी दिनुभयोे ।

सरकारले कोरोना संक्रमणलाई हल्का रुपमा लिएको र विज्ञहरुसँग सहकार्यका लागि हात नफैलाएमा भोलिका दिनमा भयावह अवस्था आउने उहाँले दाबी गर्नुभयो ।

अध्यक्ष भट्टले कोरोना रोकथामका लागि संक्रमित व्यक्ति र कन्ट्रयाक ट्रेसिङ हुन नसकेको आरोप लगाउनुभयो । कन्ट्रयाक ट्रेसिङका लागि निर्देशिकाअनुसार पालिकास्तरीय समिति नबन्नु र पीसीआर परीक्षणका लागि पर्याप्त दक्ष जनशक्ति, ल्याब, उपकरण, स्वास्थ्यकर्मीको सुरक्षाजस्ता विषयमा सरकारले ध्यान दिन नसक्नुले कोरोना संक्रमणको महामारी बढेको संघले आरोप लगाएको छ ।

संघले स्थानीय तहमा कम्तीमा एक जना स्नातक तह अध्ययन गरेको जनस्वास्थ्यकर्मी परिचालन गर्न, कन्ट्रयाक ट्रेसिङको र केस इन्भेस्टिगेसन टिम गठन गर्न, आरडीटी परीक्षण तत्काल बन्द गर्न, क्वारेन्टाइनमा बसेकाहरूको कम्तीमा तीन दिनभित्र पीसीआर परीक्षणपछि रिपोर्ट दिने व्यवस्था गर्न पनि सरकारलाई आग्रह गरेको छ ।

संघका उपाध्यक्ष डा. कृष्णमान शाक्यले सरकारले दाबी गरेजस्तो विदेशबाट फर्किएका व्यक्ति र उनका परिवारमा मात्रै कोरोना सीमित नरहेको भन्दै उहाँले कोरोना संक्रमण समुदायमा फैलिइसकेको दाबी गर्नुभयो ।

नेपालमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, नवजात शिशुमा समेत कोरोना भाइरसको संक्रमण फैलिनुलाई समुदायमा फैलिएको नभनेर सरकारले ढाकछोप गरिरहेको उपाध्यक्ष शाक्यले आरोप लगाउनुभयो ।

संघका सचिव दीपेन्द्र खड्काले स्वास्थ्यकर्मी, प्राविधिको ज्ञान र सीपको मूल्यांकन गरी सही रुपमा सदुपयोग गर्न समेत सरकारलाई सुझाव दिनुभयो । नेपालमा स्नातकसम्मको शिक्षा हासिल गरेका विशिष्टीकृत जनशक्ति ६ हजारभन्दा बढी छन् दक्ष जनशक्तिलाई सही रुपमा प्रयोग गरेर देशमा आउन सक्ने महामारीलाई रोकथाम गर्न सकिने सुझाव सरकारलाई दिनुभयो ।

Press conference-edited