– डा. सुमनराज ताम्राकार
स्त्रीरोग विशेषज्ञ ।
नेपालमा लकडाउन लागू गरिएको ७० औं दिनमा बैतडीको जिल्ला अस्पतालमा १९ वर्षीया महिलालाई आकस्मिक सिजेरियन गरेर बच्चा निकालियो । ती महिलालाई उच्च ज्वरो आएका कारण आरडीटी परीक्षण गरियो, रिपोर्ट पोजिटिभ आयो । त्यसपछि उनको अपरेसन एवं उपचारमा संलग्न १९ जना स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा राखियो ।
लकडाउन वा अरु यस्तै परिस्थितिको कारण सहज यातायात नहुँदा, नियमित गर्भ जाँचको अभाव, स्वास्थ्य सेवाको पहुँचको कमी आदि कारणले गर्दा गर्भ लम्बिन गई विभिन्न समस्या निम्तिन सक्छ । लकडाउनका कारण त्यस घटनामा पनि यस्तै हुन गयो । गर्भावस्थाको ४३ हप्ता पुगिसकेकाले गर्भे शिशुवरिपरिको पानीको मात्रा निकै कमी भइसकेको थियो । यसले गर्दा सिजेरियनको आवश्यकता परेको थियो ।
महिना नाघेकी गर्भवती महिलालाई यथाशीघ्र स्वास्थ्य संस्था लगी चाँडो सुत्केरी गराउने उपाय गर्नुपर्छ । यस्ता महिलामा सुत्केरी व्यथा लामो हुन सक्ने र बच्चाको काँध अड्किन सक्ने हुनाले थप सजगता अपनाउनुपर्छ ।
स्वास्थ्य संस्थामा नियमित गर्भ जाँच गराइरहेका महिलाहरुमा भन्दा अन्य गर्भवती महिलामा गर्भ लम्बिने समस्या बढी हुन्छ । उनीहरुमा गर्भावस्थासम्बन्धी पर्याप्त जानकारी नहुने भएकाले पनि यस्तो हुन्छ । मानिसको गर्भ ४० हप्ता (२८० दिन) को हुन्छ । तर औसतमा १० देखि १५ प्रतिशत गर्भवती महिलाहरुमा गर्भावस्था लम्बिने समस्या हुन्छ । यसमा पनि ४२ हप्ता (२९४ दिन) भन्दा पछाडि गएको गर्भलाई भने राम्रो मानिदैन । करिब ८० प्रतिशत गर्भवती महिलाले सुत्केरी हुने मिति तोकिएको दुई हप्ता अघिदेखि एक हप्तापछिको अवधिमा बच्चा पाउँछन् । कुनै पनि महिलाको गर्भ ४० हप्ता नाघ्नेबित्तिकै आमा तथा गर्भे शिशुको स्वास्थ्यमा पर्न जाने प्रतिकूल असरको मात्रा ४० हप्ता नाघेको अवधिअनुसार बढ्दै जान्छ ।
स्वीडेनमा गरिएको एक अध्ययनअनुसार व्यथापूर्व तथा सुत्केरी व्यथा दौरान हुने शिशुको मृत्युको सम्भावना ४० हप्ताको दाँजोमा ४१ हप्तामा १।५ गुणा बढी भएको पाइएको थियो । यस्तै गरी ४२ हप्तामा २ गुणाले र ४३ हप्तामा ३ गुणाले वृद्धि भएको पाइएको थियो । त्यसै गरी एक अर्को अध्ययनअनुसार महिना नाघेपछि पेटभित्रै बच्चाको मृत्यु हुने सम्भावना ६ गुणाले बढेको पाइयो ।
गर्भावस्था लम्बिन सक्ने केही कारणहरुमा महिनावारी रोकिएको गलत गणना, वंशाणुगत कारण, पहिलो पटकको गर्भ, पहिले पनि लामै गर्भ अवधि भएको, एकै ठाउँमा आराम गर्ने बानी, गर्भवती महिलाको ढल्कँदो उमेर, बच्चाको टाउको राम्ररी नबन्नु, सल्फेटेज नामक रासायनिक पदार्थको कमी हुनु पनि हो ।
गर्भ अवधिलाई तीनवटा त्रैमासिकमा बाँडिएको हुन्छ । प्रत्येक त्रैमासिकमा गर्भवतीका लक्षण चिन्ह तथा त्यस अवधिमा उत्पन्न हुने समस्या फरक–फरक हुन सक्छन् । यस क्रममा बच्चा पाउने दिन नजिकिँदै आएपछि धेरैजसो गर्भवती महिलाहरुमा सुत्केरी व्यथा लागेका लक्षणहरु जस्तै– योनिद्वारबाट थोरै रगत मिश्रित बाक्लो सिँगानजस्तो योनिश्राव बग्ने, सानो सुतक भएको खण्डमा पिसाबजस्तै पानी बग्ने तथा ढाड वा पेटको अघिल्लो भागबाट दुख्न शुरु भई तल्लो पेट, जननेन्द्रीय वरिपरि र तिघ्राको भित्री भागतर्फ सर्ने खालको पेट दुख्ने आदि देखा पर्दछन् ।
गर्भावस्था लम्बिएअनुसार साल पनि बढी पाको हुने हुनाले नकारात्मक समस्याहरु देखा पर्छन् । गर्भवती महिलालाई उच्च रक्तचाप र मधुमेह रोग पनि छ भने यस्तो समस्या झनै निम्तिन्छ । गर्भावस्था लम्बिनाले आउन सक्ने समस्याहरु गर्भावस्था, सुत्केरी व्यथा तथा सुत्केरीपश्चात् गरी तीनवटै चरणमा हुन सक्छन् ।
गर्भावस्थामा बच्चा वरिपरिको पानी कम हुने, पानी खैरो वा हरियो लेदोजस्तो हुने, बच्चालाई पेट (पाठेघर) भित्र सकस हुने, पेटभित्रै बच्चाको मृत्यु हुने हुन्छ ।
सुत्केरी व्यथामा व्यथा राम्ररी अगाडि नबढ्ने, खैरो पानी सर्किने, पानीको कमीले सालनाल च्यापिन (थिचिन) सक्ने, महिना नाघेकामा आनुपातिकरुपमा बच्चा ठूलो हुने तथा काँध अड्किने कारण सुत्केरी व्यथाको दौरान महिलाको योनिद्वार वा जननेन्द्रीयमा चोट पुग्ने, बच्चा पाउन भ्याकुम वा फोरसेप नामक औजार हाल्नुपर्ने एवं सिजेरियन अपरेसनको सम्भावना बढ्ने हुन्छ ।
सुत्केरीपश्चात् खैरो पानी सर्किनाले नवजात शिशुको छाती पाक्ने, श्वासप्रश्वास फेल खाने, शरीरमा ग्लुकोजको मात्रा कमी हुने, रगत बाक्लो हुने हुन्छ । महिना पुगेकोमा भन्दा महिना नाघेकोमा नवजात शिशु रोगी वा मृत्यु हुने सम्भावना निकै गुणाले बढ्छ । गर्भवती महिला तथा सुत्केरी आमामा पनि त्यसै गरी समस्या बढ्छ ।
यसका साथै महिना नाघेकामा जन्मजात शारीरिक विकलांग तथा सुत्केरी व्यथा दौरान श्वासप्रश्वास कार्यमा खराबी आएर नवजात शिशुको मृत्यु हुने तथा सुत्केरी बेलामा चोट पुगेर तथा खैरो पानी सर्केर नवजात शिशुलाई जन्मिदै रोगी बनाइदिन्छ ।
त्यसैले पनि महिना नाघेकी गर्भवती महिलालाई यथाशीघ्र स्वास्थ्य संस्था लगी चाँडो सुत्केरी गराउने उपाय गर्नुपर्छ । यस्ता महिलामा सुत्केरी व्यथा लामो हुन सक्ने र बच्चाको काँध अड्किन सक्ने हुनाले थप सजगता अपनाउनुपर्छ । बच्चालाई सकस भएको चिह्न देखिनासाथ फोरसेप, भ्याकुमजस्ता औजारको वा सिजेरियन शल्यक्रियाको जरुरत पर्न सक्छ ।
गर्भ लम्बिन नदिन के गर्ने र?
महिना नाघेको अवस्थामा यति धेरै जटिलताहरु आउन सक्ने भएका कारण निश्चित समयमै बच्चा पाउन गर्भवती महिला तथा उनका परिवार एवं सम्बन्धित चिकित्सक (स्वास्थ्यकर्मी) ले सजगता अपनाउनुपर्दछ ।
नियमित गर्भ जाँचको क्रममा गर्भवती महिलाले महिनावारी रोकिएको सही सूचना दिनुपर्दछ । यस क्रममा स्वास्थ्यकर्मीले पनि महिनावारी रोकिएको मिति निश्चित गर्नका लागि अघिल्लो बच्चालाई स्तनपान गराइरहेको तथा महिनावारी रोकिनुपूर्वका तीन महिना (कम्तीमा) नियमित रुपमा महिनावारी भएको एवं परिवार नियोजनका कुनै पनि साधन अपनाएको छ वा छैन, सोधपुछ गर्नुपर्छ । वंशाणुगत कारण, पहिलो पटकको गर्भ, पहिलेको गर्भ अवधि, एकै ठाउँमा आराम गर्ने बानी, गर्भवती महिलाको ढल्कँदो उमेर, बच्चाको टाउकोको बनावटबारे हेक्का राख्नुपर्छ ।
महिनावारी रोकिएको मितिमा कुनै शंका लागेको खण्डमा यथाशक्य छिटो भिडियो एक्सरे (अल्ट्रासाउन्ड) गराउनुपर्छ । मिति निश्चितताको लागि महिनावारी रोकिएबाट जति छिटो अल्ट्रासाउन्ड गराउन सकियो त्यति विश्वसनीयता बढ्छ ।
यसरी महिना नाघेकी कतिपय गर्भवती महिलामा अस्पताल आउनुपूर्व अर्थात् सुत्केरी व्यथा शुरु हुनुपूर्व नै पेटमै बच्चाको मृत्यु भैसकेर आउने गरेकोले गर्भावस्थाको अन्त्यतिर पेटमा बच्चा राम्ररी चल्छ/चल्दैन, गर्भे शिशुको मुटुको काम गर्ने तरिका थाहा पाउने सीटीजी जाँच, अल्ट्रासाउन्डबाट बच्चाको वरिपरि यथेष्ट पानी छ/छैन, जाँच्नुपर्छ ।
नियमित गर्भ जाँचको क्रममा ३७ हप्ता पूरा भएपछि बच्चा आउने बाटो यथेष्ट छ÷छैन, जाँच्ने क्रममा पाठेघरको मुख र गर्भे शिशुबीचको झिल्ली चलाएर व्यथा अलि चाँडै शुरु गराउन सकिन्छ । महिना नाघ्न लागेको छनक मिल्नासाथ स्वास्थ्य संस्था लगी यथाशक्य चाँडो सुत्केरी गराउने उपाय गर्नुपर्दछ ।
(साधना मासिकको २७० औँ अंकबाट साभार)
https://sadhana.newsofnepal.com/
प्रतिक्रिया