कोरोनासँगै डेंगुले पनि खतरनाक रुप लिँदै

0
Shares

लक्ष्मण अधिकारी

सन् २००४ मा नेपालमा डेंगु रोग भित्रिएको रिपोर्ट पहिलोपटक सार्वजनिक हुँदा यस क्षेत्रका विज्ञहरुले नै नपत्याएर हावा रिपोर्ट भनेका थिए । यतिसम्म कि यसबारे अनुसन्धान गरी रिपोर्ट सार्वजनिक गर्ने डा. बासुदेव पाण्डेलाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा. जिडी ठाकुर र डा. सरला मल्लले बोलाएर स्याम्पल देखाऊ भन्दै र्‍याखर्‍याख्ती पारेका थिए । नेपालमा डेंगु आएकै छैन भनेर सरकारी तवरबाट कडा प्रतिवाद गरिएको थियो ।

तर अहिले यो रोग नेपालमा हरेक वर्षको गर्मी याममा महामारीका रुपमा फैलिन थालेको छ । गतवर्ष सन् २०१९ मा महामारीका रुपमा फैलिँदै यो रोग मुलुकका करिब ७० जिल्लाका १६ हजार मानिसमा संक्रमण भएको प्रमाणित भएको थियो । सुनसरी, मोरङ, झापा, चितवन, कास्की र मकवानपुर जिल्लामा बढी फैलिएको यो रोगले सबैभन्दा बढी सुनसरी जिल्लालाई आक्रान्त पारी ३ हजार २६६ जनालाई बिरामी पारेको थियो । ‘यो रोगको संक्रमण भएका सबैमा लक्षण नदेखिने र धेरै संक्रमित बिरामी नभई निको हुने भएकाले कुल संक्रमितको संख्या यो भन्दा अझै धेरै हुन सक्ने’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डे बताउनुहुन्छ ।

गतवर्ष गर्मी याममा महामारीका रुपमा देखा परेको डेंगु रोग यस वर्ष पनि गर्मी बढेसँगै वृद्धि हुन थालेको छ, तर मुलुकको सम्पूर्ण ध्यान कोभिड–१९ तिर केन्द्रित भएकोले यो रोगको नियन्त्रण कार्य छायामा परेको हुँदा अझ व्यापक संक्रमण हुन सक्ने खतरा देखिएको छ ।
गतवर्षको साउन–भदौमा सरुवा रोग अस्पताल, टेकुमा डेंगुका मात्र दैनिक ५ सय बिरामी परीक्षण तथा उपचारका लागि आउँदा अस्पतालको पूर्वाधारले धान्न नसकेर ग्यारेजमा समेत बिरामी जाँच्नुपरेको थियो । ज्वरो क्लिनिक, काउन्टर, चिकित्सक तथा अन्य स्वास्थ्यकर्मी तथा सहयोगीहरुसमेत वृद्धि गर्दा पनि बिरामी धान्न हम्मे–हम्मे परेको थियो ।

यस वर्ष पनि डेंगु कोरोनासँगै महामारीका रुपमा देखा पर्ने स्पष्ट संकेत देखिइसकेको छ । निर्देशक डा. पाण्डे भन्नुहुन्छ, ‘यसपालि लामो समय लकडाउन भएकोले मानिसको धेरै आवतजावत नभएको र चिसो पनि अलि ढिलोसम्म रहेकाले त्यति धेरै देखिइनसकेको भए पनि अब प्रि–मनसुनसँगै गर्मी पनि बढ्दै गएकोले यसमा वृद्धि हुने संकेत देखिएकोले सतर्कता अपनाउन जरुरी छ ।’

डा. पाण्डेका अनुसार गत जनवरीयता २६ जिल्लामा यो रोग फैलिइसकेको र ८२ जनाभन्दा बढीमा डेंगु रोग प्रमाणित भइसकेको छ । हालसम्म सबैभन्दा बढी रुपन्देही जिल्लामा ३५ जनामा रोग देखिएको छ भने म्याग्दी, कास्की, काठमाडौं, मकवनापुर, गोरखा, तनहुँ, बागलुङ, ललितपुर, सुनसरी, पाल्पा, नवलपरासी (पूर्व), नवलपरासी (पश्चिम), मोरङ, कपिलवस्तु, तेह्रथुम, बाँके, डडेल्धुरा, दाङ, झापा, उदयपुर, नुवाकोट, कैलाली, धनकुटा, रामेछाप, धादिङ आदि जिल्लामा पनि रोग फैलिइसकेको छ ।

अहिले तराईका क्वारेन्टाइनमा विशेष गरी भारतका विभिन्न स्थानबाट आएका हजारौँ मानिस असुरक्षित किसिमले हूलमा बसिरहेका छन् । उनीहरुमा कोरोना मात्र होइन, मलेरिया र डेंगु संक्रमणको खतरा उच्च रहेको र कतिपयलाई रोग संक्रमण भइसकेको डा. पाण्डेले जानकारी दिनुभएको छ ।

नेपालमा डेंगु

सन् २००४ पहिलो बिरामी (विदेशी) भेटिएको, एकजना मात्र ।

सन् २००६ – तराई र भित्री मधेसका ४ जिल्लामा केही बिरामी भेटिएको ।

सन् २०१० – चितवन, रुपन्देही, नवलपरासी आदि जिल्लामा महामारीको रुपमा फैलिएको । देशभरिमा ९१७ बिरामी फेला परेको ।
६ जिल्ला प्रभावित भएको ।

सन् २०१६ – चितवन, झापा र रुपन्देही जिल्लामा महामारीका रुपमा फैलिएको र देशभरमा १,५२७ बिरामी भेटिएको । ३० जिल्ला प्रभावित ।

सन् २०१७ – चितवन, झापा र रुपन्देही जिल्लामा महामारीको रुपमा फैलिएको र देशभरमा २,१११ बिरामी भेटिएको ।

सन् २०१८ – कास्की, रुपन्देही र चितवन जिल्लामा महामारीको रुपमा फैलिएको र देशभरमा ८११ बिरामी भेटिएको । ४३ जिल्ला प्रभावित ।

सन् २०१९ – करिब १६ हजार संक्रमित भेटिएको र करिब ७० जिल्ला प्रभावित ।

डेंगु के हो ?

डेंगु (Dengue) एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एकप्रकारको कीटजन्य सरुवा रोग हो । यो रोग भाइरसबाट हुन्छ र यसलाई एकबाट अर्को मानिसमा लामखुट्टेले टोकेर सार्छ । मानिसबाट मानिसमा यो रोग सोझै सर्दैन तर डेंगु संक्रमित मानिस एक ठाउँबाट अर्को ठाउँमा जाँदा रोग सँगै गएको हुन्छ र त्यहाँ डेंगु सार्ने लामखुट्टेले टोक्यो भने अरुलाई पनि सार्छ । डेंगु भाइरस टाइप १, २, ३ र ४ गरी चार प्रकारको हुन्छ । एकपटक एक प्रकारको डेंगु भइसकेकोलाई अर्कोपटक त्यही प्रकारको डेंगु जीवनभर लाग्दैन, तर अर्को प्रकारको डेंगु संक्रमण भयो भनेचाहिँ पहिलोभन्दा बढी खतरनाक हुन्छ ।

कालो रंगको यो लामखुट्टेको खुट्टा र जीउमा सेता थोप्लाहरु हुन्छन् । यसले सामान्यतः जमेको सफा पानीमा अण्डा पार्ने गर्छ । एउटा लामखुट्टेले जीवनकालमा ५ सयदेखि १ हजार वटासम्म अण्डा पार्छ । संक्रमित लामखुट्टेको अण्डाबाट जन्मिएका सबै बच्चाहरुले डेंगुको विषाणु बोकेका हुन्छन् । यिनीहरुले स्वस्थ मानिसलाई टोकेमा रोग संक्रमण हुन्छ । पोथी जातको लामखुट्टेलाई फुल पार्नको लागि प्रशस्त मात्रामा प्रोटिनको आवश्यकता पर्ने भएकोले पोथी लामखुट्टेले मात्र मानिसको रगत चुस्ने गर्छ ।

यो लामखुट्टेले टोक्ने समय दिउँसो नै भए पनि मुख्यतः बिहान र साँझ अँध्यारो हुनुअघि टोक्छ । डेंगु संक्रमण गर्ने लामखुट्टे मानिसको बसोवास भएको क्षेत्रमा घरभित्र, वाहिर वृद्धि हुन्छ । प्रयोग नभएका भाँडामा जमेको पानीमा फुल पार्छ । हुर्केको लामखुट्टे अँध्यारो कुना, दराजको चेप, खाटमुनि, पर्दा, ह्याङ्गरको पछाडि बसेको हुन्छ ।

 

डेंगुका लक्षण

डेंगु संक्रमित लामखुट्टेले टोकेको केही दिनपछि विभिन्न लक्षण देखिन सक्छ, कसैलाई नदेखिन पनि सक्छ । यो रोग संक्रमण भएपछि देखिने मुख्य लक्षणहरुमाः उच्च ज्वरो (१०२ देखि १०३ फरेनहाइटसम्म) आउने, टाउको दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, आँखाको पछाडि दुख्ने, मांसपेसी तथा जोर्नीहरु दुख्ने हुन्छ । सामान्यतया ज्वरो आएको ३ देखि ५ दिनपछि रातो–रातो बिमिराहरु देखा पर्ने हुन्छ ।
रोगको संक्रमण कडा भएमा छालामुनि रक्तश्राव हुने गर्दछ र धेरै रक्तश्राव (हेमोरेजिक फिवर) भएमा बिरामी बेहोस हुन सक्छ । केही बिरामीमा नाक, गिजाबाट रगत बग्ने पनि हुन्छ । डेंगु भएको यकिन गर्न कीटको प्रयोग गरिन्छ । गतवर्ष धरानलगायतका क्षेत्रमा डेंगु परीक्षणको लागि आवश्यक कीटको अभाव भएको कुरा बारम्बार प्रकाशमा आएको थियो ।

डेंगुको उपचार

डेंगु ज्वरोको लागि भ्याक्सिनको विकासमा लामो समयदेखि प्रयास भइरहे पनि अहिलेसम्म प्रभावकारी भ्याक्सिनको विकास भइसकेको छैन । डेंगुको निश्चित उपचार पनि छैन । रोगको उपचारभन्दा पनि लक्षणहरुलाई कम गर्ने प्रयास गरिन्छ । ज्वरो धेरै आउँदा ज्वरो घटाउने र दुखाइ कम गर्ने औषधि दिने गरिन्छ । यो रोग बेलैमा पत्ता लगाएर उपचार व्यवस्थापन गर्न सकेमा डेंगुबाट हुने मृत्युदरलाई २ प्रतिशतभन्दा कममा झार्न सकिन्छ ।

बिरामी अवस्थामा धेरै पीडा र असहजता हुन्छ । संक्रमण भएकामध्ये केही मानिस गम्भीर बिरामी पर्छन् । रगतमा पानीको मात्रा कम भई रक्तचाप न्यून हुन जान्छ र यो बढ्दै गएमा शरीरमा रगतको अभाव भई बिरामीको मृत्यु हुन सक्छ । शुरुवाती लक्षण देखिएकै बेला उपचार गर्न पाएमा सजिलै निको पार्न सकिन्छ ।

यो रोगको लक्षण देखिएमा चिकित्सकको सल्लाह लिनुपर्छ, आराम गर्नुपर्छ र झोल पदार्थ धेरै खानुपर्छ । ज्वरो घटाउन र जोर्नीहरुको दुखाइ कम गर्नका लागि पारा सिटामोल खान सकिन्छ । तर एस्पिरिन वा ब्रुफिन (Aaspirin or ibuprofen) खानुहुँदैन, यसले रक्तश्राव बढाउन सक्छ । डेंगु संक्रमण भएको पहिलो लक्षण देखिएको ४ दिनदेखि १२ दिनसम्ममा एडिस लामखुट्टेले टोक्यो भने रोग लामखुट्टेमा सर्छ र अरुलाई सार्न सक्छ । त्यसकारण संक्रमित मानिस यस अवधिमा उपचार गरिएको वा औषधियुक्त झुलभित्र बस्ने, सुत्ने गर्नुपर्छ ।

डेंगुबाट बच्ने उपाय

खोप तथा उपचार नभएको कारणले पनि डेंगुबाट बच्ने उपाय अपनाउनु सबैभन्दा उत्तम हो । डेंगुको जोखिम कम गर्नका लागि उक्त लामखुट्टेले फुल पार्ने ठाउँ नष्ट गरेर यसको वृद्धि रोक्न सकिन्छ । यो नै प्रभावकारी रोकथामको उपाय हो । लामखुट्टेले फुल उत्पादन गर्ने मुख्य स्थानहरु घरवरिपरिका ड्रम, बाल्टिन, गमला, टायर, जस्ताको छाना, फालिएका भाँडा, प्लास्टिक वा सिसाका बोतल, जग, पाइपका टुक्रामा जमेको पानी आदि हुन् । यस्तै गरी रुख, बाँस आदिमा परेको प्वाल, ठूला पातहरु, नरिवलको खपटामा जमेको पानी, सङ्लो पानी जमेका साना पोखरीहरु वा पानी जमेको ठाउँ, कृत्रिम वाटर फाउन्टेन आदिमा फुल पार्ने भएकाले त्यस्ता ठाउँहरु नष्ट गर्नु नै डेंगुको संक्रमणबाट बच्ने प्रमुख उपाय हो ।

झ्यालढोकामा जाली लगाउने, पानी ट्यांकीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी ढाकेर राख्ने गर्नुपर्छ । साथै कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक–दुई चम्चा मट्टीतेल हालिदिने र जम्मा भएको पानी सफा गर्ने गर्नुपर्छ । फुलदानीमा रहेको पानी कम्तीमा हप्तामा दुईपटक फेर्नुपर्छ । यो जातको लामखुट्टेले प्रायः दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा पनि शरीर पूरै ढाक्ने लुगा लगाउने र दिउँसो सुत्दा अनिवार्य झुल प्रयोग गनुपर्छ । साथै लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने धुप बाल्ने, मलहमा लगाउने, कपडामा औषधि राख्ने, लामखुट्टे मार्ने औषधि छर्किने गर्न सकिन्छ । गतवर्ष सरकारले डेंगुको प्रकोप बढेपछि विभिन्न जिल्लामा लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्नका लागि ‘खोज तथा नष्ट गर’ कार्यक्रम अभियानकै रुपमा सञ्चालन गरेको थियो ।

डेंगु किन बढ्यो ?

डेंगुको भाइरस सर्वप्रथम सन् १९४४ मा पत्ता लागेको हो र सन् १९५० मा फिलिपिन्स र थाइल्यान्डमा महामारीका रुपमा फैलिएको थियो । हाल १२५ भन्दा बढी देशमा फैलिएको छ । हरेक वर्ष विश्वका १० करोडदेखि ४० करोड मानिसलाई डेंगुको संक्रमण हुने अनुमान छ । त्यसमा पनि रोगको ७० प्रतिशत भार एसियामा रहेको छ ।

डेंगु गतवर्ष नेपाललगायत विश्वमा नै सबैभन्दा बढी देखिएको थियो । अन्य एसियाली मुलुकहरु बंगलादेश, मलेसिया, फिलिपिन्स र भियतनाममा यो रोग महामारीका रुपमा देखा परेको थियो । बितेको ५० वर्षमा यो रोगको संक्रमण ३० गुणाले वृद्धि भएको छ । नेपालमै पनि डेंगु प्रमुख जनस्वास्थ्य समस्याको रुपमा देखा परिसकेको छ । यो रोग किन यसरी तीव्र गतिमा वृद्धि भयो त ?

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डे यसको मूल कारण ग्लोबलाइजेसनका कारण मानिसहरु एक ठाउँबाट अर्को ठाउँमा सहजै आवतजावत गर्नु र विश्वको तापक्रम वृद्धि हुनुलाई मान्नुहुन्छ । साथै यो रोग सार्ने लामखुट्टे बढी शहरमा नै बस्ने भएकाले शहरीकरण पनि डेंगु वृद्धि हुनुको प्रमुख कारण रहेको डा. पाण्डेको भनाइ छ ।

डेंगु गतवर्षजस्तै यस वर्ष पनि महामारीकै रुपमा फैलिएला त ? डा. पाण्डे भन्नुहुन्छ, ‘यो वर्षको सिजन त शुरु भएको छ, तर यस रोगको प्रकोपको प्रकृति हेर्दा दुई–तीन वर्षमा एकपटक व्यापकरुपमा महामारीको रुपमा फैलिने र अर्को वर्ष अलि कम हुने गरेको छ । साथै अघिल्लो वर्ष देखा परेको ठाउँमा अर्को वर्ष अलि कम देखिने र अर्को नयाँ ठाउँमा बढी देखिने प्रवृत्ति रहेको देखिन्छ । गतवर्ष टाइप २ डेंगु देखिएको थियो । यो टाइपको डेंगु यस वर्ष ती ठाउँहरुमा कम हुन सक्छ । किनभने शरीरमा विकास भएको एन्टिबडीले केही समय काम गर्दो रहेछ । तर यस वर्ष नयाँ ठाउँहरुमा त्यही प्रकारको डेंगु देखिन सक्छ भने अरु ठाउँमा अर्को टाइपको डेंगु फैलिने सम्भावनाचाहिँ उत्तिकै छ ।

गर्मीमा कीटजन्य रोगको खतरा

गर्मी बढेसँगै डेंगु, मलेरिया (औलो) चिकनगुनिया, जापानिज इन्सेफ्लाइटिस, स्क्रब टाइपसजस्ता कीटजन्य सरुवा रोग देखा पर्न थाल्छन् । स्क्रब टाइपसबाहेक यी सबै लामखुट्टेबाट सर्ने रोग हुन् ।

नेपालमा हरेक वर्ष देखिने कीटजन्य रोगमा औलो पनि हो । यो रोग प्लाज्मोडियम परजीवीको कारणले लाग्छ । यो परजीवी बोकेको एनोफिलिज जातको पोथी लामखुट्टेले स्वस्थ मानिसलाई टोकेपछि सर्छ । स्वास्थ्य सेवा विभागका अनुसार नेपालमा सन् २०१९ मा १०६५ जना औलोका बिरामी देखा परेका थिए ।

औलो लागेमा ज्वरो आउने, मांसपेशीहरु दुख्ने, जाडो लागेर कम्पन हुने, वाकवाकी लाग्ने, थकान महसुस हुने लगायतका लक्षण देखिन्छन् ।

यस्तै गरी चिकनगुनिया पनि काठमाडौंलगायत नेपालका विभिन्न भूभागमा देखा पर्न थालेको छ । चिकनगुनिया भाइरसबाट संक्रमित लामखुट्टेले टोकेपछि मानिसमा सर्छ । हरेक वर्ष शुक्रराज ट्रपिकल अस्पतालमा चिकनगुनियाका बिरामीहरु उपचारका लागि आउने गरेका छन् । चिकनगुनिया भाइरस संक्रमित भएपछि मानिसको आँखा, मुटु र स्नायु प्रणालीमा जटिलता उत्पन्न गर्न सक्छ ।

यी खतरनाक रोगबाट बच्नका लागि घरवरिपरिका लामखुट्टेका वासस्थान नष्ट गर्नुपर्छ । लामखुट्टेको टोकाइबाट बच्न झुल प्रयोग गर्ने तथा अन्य औषधिहरुको प्रयोग गर्न सकिन्छ ।

हाल लामखुट्टे भगाउनका लागि व्यक्तिगत तवरमा गुडनाइट र लामखुट्टे मार्ने हिट धेरै प्रचलनमा रहेको देखिन्छ ।

गुडनाइट इन्डोर र आउटडोर गरी दुई प्रकारको छ । इन्डोर सिस्टममा पनि विभिन्न प्रकारका छन् । केटाकेटी र परिवारका लागि सुरक्षित प्रकारका पनि छन् । विभिन्न समयावधिमा आफैँ अन–अफ हुने अटोमेटिक, इन्टेलिजेन्ट हिटर सिस्टमका छन् । यसको बाफ तथा गन्धले सबै प्रकारका रोग सार्ने लामखुट्टे भाग्ने उत्पादकको दाबी छ ।

 

यस्तै गरी आउटडोरमा गुडनाइट फेब्रिक रोल अन उपलब्ध छ । यो खासगरी बाहिर बस्नुपर्ने, चौरमा खेल्ने केटाकेटी, अफिसबाहिर– बाटो, चेकपोस्ट, चोकहरु, ढोकामा बस्ने गार्डहरु, खेतबारी, बगैँचामा काम गर्नेहरुका लागि निकै उपयोगी मानिएको छ । यो बोतलमा पाइन्छ र लुगामा चार थोपा जति लगायो भने यसले डेंगु, मलेरिया, इन्सेफ्लाइटिस, चिकनगुनिया फैलाउने लगायतका सबै प्रकारका लामखेट्टेलाई ८ घण्टासम्म भगाउने र यो शत्प्रतिशत प्राकृतिक तत्व (Natural Active Ingredients)ले बनेको उत्पादकको भनाइ छ ।

 

लामखुट्टे मार्नका लागि काला हिट नामक तरल पदार्थ स्पे्र गर्न मिल्ने बोतलमा बजारमा उपलब्ध छ । यसले साङ्ला, झिँगा पनि मार्छ र यो दराज, सोफा, ह्याङ्गरपछाडि, खाटमुनि लुकेका लामाखुट्टेहरु मार्न प्रयोग गरिन्छ ।

 

शरीरको नाङ्गो भागमा लगाउने मलहम पनि उपलब्ध छ तर यस्ता मलहमले कतिपयलाई छालाको एलर्जी हुने र च्यापच्याप भएको मन नपर्ने पनि हुन्छ । यस्तो अवस्थामा आउटडोरका लागि बाहिर जाँदा लगाइने कपडामा चार थोपा फेब्रिक रोल अन लगाउनु उपयोगी हुन सक्छ ।

(साधना मासिकको २७० औँ अंकबाट साभार)

https://sadhana.newsofnepal.com/

(यो लेखका तथ्य तथा तथ्यांकहरु स्वास्थ्य सेवा विभाग र विश्व स्वास्थ्य संघका स्रोतसामग्रीहरुमा समेत आधारित छन् ।)

(साधना मासिकको २७० औँ अंकबाट साभार)

https://sadhana.newsofnepal.com/