बीउ, वनस्पतिमा रोग–प्रतिरोधक शक्ति

94
Shares

– डा. अरुणा उप्रेती (जनस्वास्थ्य विज्ञ) 

मेरो बिहान शुरु हुन्छ कागती–पानी, टुसा उमारेको मेथी, आलस, मुङ्रेलो र फर्सीको दानाबाट । त्यसपछि मरिच, कागती र थोरै चिनी राखी पकाएको चिया । यस्तो चियामा स्वादको लागि बिरेनून पनि राख्न सकिन्छ । अदुवा र दालचिनीको धूलो मिसाएमा अझ स्वादिष्ट हुन्छ । यस्तो चियाले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ भन्ने त अनुभव थियो, कोरोनाको महामारीका बेलामा यसको अझ बढी महत्व रहेछ भन्ने पनि बुझियो । कोरोना संक्रमणको यस अवधिमा रोगसँग लड्ने शक्ति बढाउने बीउ, बियाँहरु र यस्तै अन्य वनस्पतिहरूको धेरै खोजी हुन थालेको छ ।

स्थानीय जडीबुटी र मसलाहरूको प्रयोग गर्दा कोरोनाको संक्रमण हुँदै नहुनेचाहिँ होइन तर संक्रमण भइहाल्यो भने त्यसको जटिलता कम हुन सक्छ । कोरोनाबाट संक्रमितहरुमध्ये ८० प्रतिशतलाई कुनै लक्षण नै नदेखिन सक्छ भन्ने विभिन्न अध्ययनले देखाएको छ । संक्रमितमध्ये कसै–कसैलाई सामान्य रुघाखोकी, ज्वरो आदि हुन सक्छ । घरमा आराम गरेर पर्याप्त झोल पदार्थ खाइयो भने केही सामान्य औषधि प्रयोग गरेर संक्रमणबाट मुक्ति पाउन सकिन्छ । अहिले विश्वमा कोरोनाको उपचारको लागि विभिन्न औषधिहरूको अनुसन्धान भइरहेको छ । तर हाम्रा परम्परागत औषधिको बारेमा खास अनुसन्धान भएको छैन । नेपालमा पनि केही प्रहरीहरूले कोरोनाको संक्रमण भएपछि अदुवा र गुर्जोको प्रयोग गरेर, मानसिक रुपमा बलियो रहेर, योगासनलगायतका उपचार गरेर कोरोनाको संक्रमणबाट निको भए भन्ने समाचार केही दिनअघि गोरखापत्र दैनिकमा प्रकाशित भएको थियो ।

त्यसै गरी भारतस्थित लखनौको लोकबन्धु अस्पतालमा आयुर्वेदका विशेषज्ञ डा। अदिल रइस र उनको समूहले कोरोना संक्रमण भएका २५ जनालाई यस्तै खालको उपचार गरेको थियो । उनीहरुलाई जडीबुटीको रस बिहान–बेलुका ५० मिलिलिटर दिइएको थियो । उनीहरुलाई नियमित योग गर्न लगाएर अदुवा, गुर्जोको काँढा दिइएको थियो । साथै रोगसँग लड्ने शक्ति बढोस् भनेर संक्रमितलाई सहजै पच्ने खानेकुरा दिइएको थियो ।

कोरोना पोजेटिभ भएका ती व्यक्तिहरुलाई ७ दिनसम्म यस्तो उपचार गरेपछि जाँच गर्दा उनीहरूको शरीरमा कोरोना नरहेको पाइयो । उपचार सफल भयो तर यसका बारेमा अन्य थुप्रै अनुसन्धान हुन त बाँकी नै छ । जे होस्, कोरोनाको संक्रमणबाट जटिलता नहोस् भनेर यो प्रयोग गर्न सकिन्छ भन्ने जानकारी भयो (नवभारत टाइम, २०२०, ४ जुन) ।

आधुनिक औषधिहरूले कोरोना संक्रमणबाट हुने जटिलता र असमयमा हुने मृत्युबाट बचाउन सहयोग गर्ने पक्का हो । तर हाम्रा वरिपरि रहेका र बिर्सिएका बीउ एवं वनस्पतिले चाहिँ मानवशरीरको रोग–प्रतिरोधात्मक शक्ति बढाएर कोरोना मात्र होइन अन्य विभिन्न संक्रमणबाट बच्न केही सहयोग गर्न सक्छन् भन्ने ज्ञान आयुर्वेदले दिन्छ । उदाहरणको लागि क्षयरोगका कीटाणुले पनि रोग–प्रतिरोधात्मक क्षमता कम भएका बालबालिका, महिला, पुरुषलाई आक्रमण गर्छ र क्षयरोगी बनाउँछ । क्षयरोगको उपचार गर्दा औषधिको साथसाथै पोषणयुक्त खाना, सफा हावा, घाम आदिको पनि ठूलो महत्व हुन्छ । त्यसै गरी कोरोनाको संक्रमण भइहाले पनि उपरोक्त तथ्यलाई ध्यानमा राख्नै पर्छ ।

म आफैंलाई ३८ वर्षअघि विद्यार्थी अवस्थामा क्षयरोग लागेको थियो । त्यो बेलामा म तत्कालीन सोभियत संघमा पढ्थें । झन्डै एक वर्ष अस्पतालमै बसेर उपचार गर्नुपरेको थियो । औषधिको साथै अस्पतालमा नै दिनमा ४ चोटि भोजन दिइन्थ्यो । डाक्टर र नर्सले मलाई भन्ने गर्थे, ‘औषधिजत्तिकै तिमीले यहाँ दिएको खाना खान जरुरी छ । तिम्रो शरीरमा रोगसँग लड्ने शक्ति कम भएकोले नै तिमी बिरामी परेकी हौ ।’ अस्पतालबाट ठीक भएर निस्कँदा मेरो तौल ५ किलो बढेको थियो । त्यसपछि मैले आफ्नो स्वास्थ्य र भोजनमा बढी ध्यान दिन शुरु गरें ।

अहिले कोरोना संक्रमित भइन्छ कि भनेर तर्सनुभन्दा आफ्ना बालबालिका र घरपरिवारको विभिन्न रोगसँग लड्ने शक्ति कसरी बढाउने भनेर विचार गर्नुपर्छ ।

यो भन्दा पहिले मैले साधनामा ‘रगतको कमीबाट बच्ने’ खानाको बारेमा लेखेको थिएँ । त्यस्ता खानाले पनि हाम्रो रोगसँग लड्ने शक्ति बढाउँछन् । त्यसै गरी विभिन्न किसिमका अपहेलित तर सस्तो र सुलभ तरिकाले पाइने विभिन्न दाना, बीउ, मसला र वनस्पतिले पनि रोग–प्रतिरोधात्मक शक्ति बढाउँछन् । यस्ता दाना, बीउहरू प्रायः घरमा नै पाइन्छन् । उदाहरणको लागि बेसार र मरिचको प्रयोगको बारेमा पनि धेरै नै छलफल भइसकेको छ । विभिन्न रुघाखोकी लागेका व्यक्तिलाई मरिच र बेसार तातो पानीमा हालेर ख्वाउने पुरानो चलन हो । अहिले त धेरै घरमा यसको प्रयोग शुरु भएको छ ।

भिटामिन ‘सी’को प्रयोगले संक्रमणबाट बचाउँछ । भिटामिन ‘सी’मा रोग–प्रतिरोधात्मक शक्ति हुन्छ । भिटामिन ‘सी’को खोजी गर्दै औषधि पसलहरुमा पुग्नुभन्दा पहिले आफ्नै घरमा भिटामिन ‘सी’ भएका वस्तुहरू के छन् भनेर हेर्दा बेस हुन्छ । प्रायः सबै फलफूलमा धेरथोर भिटामिन ‘सी’ पाइन्छ । कागती, अमला, लप्सी भिटामिन ‘सी’का राम्रा स्रोत हुन् ।

गोलभेंडा, टिमुर, धनियाँ, बाबरी आदि मिसाई अचार बनाएर खाँदा भिटामिन ‘सी’ र स्वाद दुवै पाइन्छ । भिटामिन ‘सी’ उमाल्दाखेरि नष्ट हुन्छ, त्यसैले गोलभेंडाको अचार बनाउँदा धेरै नपकाएको बेस । कागती पनि उम्लिदै गरेको पानीमा हालेर पकाउने भन्दा आगोबाट पानी निकालिसकेपछि मात्र हाल्नुपर्छ ।

त्यसै गरी टुसा उमारेको केराउ, मटर, चना आदिमा पनि पर्याप्त भिटामिन ‘सी’ पाइन्छ । यिनलाई काँचै सलाद बनाएर खाँदा प्रोटिन, लौहतत्व र भिटामिन ‘सी’ पाइन्छ । यसले रोगसँग लड्ने शक्ति प्रदान गर्छ । त्यस्तै गाउँघरमा सजिलै पाइने आलस, फर्सीको बियाँ, सूर्यमुखी फूलको बियाँ पनि सूक्ष्म पौष्टिक तत्वका भण्डार हुन् । दिनदिनै अलि–अलि प्रयोग गर्दा यी पदार्थले शरीरमा रोग–प्रतिरोधात्मक शक्ति बढाउँछन् ।

१ सय ग्राम तिलमा १६६४ मि.ग्रा. क्याल्सियम पाइन्छ भने १ सय ग्राम आलसमा २७५ मि।ग्रा। क्याल्सियम पाइन्छ, त्यो पनि थोरै खर्चमा । यी दुवै वस्तुको प्रयोग अचार बनाउँदा गरिन्छ । छोप बनाएर पनि खाइन्छ । लड्डु पनि बनाउन सकिन्छ । त्यसै गरी बेवास्ता गरिएको, सस्तो र जताततै पाइने बदाममा पनि रोगसँग लड्ने तत्व हुन्छ । १ सय ग्राम बदाममा झन्डै २४ ग्राम प्रोटिन हुन्छ भने क्याल्सियम ५४ मि।ग्रा। हुन्छ । यसैले बदाम प्रोटिन र क्याल्सियमको भण्डार नै हो । तर धेरै सस्तो भएकाले होला, यसको बेवास्ता गरिएको पाइन्छ ।

सूर्यमुखीको बीउमा पनि प्रति १ सय ग्राममा २३ प्रतिशत प्रोटिन हुन्छ । यस्ता प्रोटिन र क्याल्सियमले भरिपूर्ण भएका दानाहरू अनेक तरिकाले प्रयोग गर्न सकिन्छ । बालबालिकाले खाने दाल, तरकारी, हलुवा आदिमा यी वस्तुको प्रयोग उत्तम हुन्छ । यिनलाई पिसेर, भुटेर पनि खानामा हाल्न सकिन्छ ।

फर्सीको तरकारी स्वस्थकर हुन्छ भन्ने सबैलाई थाहा छ, तर फर्सीको बीउमा पनि पोषक तत्व हुन्छ भन्ने प्रायलाई थाहा नहुन सक्छ । थाहा नभए पनि गाउँघरतिर फर्सीको दानालाई भुटेर, पिसेर, अचार बनाएर खाने चलनचाहिँ छ । शहरतिरचाहिँ यसलाई त्यसै फालिन्छ । फर्सीको बियाँलाई पनि सुकाएर वर्षभरि प्रयोग गर्न सकिन्छ भन्ने कुराचाहिँ बल्ल सिकिँदै छ ।

तोरीको दाना प्रायः तेल बनाउन प्रयोग गरिन्छ । यसलाई अचारमा प्रयोग गर्न पनि सकिन्छ । तोरीको दानाबाट बनाइएको लेदो खानासँग खाँदा स्वाद र स्वस्थता दुवै पाइन्छ । बेवास्ता गरिएका यी वनस्पति, दाना र बीउको प्रयोगले भोजनको पौष्टिकता बढ्छ । रोगसँग लड्ने शक्ति पाइने भएकोले यस्ता वस्तुको प्रयोग गर्नका लागि आफ्नो वरिपरि हेरौं र मनन गरौं ।

यस्ता वस्तुहरू प्रयोग गरेर कोरोनाको संक्रमण नहुने भन्नेचाहिँ होइन तर संक्रमण भइहालेमा यस्ता वस्तुको प्रयोगबाट शरीरमा सृजित रोग–प्रतिरोधात्मक शक्तिले बचाउँछ । साथै रुघाखोकी, मौसमी ज्वरो आदि भइहाले पनि जटिलता कम हुने सम्भावना हुन्छ । हरेक कोरोना संक्रमित तर कुनै लक्षण नभएकाहरूले यी सहजै पाइने वस्तु प्रयोग गरेकै बेस हुन्छ । यसले स्वास्थ्यमा दिगोपन आउँछ ।

(साधना मासिकको २७० औँ अंकबाट साभार)

https://sadhana.newsofnepal.com/