पूर्वराजाले जन्मदिन नमनाउने


काठमाडौं, (नेस)

पूर्वराजा ज्ञानेन्द्र शाहले यो वर्षको जन्मदिन नमनाउने हुनुभएको छ । देशभर कोभिड–१९ संक्रमण बढिरहेका अवस्थामा आफ्नो जन्मदिन नमनाउने हुनुभएको हो । तर, घर–परिवारमा सामान्य कार्यक्रम गरी मनाउने तयारी गर्नुभएको छ ।

स्रोतका अनुसार निर्मल निवासभित्र रहेका आफ्ना परिवार र केही उच्च तहका कर्मचारीले भने उहाँलार्ई दाम चढाउने कार्यक्रम रहेको छ । यही २३ गते मंगलबार उहाँ ७५ वर्ष पूरा हुनुहुनेछ ।

मुलुक कोरोना संक्रमणबाट आक्रान्त परेको अवस्थामा जनता भेला गरेर जन्मदिन मनाउनु उचित नभएकाले ज्ञानेन्द्रले यो वर्षको जन्मदिन मनाउने कार्यक्रम रद्ध गर्नुभएको हो ।

सरकारले १५ जनभन्दा बढी भेला हुन नहुने र भेला हुँदा करिब दुई मिटरको भौतिक दूरी कायम गर्नुपर्ने उल्लेख गरेको छ । यसअघि ज्ञानेन्द्रले निर्मल निवासमा जन्मदिन मनाउँदा सयौं जनताको भीड लाग्ने गरेको थियो ।